अध्यक्ष गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले उच्च अदालत जनकपुर, राजविराज इजलासमा पेस गरेको प्रमाण र बयानविपरित जग्गा फुकुवा गराएका छन् भने वडाध्यक्ष लीला यादवले झुठो विवरण उल्लेख गरी घरबाटो सिफारिस गरेर प्लटिङ गरिएको अधिकांश जग्गा आफ्ना श्रीमान् पिताम्बर यादवको नाममा पास गराएकी छन् ।
What you should know
राजविराज — सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादव र वडाध्यक्ष लिला यादवकै मिलेमतोमा झण्डै ५० वर्षअघि मुआब्जा तिरेर रुपनी बजार बसाइएको सार्वजनिक जग्गा किनबेच भएको पाइएको छ ।
तत्कालीन रायपुर गाउँ पञ्चायतले ७ असोज २०३३ मा जग्गाधनी काठमाडौंका स्वर्गीय अगम शम्शेर थापालाई मुआब्जा दिएको थियो भने ३ हजार मुआब्जा पाएका स्वर्गीय थापाले पनि रुपनी बजार स्थापनाका लागि सघाएका थिए । तर, रोक्का राखिएको १ विघा साढे ४ धुर जग्गा किनबेच गर्न गाउँपालिका अध्यक्ष यादवले उच्च अदालत जनकपुर, राजविराज इजलासमा पेस गरेको प्रमाण र बयानविपरित जग्गा फुकुवा गराएका छन् भने वडाध्यक्ष यादवले झुठो विवरण उल्लेख गरी घरबाटो सिफारिस गर्दा प्लटिङ गरिएको अधिकांश जग्गा आफ्ना श्रीमान् पिताम्बर यादवको नाममा पास गराएकी छन् ।
तत्कालीन रायपुर गाउँ पञ्चायतले नै उक्त जग्गा प्लटिङ गरेर बजार व्यवस्थापनका लागि गाउँ सभाबाट स्वीकृत भएको विनियम (कानुन) प्रधानपञ्च मुसहरु यादवले २३ जेठ २०३४ मा जिल्ला पञ्चायत सचिवालयबाट स्वीकृतिका लागि पठाएका थिए ।
११ साउन ०३४ मा त्यहाँ बसेको बैठकबाट पनि विनियम स्वीकृति हुँदा सो जग्गा स्थानीयलाई प्लट नम्बर उल्लेख गरेर भोगचलन गर्न दिएका थिए । त्यसवापत स्थानीयले त्यसबेला प्रतिप्लट २ सय रुपैयाँका दरले बुझाएर घर निर्माण गरी बसोबास गर्न थाले ।
१० वैसाख २०५६ मा तत्कालीन नकटी रायपुर गाविसले पनि सोही आधारमा चलानी नम्बर १६५ उल्लेख गरेको पत्रले वडा नम्बर ८(ख) को १६९५ कित्ता नम्बरको उक्त जग्गा रोक्का गराएको थियो । तर, १९ पुस २०८२ मा पालिका अध्यक्ष यादवले चलानी नम्बर ९२६ मा भूमि सुधार तथा मालपोत कार्यालय राजविराजमा सिफारिस पठाउँदै उक्त जग्गा फुकुवा गराएपछि बाँडफाँडका आधारमा किनबेच प्रक्रिया सुरु भएको हो ।
हाल उक्त जग्गामा २३ वटा प्लटमा वडाध्यक्ष यादवसहित २४ परिवारले तीन तल्लेसम्म पक्की घर बनाएर बसोबास गरिरहेका छन् । बाँकी जग्गामा स्वास्थ्य चौकी, व्यामशाला, खेल मैदान, हटिया गिलेसन, धर्मशाला, शिव मन्दिर, इनारलगायतका संरचना छन् । तर, रुपनी–१ की वडाध्यक्ष यादवले उक्त जग्गा किनबेचका लागि ७ माघ २०८२ मा चलानी नम्बर ७७७ मा घरबाटो सिफारिस गर्दा त्यहाँ कुनै पनि घर नरहेको झुठो विवरण उल्लेख गरेकी छन् । सोही आधारमा ८ माघ २०८२ मा सरकारी संरचना बनेको कूल जग्गाको आधाभन्दा बढी स्वर्गीय थापाकी बुहारीहरु रचना सिंह थापा र बिना थापाको संयुक्त नाममा पास भएको छ ।
