नेपाली व्यवसायी शाहमाथि मलेसियामा ३ अर्ब ३७ करोड अवैध कारोबारमा अनुसन्धान

मलेसियाको अध्यागमन विभागबाट पक्राउ परेका महेन्द्रजंग शाहमाथि आतंकवाददेखि मानवतस्करीसम्मको आरोप छ ।

वैशाख ७, २०८३

होम कार्की

Nepali businessman Shah is being investigated in Malaysia for illegal transactions worth 3.37 billion.

What you should know

काठमाडौँ — मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए ।

महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको गिरोहले पछिल्लो सात वर्षमा १० करोड रिंगिट (करिब ३ अर्ब ३७ करोड रुपैयाँ) भन्दा बढी अवैध कारोबार गरेको पाइएको छ । ‘करिब ६ महिना गुप्तचर जानकारी संकलनपछि यो अपरेसन गरिएको हो,’ उनले पत्रकार सम्मेलनमा भनेका थिए,‘यो गिरोहले विदेशी कामदारलाई अवैध रूपमा मलेसिया ल्याउँथ्यो । त्यसपछि नक्कली कागजात बनाइदिन्थ्यो ।’

राजधानी क्वालाम्पुरस्थित जलान गलवाऐबाट कारमा भाग्न खोज्दा ४३ वर्षीय शाह पक्राउ परेका थिए । पक्राउ परेका अन्य व्यक्तिहरू भारतीय, बंगलादेशी, मलेसियाली र एक भियतनामी छन् । उनीहरूको साथबाट नेपालीसहित १११ जनाको राहदानी, ल्यापटप, मोबाइल फोन र नक्कली भिसाको स्टिकर बरामद गरिएको थियो ।

विदेशी नागरिकलाई मलेसिया ल्याएर नक्कली भिसा बनाइदिए बापत यो समूहले प्रत्येक व्यक्तिबाट ५ देखि ६ हजार रिंगिटसम्म शुल्क लिने गरेको अनुसन्धानमा खुलेको छ ।

दुई दशकदेखि मलेसियामा बस्दै आएका कालिकोटका ४३ वर्षीय शाह विवादित व्यवसायी हुन् । उनीमाथि प्रहरी र डनहरूसँगको सम्बन्धलाई प्रयोग गरी नेपाली श्रमिकदेखि व्यवसायीसम्मलाई डर–त्रासमा राख्दै आएको आरोप छ ।

शाहलाई मलेसियाले १० वर्ष पहिले (२ सेप्टेम्बर २०१६ मा) इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसआईएस) लगायत आतंकवादी समूहहरूको गतिविधिसँग सम्बन्ध देखिएको भन्दै देश निकाला (डिपोर्ट) गरेको थियो । ‘उनले होटलसहित मनोरञ्जन व्यवसाय सञ्चालन गर्थे । आतंकवादीहरूको यात्रा सहज बनाउन नक्कली कागजात बनाउने कार्यमा उनी संलग्न रहेको हामीलाई विश्वास छ,’ मलेसियाका तत्कालीन प्रहरी महानिरीक्षक खालिद अबु बकरले त्यसबखत पक्राउ गरेपछि जारी गरेको विज्ञप्तिमा भनिएको थियो ।

पक्राउ गरेर १४ दिनको अनुसन्धानपछि उनलाई देश निकाला गर्दै नेपाल पठाइएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको थियो । तर, प्रमाण नभएको भन्दै प्रशासन कार्यालयले उनलाई एक सातामै ६ हजार रुपैयाँ धरौटीमा छाडेको थियो । शाहले आतंकवादी समूहसँग आफ्नो सम्बन्ध नभएको बताएका थिए ।

शाहबारे सेप्टेम्बर २०२४ मा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) सिंगापुरको नेसनल सेन्ट्रल ब्युरोले नेपाल प्रहरीसँग सूचना मागेको थियो । उनीमाथि आतंकवादी कार्यमा वित्तीय लगानी गरेको आशंकामा निगरानी गरिएको बताइएको थियो ।

सन् २०१६ मा शाह पक्राउ पर्नु अघिदेखि नै उनीविरुद्ध नेपाली श्रमिकले दूतावासमा उजुरी दिन थालिसकेका थिए । नक्कली भिसाका कारण मलेसियामा पक्राउ परेका नेपालीले उनीविरुद्ध उजुरी दिएका थिए । त्यसबखत ३० भन्दा बढी उजुरीमा प्रतिव्यक्ति ११ हजार रिंगिट (करिब ४ लाख रुपैयाँ) लिएर दुई वर्षको नक्कली ‘प्रोफेसनल भिसा’ उपलब्ध गराएको उजुरीमा उल्लेख थियो । पीडितको उजुरी परेपछि नेपाली दूतावासले मलेसियाली अधिकारीहरूलाई पत्राचार गरी कारबाही गर्न अनुरोध गरेका थिए ।

