जिल्ला अस्पताल रुकुम पश्चिमको एम्बुलेन्स सिंहदरबारअगाडि ‘ह्वील लक’

चालक भन्छन्- ‘एम्बुलेन्समा ह्वील लक गरिएको अनुभव पहिलोपटक भोग्नुपर्‍यो ।’

वैशाख ५, २०८३

विवेक पोख्रेल

Ambulance of District Hospital Rukum West gets stuck in front of Singha Durbar

What you should know

काठमाडौँ — एम्बुलेन्समा ‘ह्वील लक’ गरिएको तस्बिर यतिबेला सामाजिक सञ्जालमा पोस्ट हुन थालेका छन् । धेरैले यसलाई ट्राफिक प्रहरीको 'असंवेदनशीलता'सँग जोडेर प्रतिक्रिया दिइरहेका छन् ।

खासमा यो घटना २६ चैत २०८२ को हो ।

जिल्ला अस्पताल रुकुम पश्चिमको एम्बुलेन्सका चालक कृष्णकुमार ददेल बिरामी ल्याएर काठमाडौं आएका थिए। काठमाडौं आएको समयमा अनामनगरस्थित दिदीको कोठामा खाना खान जाने क्रममा उनले सिंहदबार पूर्वीगेट अनामनगर नजिक फुटपाथमा पार्किङ गरेका थिए ।

‘एम्बुलेन्स राखेर खान खान गएको थिएँ,' चालक ददेलले कान्तिपुरसँग भने, ‘आफ्नै पनि स्वास्थ्य परीक्षण गराउनु थियो, त्यहीँ पार्किङ गरेर म वीर अस्पताल पुगेँ । उपचार सकेर फर्किंदा एम्बुलेन्समा ह्वील लक गरिएको देख्दा अचम्म लाग्यो ।’

उनले यो एम्बुलेन्स चलाएको तीन वर्ष भयो । तर एम्बुलेन्समा ह्वील लक गरिएको अनुभव पहिलोपटक भोगेको उनले सुनाए । ट्राफिकले चिट काट्नुपर्ने अडान राखेपछि आफूले नागरिक एपबाट सम्बन्धित सबै कागजपत्र देखाएको उनको भनाइ छ । 'त्यसपछि ट्राफिकले तपाईं अहिलेसम्म कारबाहीमा पर्नुभएको रहेनछ, यसपटक चिट काटिएन, तर यहाँ पार्किङ नगर्नु भनेर छाड्नुभयो,' उनले भने । 

चालक उपस्थित छैन र ट्राफिक व्यवस्थापनमा बाधा पुगेको छ भने कारबाही त गर्नुपर्‍यो नि । - नरेश सुवेदी, प्रवक्ता, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्तायो विषयमा हामीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीसँग प्रतिक्रिया लियौं । उनले निषेधित क्षेत्रमा पार्किङ गर्ने, लेन अनुशासन नियम नमान्ने, फुटपाथमा पार्किङ गर्ने सवारीमा निगरानी कडा पारिएको बताए । उनका अनुसार अत्यावश्यक सेवाका सवारीसाधन भए पनि ट्राफिक व्यवस्थापनका नियम पालना सबैले गर्नुपर्ने हुन्छ ।

‘नेपालको ट्राफिक नियमअनुसार एम्बुलेन्स आपतकालीन सेवाको सवारी हो । त्यसैले बिरामी बोकेको, साइरन र इमर्जेन्सी मोडमा रहेको अवस्थामा त्यस्तो सवारीलाई अवरोध गर्नु उचित हुँदैन। हामीले त्यो समयमा एम्बुलेन्सलाई सहज बनाउने काम गरेका छौं । तर, एम्बुलेन्स इमर्जेन्सी अवस्थामा नभएर पार्किङ नियम उल्लंघन गरेर लामो समयसम्म राखिएको छ,' उनले भने, 'चालक उपस्थित छैन र ट्राफिक व्यवस्थापनमा बाधा पुगेको छ भने कारबाही त गर्नुपर्‍यो नि ।’ लामो समयसम्म पार्किङ गर्न नमिल्ने ठाउँमा चालकविहीन अवस्थामा देखिएको एम्बुलेन्सलाई कारबाही प्रक्रियामा ल्याउनु आफूहरूको  जिम्मेवारी रहेको उनले बताए ।’

नजिक अस्पताल पनि नभएको र चालकसमेत नभएकाले लामो समय पार्किङमा राखिएकाले ह्वील लक गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully