किन हुन सकेन गैंडा गणना ?

नयाँ विधि अपनाउने तयारी भइरहेको गैंडा गणना तालिकाअनुसार २०८१ सालमै हुने भए पनि बजेट, उपकरण अभाव र प्राविधिक छलफलका कारण ढिलाइ भएको छ ।

वैशाख ४, २०८३

रमेशकुमार पौडेल

Why couldn't the rhino census be done?

चितवन — २०८१ सालमै हुनुपर्ने गैंडा गणना २०८२ साल सकिए पनि सुरु भएको छैन । तालिकाअनुसार गएको हिउँदमा बाघ गणना सुरु भयो । तर रोकिएको गैंडा गणना सुरु गर्ने दिन जुरेको छैन ।

गैंडा गणना सामान्यतया चैतमा सुरु गरेर महिना दिनभित्रै नतिजा पनि सार्वजनिक हुन्थ्यो । निकुञ्ज विभागले यो पटक गैंडा गणना गर्ने तर पहिलाको विधिबाट नहुने जानकारी दिएको छ । 

नेपालमा सबैभन्दा धेरै एकसिंगे गैंडा चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको वन क्षेत्रमा पाइन्छन् । चितवनसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा पनि थोरै गैंडा छन् । त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा निकुञ्जमा गैंडा छन् । अत्यधिक संख्या रहेका कारण चितवनबाटै गणना सुरु हुन्छ । तर यसपटक गणनाका विषयमा चितवन निकुञ्जमा आधिकारिक केही जानकारी आइपुगेको छैन । 

‘विभागमा यस विषयमा छलफलहरु भएका छन् । तर गणना सुरु गर्नेबारेमा फिल्ड तहमा नयाँ जानकारी आइपुगेको छैन,’ चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले भने ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक तथा प्रवक्ता बेदकुमार ढकालले आउँदो साताभित्र गैंडा गाणनाको विषय टुंगो लाग्ने बताए । ‘यो पटक गैंडा गणना गर्ने विभागको तयारी छ । मिति र विधिका बारेमा आउँदो शुक्रबारभित्रै निर्णय लिन्छौं । पहिला जसरी हात्तीमा बसेर गणना हुन्थ्यो यो पटक त्यसरी भने हुनेछैन,’ विभागका उपमहानिर्देशक ढकालले भने । पहिला निकुञ्जलाई विभिन्न ब्लकमा विभक्त गरेर हात्तीमाथि लहरै बसेका गणकहरुले एक ब्लकमा एकैचोटि गैंडा गन्थे । क्यामरा दुरबिन, लगायतका उपकरणको सहयोग लिन्थे ।

चितवनको हकमा यो पटक गैंडा कम पाइने र गैंडाको संख्या धेरै भएको क्षेत्रमा फरक फरक विधिबाट गणना हुने ढकालले बताए । ‘सौराहादेखि पूर्वको भेगमा गैंडा निकै कम छन् । त्यहाँका गैंडालाई पोस्टका कर्मचारीले चिनेका छन् । उनीहरुको कानको अवस्था, खागको आकारजस्ता चिह्नले नाम दिएका छन् । त्यस्ता ठाउँहरुमा गैंडालाई प्रत्यक्ष गणना गर्न सकियो,’ ढकालले भने ।

त्यसै गरी सौराहादेखि पूर्व जहाँ गैंडाको संख्या धेरै छ, त्यहाँ जेनेटिक (आनुवंशिक) पहिचान विधिबाट गैंडाको संख्या यकिन गर्ने योजना विभागले बनाएको ढकालले बताए । यसका लागि गैंडाको गोबर संकलन गरेर विश्लेषण गर्ने उनले बताए । ‘अरु देशमा विभिन्न वन्यजीवको संख्या यकिन गर्न यो विधि प्रयोग भएको छ । नेपालमा पनि हामी यसलाई प्रयोगमा ल्याउँदै छौं,’ उनले भने ।

गैंडा गणनाका लागि विभागले प्राविधिक समिति बनाएको छ । सो समितिले दुई-तीनपटक छलफल चलाइसकेको छ । जंगलमा हात्तीमा बसेर गैंडा गणना गर्न जानु खर्चिलोका साथै खतरनाक पनि भएका कारण नयाँ विधि अपनाउन लागेको ढकालले बताए । यसअघि २०७७ सालको गैंडा गणनामा जंगली भाले हात्ती ‘ध्रुवे’ को आक्रमणमा परेर एकजना गणक गम्भीर घाइते भएका थिए ।

