वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा बुटवल उपमहानगरपालिकाले यो उत्सव मनाउँदै आएको छ ।
बुटवल — बुटवलको जितगढी किल्लामा जितगढी विजय उत्सव मनाइएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार उत्सवको उद्घाटन गरेका हुन् ।
वि.सं. १८७२ वैशाख ७ गते आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको ऐतिहासिक दिनको सम्झनामा बुटवल उपमहानगरपालिकाले यो उत्सव मनाउँदै आएको छ ।
युद्धकला, साहस र रणनीतिक कौशलका आधारमा नेपाली सेनाले विजय हासिल गरेको उक्त घटनाले नेपाललाई विश्वमा ‘वीर गोर्खाली’का रूपमा चिनाएको इतिहासमा उल्लेख छ । उत्सवमार्फत ऐतिहासिक जितगढी किल्लाको संरक्षण, प्रवर्द्धन र वीरताको इतिहासलाई जनस्तरसम्म पुर्याउने लक्ष्य राखिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
बुटवलको तिनाउ नदी किनारस्थित जितगढी क्षेत्रमा भएको युद्धमा नेपाली सेनाको नेतृत्व कर्णेल उजिरसिंह थापाले गरेका थिए । अंग्रेज फौजको नेतृत्व जनरल सुलेभान उडले गरेका थिए । उक्त युद्धमा नेपाली सेनाका तीन गण सहभागी थिए । इतिहासविद्का अनुसार युद्धमा तीन सयभन्दा बढी अंग्रेज सैनिक मारिएका थिए ।
युद्धका क्रममा लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, नकुल बानियाँ र जुठे बस्नेतले वीरगति प्राप्त गरेका थिए ।
इतिहासअनुसार कर्णेल उजिरसिंह थापाले युद्धअघि विजय प्राप्त भए भगवती मन्दिर निर्माण गर्ने भाकल गरेका थिए । युद्धमा विजयपछि पाल्पामा उक्त मन्दिर निर्माण गरिएको र अहिले पनि हरेक वर्ष भगवती जात्रा निकाल्ने परम्परा कायम रहेको छ ।
चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको यो किल्ला सेनकालीन समयमा १६ औँ शताब्दीमा निर्माण भएको मानिन्छ । अंग्रेजसँगको युद्धमा विजय हासिल गरेपछि यसको नाम ‘जितगढी’ रहन गएको स्थानीय जानकार बताउँछन् । जितगढीको संरक्षणका लागि लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा बढी रकम खर्च गरेको छ ।
त्यस्तै बुटवल उपमहानगरपालिकाले पनि हरेक वर्ष जितगढी उत्सव आयोजना गर्ने र विभिन्न संरक्षणका कामहरू गर्दै आएको छ । सोमबारको उत्सवमा बुटवलका विभिन्न समुदायले झाँकी प्रस्तुत गर्नुका साथै नेपाली सेनाले युद्धकला प्रस्तुत गरेको थियो ।