किक्ता नम्बर १६९५ बाट कित्ताकाट गरेर कित्ता नम्बर २०९२ को १० कठ्ठा साढे ४ धुर जग्गा रचना र बिनाको संयुक्त नाममा कायम हुँदा बाँकी प्लटिङ गरिएको अधिकांश जग्गा वडाध्यक्षकै श्रीमान् पिताम्बरको नाममा पास भएको हो । कित्ता नम्बर २०८७ र २०९१ गरी १ कठ्ठा १६ धुर जग्गा पिताम्बरको नाममा एकलौटी पास भएको छ भने साढे ५ कठ्ठा जग्गा संयुक्तमा पास हुँदा पनि पिताम्बर जग्गाधनी छन् ।
संयुक्तमा पास भएको कित्ता नम्बर २०८८ को १ कठ्ठा ७ धुर र कित्ता नम्बर २०९० को ४ कठ्ठा ३ धुरको जग्गाधनीमा पनि पिताम्बर नै हिस्सेदार बनेका छन् । २०८८ को पिताम्बरसहित सञ्जयकुमार यादव, सत्यनारायण यादव, रिताकुमारी यादव, फुलकुमारी यादव र आरतीकुमारी यादव संयुक्त जग्गाधनी बनेका हुन्।
कित्ता नम्बर २०९० को जग्गासमेत पिताम्बरसहित सत्यनारायण यादव, आरतीकुमारी यादव र सञ्जयकुमार यादवको संयुक्त नाममा पास भएको हो । कित्ता नम्बर २०८६ को २ कठ्ठा ६ धुर जग्गा रिताकुमारी यादव, फmुलकुमारी यादव र सुनिताकुमारी यादवको संयुक्त नाममा र २०८९ को ८ धुर जग्गा रामएकवाल यादव र आरतीकुमारी यादवको संयुत्त नाममा पास भएको छ । तर, ती अधिकांश कित्ताका भोगचलन भने त्यहाँका अन्य परिवारकै नाममा छ । उनीहरु २०३३ सालदेखि नै पक्की घर बनाएर बसोबास गरिरहेका छन् ।
अहिले कायम गरिएका २०८६ कित्ता नम्बर यसअघि १३८, १३९, १४०, १४१, १४२, १४३ र १४४ प्लट रहँदा जवाहर साह, विश्नाथ साह, असियादेवी, रामकली चौधरी, हरिनारायण साह, महेन्द्र यादव र रामनारायण यादवको भोगचलनका आधारमा घर छ । २०८७ को १३४ र १३५ प्लटमा मात्रै उर्मिलादेवीको भोगचलन छ । उर्मिलादेवी वडाध्यक्ष यादवकी सासु हुन् । २०८८ मा शिव मन्दिर अगाडिको खाली जग्गामा सार्वजनिक चपुत्रासहित पिपलको रुख छ ।
२०८९ कित्ता नम्बर २२५ (क) र (ख) प्लट रहँदा रमेश यादव र राम एकवाल यादवको भोगचलनसहित घर छ । २०९० मा पनि १४७, १४८, १४९, १५०, १५१, १५२ र १५३, १५४, १५५, १५६ र १५७ प्लट रहँदा रितादेवी चौधरी, कमलकान्त जयसवाल, मो.सुलेमान, लक्ष्मण यादव, गुलावदेवी यादव, बुधनीकुमारी साह, दिनेशकुमार साह, सुरेश साह, फुलोदवी साह र हिराइ साहको भोगचलनसहित घर तथा केदार साहको भोगचलन रहँदा अम्बिकादेवी साहको घर छ ।
२०९१ कित्ता नम्बर १४५ र १४६ प्लट रहँदा कृष्णकुमार चौधरी र विद्यादेवीको भोगचलन रहेकोमा हस्तान्तरण भएर रञ्जु चौधरीले घर बनाएर बसोबास गरिरहेका छन् । अगम शम्शेरकी बुहारीहरु रचना र बिनाको नाममा पास गरिएको २०९२ कित्ता नम्बरमा स्वास्थ्य चौकी भवन, व्यामशाला भवन, धर्मशाला भवन, खेल मैदान, हटिया गिलेसन, शिव मन्दिर, इनारलगायतका संरचना पनि छन् ।