कम्मरमा गहिरो चोट लागेका गणक विनोद श्रेष्ठ अहिले पनि पूर्ववत अवस्थामा फर्कन सकेका छैनन् । त्यसैले गणनाका लागि सुरक्षित विधि खोजी हुनुपर्ने आवाज उठेको थियो । गैंडा गणनाका लागि विगतमा एक करोड रुपैयाँभन्दा बढी रकम खर्च हुने गरेको थियो । नयाँ विधिमा गए यो खर्चमा पनि कमी आउने आँकलन रहेको विभागका प्रवक्ता तथा उपमहानिर्देशक वेदकुमार ढकालले बताए ।

२०७६ चैतमा हुनु पर्ने गैंडा गणना कोरोना महामारीका कारण हुन सकेको थिएन । त्यसपछि २०७७ चैत ९ मा गणना भएर चैत २८ मा नतिजा सार्वजनिक भएको थियो । नियमित तालिका अनुसार गत वर्ष नै गैंडा गणना हुनुपर्ने थियो । सामान्यतया पाँच वर्षको अन्तरालमा गणना हुन्छ । 

गत वर्ष अमेरिकी सरकारको सहयोगमा सञ्चालित ‘जल जंगल’ परियोजनाको भर पर्दा हुनुपर्ने गैंडा गणनाको काम रोकिएको थियो । यसमा यूएसएआईडीको सहयोग थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुसार यूएसएआईडीको बजेट र कार्यक्रम रोकिएपछि गैंडा गणना पनि अचानक रोकियो ।

गैंडा गणनाका लागि गत वर्ष सरकारले बजेट नै छुट्याएको थिएन । गएको भदौमा चितवन सौराहा अएका बेलामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालीन महानिर्देशक रामचन्द्र कँडेलले सुनाएअनुसार २०८१ सालमा गैंडा गाणनाका लागि सरकारले बजेट नै छुट्याएको थिएन । त्यसपछि बजेटका लागि अमेरिकी संस्थाको सहयोमा निर्भर हुनुपरेको थियो । 

‘बजेट नै विनियोजना भएको रहेनछ । म विभागमा आएपछि हेर्छु त बजेट छैन, गणना गर्नुपर्नेछ । त्यसैले सहयोगी साझेदार संस्थाहरुलाई अनुरोध गरियो । उनीहरु सहयोग गर्न तयार भए,’ तत्कालीन महानिर्देशक कँडेलले भनका थिए । नियमित साझेदारहरु राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), डब्लूडब्लूएफ नेपाल र जेडएसएल जस्ता संस्थाले गैंडा गणनामा सधै सहयोग गर्थे ।

‘तर केही बजेट पुगेन । जल जंगल परियोजनासँग कुरा गर्दा उनीहरु पनि सहजै तयार भए । हामीलाई बजेटभन्दा पनि उपकरण भए हुन्छ भनेको सहयोग पाइने भयो । तर कुरा गरेको केही समयपछि नै जल जंगल कार्यक्रम नै बन्द भयो,’ उनले भनेका थिए । परियोजनाले करिब ५० लाख रुपैयाँ बराबरका उपकरण उपलब्ध गराउँदै थियो । उपकरण नै नभएपछि २०८१ सालमा हुनुपर्ने गैंडा गणना स्थगित भयो ।

त्यसपछि २०८२ चैतभित्रै सुरु हुनुपर्ने गणना २०८३ सुरु हुँदा पनि अगाडि बढ्न सकेको छैन ।

नेपालमा सन् १९९४ बाट गैंडाको प्रत्यक्ष गणना सुरु भएको हो । त्यसपछि सन् २०००, २००५, २००८, २०११, २०१५ र सन् २०२१ मा भएको थियो । सन् १९९४ बाट प्रत्यक्ष गणना गर्दा ४४६ गैंडा भेटिएका थिए । 

सन् २००० मा ५४४ वटा, २००५ मा ३७२, २००८ मा ४०८, २०११ मा ५०३, २०१५ मा ६४५ र सन् २०२१ मा ७५२ गैंडा थिए ।

सन् २०२१ को गणनामा देशभर ७५२ गैंडा रहँदा चितवनमा ६९४, बर्दियामा ३९, शुक्लाफाँटामा १७ र पर्सामा ३ गैंडा भेटिएका थिए । 

संख्या पत्ता लगाउनका लागि मात्रै गणना नहुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्त बताउँछन् । ‘गणनाले बासस्थलको अवस्था र संख्यासँगै व्यवस्थापनका योजना बनाउन पनि सघाउ पुग्छ । संरक्षणका लागि गरेको कामको प्रभाव मूल्यांकन गर्न पनि गणनाबाट मद्दत पुग्छ । त्यसैले गणना कार्य आवश्यक छ,’ पन्तले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully