मन्त्रिपरिषद्बाट निर्णय गराएर सित्तैमा सरकारी जग्गा भोगाधिकार लिइरहेका संस्थालाई लिजमा परिणत गर्न सरकारले २३ असार २०७९ मै कार्यनीति ल्याएको थियो तर कार्यान्वयन भएन
What you should know
काठमाडौँ — मन्त्रिपरिषद्बाट निर्णय गराएर राजनीतिक दलसम्बद्ध ट्रेड युनियनहरूलाई विगतमा भोगाधिकार दिइएका सरकारी/सार्वजनिक जग्गा तथा भौतिक संरचना सरकारले फिर्ता ल्याउन सकेको छैन । त्यस्ता संस्थाले उपभोग गरिरहेको सरकारी/सार्वजनिक जग्गा र संरचनालाई ‘सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति–२०७९’ अनुरूप ‘लिज’मा परिणत पनि गरिएको छैन ।
एमाले, कांग्रेस, नेकपा (तत्कालीन माओवादी र एकीकृत समाजवादी), जसपालगायत दलसम्बद्ध ट्रेड युनियनहरूले सरकारी जग्गामा संरचना बनाएर दलीय र ट्रेड युनियनका गतिविधि सञ्चालन गरिरहेका छन् । ‘पहुँच, प्रभाव र सत्ता’ को आडमा दलसम्बद्ध संस्थालाई सार्वजनिक सम्पत्तिको भोगाधिकार दिइएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले २३ असार ०७९ मा ल्याएको कार्यनीतिमा सरकारी जग्गा भोग गर्दै आएका सबै संस्थासँगले ‘लिज’ सम्झौता गर्नुपर्ने उल्लेख छ । त्यसको आवधिक शुल्क असुल गर्नुपर्ने र त्यसो नभए जग्गा सरकारले नै फिर्ता ल्याउने पनि कार्यनीतिमा भनिएको छ । लिजमा दिने जग्गाको विवरण, उपभोगको सर्त, बढाबढ सुरु हुने न्यूनतम मूल्य, कबोल अंकको पाँच प्रतिशतले हुने नगद धरौटी वा बैंक जमानत, लिज सम्झौता भएको रकममा प्रत्येक आर्थिक वर्षमा कम्तीमा ५ प्रतिशत वृद्धि हुनेलगायत सर्तहरू पनि तोकिएका छन् ।
कार्यनीतिलाई वैशाख ०८२ मा संशोधन गरी संघ, प्रदेश र स्थानीय तहलाई पनि समेटेर सरकारी जग्गा लिजमा लगाउनेसम्बन्धी थुप्रै विषय थप गरिएका थिए । त्यसमा लिज सम्झौताको ढाँचा नै बनाएर विभिन्न सर्त तोकिएका थिए । विगतमा भोगाधिकार लिएर निःशुल्क भोगचलन गर्दै आएका संस्थाका हकमा पनि कार्यनीतिअनुरूप लिज सम्झौता गर्नुपर्ने थियो । तर सरकारले कार्यनीति कार्यान्वयनमा चासो दिएन ।
वालेन्द्र शाह नेतृत्वको नयाँ मन्त्रिपरिषद्ले भने दलीय ट्रेड युनियन नै खारेज गर्ने निर्णय गरेको छ । तर, दलसम्बद्ध ट्रेड युनियन खारेज र तिनले कानुनविपरीत भोगचलन गरिरहेको जग्गा फिर्ताको प्रक्रिया अब कसरी अघि बढ्छ भन्ने स्पष्ट खाका भने सरकारले ल्याइसकेको छैन । भूमि व्यवस्था मन्त्रालयका अधिकारीहरू मन्त्रिपरिषद्को निर्णयलाई चाँडै कार्यान्वयनमा लैजाने बताउँछन् ।
कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन र महन्थ ठाकुर नेतृत्वको तत्कालीन लोसपा निकट नेपाल मधेशी कर्मचारी युनियनलाई ४ फागुन ०६८ को मन्त्रिपरिषद् बैठकले बबरमहलस्थित वन परिसरछेउकै १–१ रोपनी सरकारी जग्गा निःशुल्क भोगाधिकार दिएको थियो । मधेशी कर्मचारी युनियनले सोही जग्गामा भवन बनाएको थियो, लोसपा पनि त्यही भवनमा बसेको थियो । ‘मधेश भवन’ नामकरण गरी सरकारी जग्गामा बनेको संरचनामा ट्रेड युनियन र दलीय गतिविधि एकसाथ चलाइएको थियो । पछिल्लो पटक जसपासँग मिलेपछि पनि त्यहाँबाट दलीय गतिविधि भइरहेको छ ।
एमाले समर्थित नेपाल निजामती कर्मचारी संगठन सिंहदरबार दक्षिण गेटअगाडिकै सरकारी जग्गामा बनेको भवनमा छ । २२ कात्तिक ०६८ को मन्त्रिपरिषद्ले एक रोपनी जग्गा एमालेनिकट कर्मचारी संगठनलाई निःशुल्क भोगाधिकार दिएको थियो । त्यही जग्गामा आलिसान भवन बनाएर दलनिकट गतिविधि गरिँदै आएको छ ।
