सञ्चारमन्त्री तिमिल्सिनाले सबै मन्त्रीलाई आइफोन वितरणको दाबी गलत भएको र सरकारप्रति अविश्वास फैलाउने नियतले फैलाइएको बताएका छन् ।
What you should know
काठमाडौँ — केही दिनयता सामाजिक सञ्जालमा ‘सरकारले सबै मन्त्रीलाई नयाँ मोबाइल फोन दिने तयारी गरिरहेको’ भन्ने दाबी व्यापक रूपमा फैलिएको छ । तर, सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले यो दाबी पूर्ण रूपमा झुटो र बनावटी भएको बताएका छन् । आइतबार नुवाकोटको लिखु गाउँपालिका- ६ छहरे बजारमा स्थानीयसँगको भेटघाटमा उनले सरकारले मन्त्रीहरूलाई नयाँ मोबाइल वितरण गर्ने कुनै तयारी नगरेको बताए ।
वैशाख ४ मा रातोपाटी डटकममा प्रकाशित समाचारमा प्रधानमन्त्री वालेन्द्र शाहले सबै मन्त्रीका लागि गोप्य नम्बर र छुट्टै मोबाइल (आइफोनको पछिल्लो संस्करण) व्यवस्था गरिदिएको दाबी गरिएको छ । उक्त फोन प्रधानमन्त्री र मन्त्रीबीच मात्रै प्रयोग हुने, सार्वजनिक रूपमा नचल्ने र गोप्य सम्पर्कका लागि राखिएको भनिएको छ । ‘यस्तो नम्बर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनीहरूबीच सम्पर्कका लागि मात्र प्रयोग हुन्छ, जुन नम्बरबारे परिवार, आफन्तलगायत कसैलाई पनि जानकारी हुँदैन,’ समाचारमा भनिएको छ, 'डिजिटल सूचना प्रविधि र गोपनीयतामा हेक्का राख्न खोज्ने प्रधानमन्त्री शाहले काठमाडौँ महानगरको प्रमुख रहँदा पनि यस्तो नियम बसाउन शुरु गरेका थिए ।'
त्यसयता समाजिक सञ्जालभर यस विषयमा सरकारको आलोचना भइरहेको छ । जनताको करबाट उठेको रकम आइफोन खरिदमा दुरुपयोग गर्न नमिल्ने आवाज उठेका छन् । कतिले त सबै मन्त्रीलाई जनही एउटा आइफोन खरिद गर्दा २७ लाख रुपैयाँ खर्च भएको विवरण निकालिसकेका छन् । सञ्चार मन्त्री तिमिल्सिनाले भने यी दाबी भ्रामक भएको र सरकारप्रति अनावश्यक अविश्वास फैलाउने उद्देश्यले फैलाइएको हुनसक्ने बताए ।
‘बालेन सरकारले हरेक मन्त्रीलाई आइफोन दियो रे भन्ने भ्रमपूर्ण कथा जनतालाई दिग्भ्रमित गर्न फैलाइएका छन्,’ मन्त्री तिमिल्सिनाले भने, ‘आज कुनै पनि त्यस्तो मन्त्री छैन, जसलाई सरकारले आईफोन किन्दिनुपरोस्, सबै सक्षम व्यक्तिहरू हुनुहुन्छ । हामीले मन्त्रालयमा कुनै पनि लाभका लागि होइन, सेवाको लागि जिम्मेवारी लिएको हो ।’
