कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी

प्रधान सम्पादकको भूमिकाबाट उमेश चौहानले राजीनामा दिएपछि कान्तिपुरले उक्त पदका लागि आवेदन आह्वान गरेको थियो, जसमा १७ वटा आवेदन प्राप्त भएका थिए। अन्तिम सूचीमा रहेका तीन जनामध्येबाट अवस्थीलाई छनोट गरिएको हो।

वैशाख ३, २०८३

इकान्तिपुर टिम

Gokarna Awasthi appointed as Editor-in-Chief of Kantipur Daily

What you should know

काठमाडौँ — कान्तिपुर दैनिकको प्रधान सम्पादकमा गोकर्ण अवस्थी नियुक्त भएका छन्। अवस्थीसँग पत्रकारिता, राजनीतिक एवं आर्थिक विश्लेषण र अध्यापन क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ।

अवस्थी कान्तिपुर दैनिकसँग दोस्रोपटक आबद्ध भएका हुन्। उनले कान्तिपुर दैनिकमा आर्थिक समाचार सम्पादकको रूपमा काम गरेका थिए। त्यतिबेला अवस्थीले आर्थिक पत्रकारिता र अर्थतन्त्रसँग सम्बन्धित बहसलाई परिष्कृत बनाउन प्रभावकारी भूमिका निर्वाह गरेका थिए।

अवस्थीको पछिल्लो आबद्धता नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघसँग रहेको थियो। महासंघको महानिर्देशकका रूपमा उनले उद्यमशीलता र निजी क्षेत्र प्रवर्द्धनमा पहल गरेका छन्।

महासंघमा आबद्ध हुनुअघि अवस्थीले नेपालस्थित संयुक्त राष्ट्रसंघ कार्यालयमा दिगो विकास लक्ष्य सल्लाहकारका रूपमा काम गरेका थिए। दिगो विकास लक्ष्यको मूलप्रवाहीकरण र स्थानीयकरण विषयमा उनले आफ्नो योगदान पुर्‍याएका थिए।

आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षका रूपमा समेत काम गरेका अवस्थीले आर्थिक पत्रकारिताको प्रवर्द्धन र पत्रकारहरूको क्षमता विकासमा योगदान पुर्‍याएका थिए। नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यसमेत भइसकेका अवस्थीसँग नेपालको व्यावसायिक वातावरण र इन्टरनेसनल बिजनेस विषयको अध्यापनको अनुभव पनि छ।

'मैले अर्थतन्त्र, नीति र सार्वजनिक जीवनको अन्तरसम्बन्धका विषयमा काम गरेको छु र पत्रकारिता सधैं यी सबैलाई जोड्ने कडीका रूपमा रह्यो,' अवस्थीले भने, 'मैले पत्रकारितामा लामो समय बिताएको कान्तिपुरमा फर्किँदा अत्यन्त खुसी लागेको छ। अबको मेरो लक्ष्य यी विभिन्न क्षेत्रका अनुभव र सिकाइलाई समेत समाचार कक्षमा ल्याउनु रहनेछ।'

सन् २०२३ मेदेखि कान्तिपुर दैनिकको प्रधान सम्पादकका रूपमा काम गरेका उमेश चौहानको राजीनामापछि अवस्थीको नियुक्ति भएको हो। प्रधान सम्पादकको भूमिकाबाट चौहानले राजीनामा दिएपछि कान्तिपुरले उक्त पदका लागि आवेदन आह्वान गरेको थियो, जसमा १७ वटा आवेदन प्राप्त भएका थिए। अन्तिम सूचीमा रहेका तीनजनामध्येबाट अवस्थीलाई छनोट गरिएको हो। अवस्थीले २०२६ मे ५ बाट औपचारिक रूपमा कान्तिपुर दैनिकको प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्नेछन्।

'गोकर्ण अवस्थीका बारेमा मलाई उत्साहित पार्ने पक्ष भनेको उनको नेपालका विभिन्न क्षेत्रको बुझाइ र ती क्षेत्रसँग पत्रकारिताले कसरी संवाद गर्न सक्छ भन्ने हो,' कान्तिपुर मिडिया ग्रुपका एडिटोरियल डाइरेक्टर अनुप काफ्लेले भने, 'पत्रकारिता, निजी क्षेत्र, संयुक्त राष्ट्र संघ र अर्थतन्त्रका विभिन्न क्षेत्रमा अवस्थीले हासिल गरेको अनुभवबाट कान्तिपुरका पाठकहरूले आगामी दिनमा फरक महसुस गर्ने विश्वास लिएको छु।'

अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर र भारतीय जनसञ्चार संस्थान, नयाँ दिल्लीबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन्। हाल उनी काठमाडौं विश्वविद्यालयमा राजनीतिक अर्थशास्त्रसम्बद्ध विषयमा केन्द्रित रही विद्यावारिधि गरिरहेका छन्।

इकान्तिपुर

Link copied successfully