झण्डै ५० वर्षदेखि भोगचलन गर्दै आएको सार्वजनिक जग्गा अर्काकै नाममा पास भइसकेको विषयमा स्थानीयलाई जानकारी नै छैन् । ‘आफुहरुले शूल्क तिरेर २०३३ सालदेखि यहाँ घर बनाएर बसोबास गर्दै आइरहेका छौं । अहिले केही जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लागेर चलखेल गरिरहेको जानकारी छ । कसको नाममा पास भएको विषय जानकारी छैन्,’ स्थानीय लक्ष्मण यादवले प्लट प्रमाणित गराएको कागजात देखाउँदै भने, ‘यो सरासर गलत र कानुन विपरित हो । त्यस्ता जनप्रतिनिधिलाई कारबाही हुनुपर्छ ।’
पालिका अध्यक्ष यादवले बसोबास गरिरहेकाहरुको नाममा जग्गा पास गराउन वडा कार्यालयबाट आएको सिफारिस अनुसार जग्गा फुकुवा सिफारिस गरेको बताए । ‘तत्कालीन गाउँ पञ्चायतले अगम शम्शेरलाई केही मुआब्जा दिएर बजार बसाएको देखिन्छ । तर अहिले आएर उहाँका बुहारीहरुले हकदाबी गर्दै निवेदन दिनुभएको थियो,’ उनले भने, ‘वडाध्यक्षका श्रीमान् पिताम्बरको नाममा गएको बढी जग्गा फिर्ता गराएर भोगचलन गरिरहेकाहरुको नाममा सार्न लगाउँछौं ।’ तर, यसअघि उक्त जग्गामा सार्वजनिक संरचना निर्माण भइरहँदा शम्शेरकी बुहारी रचनाले निषेधाज्ञा माग गर्दै उच्च अदालत जनकपुर, राजविराजमा दायर गरेको मुद्दामा अध्यक्ष यादवले पेस गरेको प्रमाण र बयानका विषयमा बोल्न चाहेनन् ।
रचनाले यसअघि ८ वैशाख २०८१ मा उक्त जग्गामा सार्वजनिक संरचना निर्माणको काम रोक्न गाउँपालिकालाई विपक्षी बनाएर अदालतमा मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दामा १३ जेठ २०८२ मा सुनुवाइ हुँदा गाउँपालिकाले पेस गरेको प्रमाण र बयानका आधारमा अदालतका न्यायाधीश पूर्णप्रसाद राजवंशी र कृष्णप्रसाद सुवेदीको संयुक्त इजलासले खारेज गरिदिएको थियो । अदालतबाट मुद्दा खारेज भए पनि पालिका अध्यक्ष र वडाध्यक्षसँग मिलेमतो गरेर जग्गा पास गराएर बाँडफाँड गरेको स्थानीयको भनाइ छ ।
वडाध्यक्ष यादवले त्यहाँ घर नरहेको भनेर त्रुटिवस घरबाटो सिफारिस हुन गएको बताइन् । ‘यहाँ कामको चाप बढी हुन्छ । अर्को कित्ता उल्लेख हुनुपर्नेमा १६९५ नम्बरको कित्ता उल्लेख भइसकेर त्रुटि हुन गयो । त्यसलाई सुधार गर्ने कार्य भइरहेको छ,’ त्रुटिपछि पनि उनको श्रीमान्कै नाममा बढी जग्गा कसरी पास भएको विषयमा प्रश्न गर्दा उनले भनिन्, ‘सबै कुरा फोनमै स्पष्ट गर्न सकिँदैन । कार्यालय आउनुस् अनि थप बताउँछु ।’
रचना र बिनासँग सम्पर्क हुन सकेन । रचनाका छोरा दिग्गज शम्शेर थापाले अदालतबाट भएको आदेश अनुसार नै भएको बताए । तर, उनीसँग आदेश वा फैसलाको प्रमाण छैन् । पालिका अध्यक्ष यादवले रचना र बिनाले दिएको निवेदन अनुसार सिफारिस दिएको स्वीकार गर्छन् । भूमि सुधार तथा मालपोत कार्यालयका सूचना अधिकारी होमबहादुर विश्वकर्माले यो विषयमा बुझेर मात्रै भन्नसक्ने बताए । ‘म बुझेर मात्र ती विषयमा भन्नसक्छु,’ उनले भने ।