तत्कालीन माओवादी (हाल नेकपा) निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको कार्यालय बबरमहलस्थित सरकारी भवनबाट सञ्चालन भइरहेको छ । २३ वैशाख ०६८ को मन्त्रिपरिषद् निर्णयबाट जग्गा र भवन तत्कालीन माओवादीनिकट कर्मचारी संगठनलाई दिइएको थियो । तत्कालीन एकीकृत समाजवादीले पनि आफू सरकारमा गएको बेला ‘एकीकृत सरकारी कर्मचारी संगठन’ खोलेर सिंहदरबारछेउकै भवन विभागको संरचनामा कार्यालय राखेको थियो । तत्कालीन एकीकृत समाजवादीकी सचिव (हाल एमाले नेता) रामकुमारी झाँक्री सहरी विकासमन्त्री भएको बेला आफ्नो दलनिकट कर्मचारी संगठनलाई कार्यालय राख्न सरकारी भवन उपलब्ध गराएकी थिइन् ।
ट्रेड युनियनबाहेक दल र दलनिकट संस्थाले पनि सरकारी/सार्वजनिक जग्गा भोगचलन गरिरहेका छन् । एमालेको केन्द्रीय कार्यालय ललितपुरको च्यासलस्थित सरकारी जग्गामा छ । वामपन्थी नेता तुलसीलाल अमात्यको स्मृतिमा खोलिएको प्रतिष्ठानलाई १० चैत ०५८ को मन्त्रिपरिषद् बैठकले ललितपुरको च्यासलमा रहेको १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गाको भोगाधिकार दिएको थियो । त्यही जग्गामा भवन बनाएको प्रतिष्ठानले अहिले एमालेलाई पार्टी मुख्यालय चलाउन दिएको छ ।
एमाले कार्यालय ९ वैशाख ०७९ मा च्यासलस्थित प्रतिष्ठानको भवनमा सरेको थियो । मासिक ४ लाख भाडामा ५ वर्षका लागि प्रतिष्ठानको संरचना पार्टीलाई उपयोग गर्न ‘द्विपक्षीय समझदारी’ भएको त्यतिबेलै खुले पनि दुवै पक्षले यस विषयलाई गोप्य राखेका छन् । पछिल्लो कार्यनीतिअनुसार प्रतिष्ठानले पनि च्यासलको जग्गा सरकारबाट लिजमा लिनुपर्ने थियो । तर कायनीति पालना नगरी एमालेलाई भाडामा दिइएको छ ।
कांग्रेसनिकट नेपाल शिक्षक संघको कार्यालय पनि धुम्बाराहीस्थित पासाङल्हामु प्रतिष्ठान नजिकै सरकारी जग्गामा छ । १ रोपनी १० आना सरकारी जग्गामा भौतिक संरचना बनाएर भुइँतलामा रेस्टुराँलाई भाडा लगाएको संघले माथि दलीय गतिविधि गर्दै आएको छ ।
कार्यनीतिअनुसार भोगाधिकार प्राप्त संस्थालाई लिजमा आउन विगतमा अनुरोधसहित सार्वजनिक सूचना नै जारी गरेको तर धेरैजसो नआएको भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले बताए । ‘जो–जो आएनन्, त्यस्ता संस्थाले अब छाड्नुपर्नेछ, आवश्यक प्रक्रिया पूरा गरेर त्यहीअनुसार निर्णय लिइनेछ,’ उनले भने, ‘ती संरचना सरकारले आफ्नो भोगचलनमा ल्याउन कुनै कानुनी अड्चन छैन ।’
कार्यनीतिमा तोकिएको अवधिभित्र लिजमा परिणत हुन नआएको जग्गा भोगाधिकारीबाट खोसेर सरकारले ल्याउने उल्लेख छ । भोगाधिकार समाप्त भएको जग्गामा कुनै संरचना निर्माण भएको रहेछ भने त्यस्ता संरचनासमेत नेपाल सरकारले प्राप्त गर्न सक्ने भनिएको छ । त्यसरी प्राप्त हुने जग्गा तथा संरचनालाई भोगाधिकारी समाप्त भएको व्यहोरा जग्गाधनी स्रेस्ता कैफियतमा समेत जनाएर सरकारका नाममा ल्याउनुपर्ने कार्यनीतिमा उल्लेख छ ।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पूर्वउपाध्यक्ष भोलानाथ पोखरेल भने ट्रेड युनियनहरूले सरकारबाट भोगाधिकार पाई भौतिक संरचना बनाएर चलाइरहेकामा अहिले सरकारले हटाउँछु भन्नु नै गलत भएको तर्क गर्छन् । हटाउनेभन्दा पनि लिजमा रूपान्तरण गर्ने कानुन पालना हुनुपर्नेमा पोखरेल जोड दिन्छन् ।