शाह गैरआवासीय नेपाली संघ, मलेसियाका पूर्वअध्यक्षसमेत हुन् । वैदेशिक रोजगार व्यवसायी र श्रमिकलाई ठगी गरेको भन्दै कार्यकाल एक वर्ष बाँकी छँदै उनलाई पदबाट हटाइएको थियो ।

डिपोर्टपछि फेरि मलेसिया

मलेसियाबाट देश निकाला गरिएका शाह ‘प्रोफेसनल भिसा (डीपी १०)’ प्रयोग गरी पुनः प्रवेश गरेका थिए । उक्त भिसा सामान्यतया उच्च दक्षता भएका वा व्यवस्थापन तहका व्यक्तिलाई दिइन्छ । ‘मलेसियाको कानुन अनुसार आतंकवादी गतिविधिमा संलग्न भएको शंकास्पद व्यक्तिलाई स्थायी रूपमा प्रवेश निषेध हुनुपर्ने हो । तर, उनी कसरी फेरि देश भित्रन सफल भए भन्ने स्पष्ट छैन,’ मलेसियाको एक अध्यागमन स्रोतलाई उदृत गर्दै त्यहाँको सञ्चारमाध्यम मलेसियाकिनीले लेखेको छ ।

शाहले मलेसियाकिनीसँग भनेका थिए,‘म साँच्चिकै आतंकवादी गतिविधिमा लागेको भए मलेसियाको कडा कानुन अन्तर्गत मुद्दा चलाइन्थ्यो ।’

मलेसियाको कम्पनी प्राधिकरण (सीसी) को अभिलेख अनुसार उनी मे २०२४ देखि स्टेलर डाइमण्ड एसडीएन बीएचडीका निर्देशक छन् । उनको यो कम्पनीमा ४० प्रतिशत सेयर स्वामित्व छ । कम्पनीको सेयरको बाँकी हिस्सा एक जना स्थानीय नागरिकको नाममा छ । उक्त कम्पनीले सरसफाइ सेवा प्रदान गर्छ ।

उनी भियतनामी नागरिक गुयेन थी न्गानसँगै बस्दै आएका छन् । ती महिला पनि एचसीसी क्लिनिङ सर्भिस कम्पनीकी निर्देशक हुन् । यो अवैध कारोबारमा संलग्न रहेको आशंकामा उनी पनि अनुसन्धानको दायरामा तानिएकी छन् ।

म्यानपावरलाई ‘डिमाण्ड’ बेच्थे

मलेसियामा रोजगारदाताले विदेशबाट कामदार ल्याउन श्रमिकको मागपत्र (डिमाण्ड) बनाउनुपर्छ । शाहको पहुँच त्यहाँका रोजगारदाता कम्पनीसँग भएकाले ती कम्पनीहरू शाह मार्फत श्रमिक ल्याउन तयार हुन्थे । त्यसैले शाह आफैं रोजगारदाता ल्याउने प्रक्रियामा संलग्न नभई रोजगारदातासँग ‘डिमाण्ड’ किनेर म्यानपावर कम्पनीलाई बेच्ने गर्दथे । पछिल्लो समय एक जना श्रमिकको कोटा बराबर कम्तीमा ३ हजार रिंगेटमा कारोबार भइरहेको छ ।

शाह दुई वर्षअघि मलेसियामै भएको एक जना नेपालीको मृत्युको घटनासँग पनि जोडिएका छन् । २४ चैत २०७९ मा मलेसियाको निलाईस्थित स्टार डोमेन रिसर्चस् कम्पनीको होस्टेलमा मार्भलस इम्प्लोईमेन्टका सञ्चालक ४६ वर्षीय रेन्जी राई मृत अवस्थामा भेटिएका थिए । उनले ‘आत्महत्या’ गरेको बताइए पनि परिवारले स्वीकारेका छैनन् । राईकी श्रीमती इन्द्रसुबाले शंकास्पद मृत्यु भन्दै शंकरप्रसाद आचार्य, महेन्द्रजंग शाह र स्वन लीमाथि छानबिन गर्न प्रधानमन्त्री कार्यालयमार्फत मलेसियाका सरकारी निकायमा उजुरी पठाइकी थिइन् । ‘महेन्द्रजंग शाहबाट दुख नपाउने व्यवसायी निकै कम छन् । धेरैको पैसा फिर्ता गरेका छैनन्,’ एक नेपाली व्यवसायीले भने,‘उनको व्यवहार थाहा पाउने सबै जना उनीबाट टाढै बस्न थालेका छन् ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully