यस्तै आजै भक्तपुरको मध्यपुर थिमीमा सिन्दूर जात्रा धूमधामसँग मनाइएको छ ।
What you should know
काठमाडौँ — भक्तपुरस्थित थिमीको बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । स्थानीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन् ।
गत वर्ष पनि छेडाएका श्रेष्ठले जात्रालाई निरन्तरता दिन आज चौथौँपटक जिब्रो छेडेका हुन् । प्रत्येक वर्ष २ बैशाखमा जिब्रो छेड्ने कर्मी नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्राङ्गण रहेको पाटीमा मञ्च बनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ । बाँस एवं निगालोले बनेको अर्धचन्द्राकार महादीप बालेर सुजनले बोकेर विभिन्न टोलटोलमा घुमेका थिए। परिक्रमा पछि महालक्ष्मी मन्दिरमा सियो निकालेर त्यहीँको माटो जिब्रोमा राख्ने गरिन्छ ।
यस्तै आजै भक्तपुरको मध्यपुर थिमीमा सिन्दूर जात्रा धूमधामसँग मनाइएको छ ।
भक्तपुरको बिस्काः जात्राअन्तर्गत २ बैशाखमा थिमीमा सिन्दूर जात्रा गर्ने प्रचलन रहेको छ ।
जात्रामा थिमी क्षेत्रका ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गर्दै नगर परिक्रमा गर्दै मनाउने प्रचलन रहेको छ । तर, विभिन्न विवादका कारण २०५६ सालदेखि नगदेश, बोडे, टिगनीका खट बालकुमारी मन्दिर परिक्रमा गर्न नआएपछि अहिले १९ वटा खटले मात्रै मन्दिर परिक्रमा गरेर यो जात्रा मनाइएको छ ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरे जात्रा मनाइने गरिन्छ । जात्रामा जात्रालुहरूले प्रत्येक चोक, चौबाटो, घर र टोलमा सिन्दूर छर्ने गर्छन् । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो ।
