सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल ‘गनेस’ले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा गरेका छन्।
What you should know
काठमाडौँ — काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइएको छ।
संयुक्त राष्ट्रसंघले औपचारिक मान्यता दिएपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल ‘गनेस’ले सन् २०२७ लाई ‘नेपाल आरोग्य वर्ष’ घोषणा गरेका छन्।
प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले आरोग्यलाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नुपर्ने बताए।
उनले आरोग्यलाई केवल रोगको अभाव नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक तथा वातावरणीय सन्तुलनको समग्र अवस्थाका रूपमा व्याख्या गरे। विश्वमा बढ्दो द्वन्द्व, जलवायु संकट र मानसिक तनावका बीच आरोग्य मानवताको आशाको आधार बन्न सक्ने उनको भनाइ थियो।
सभामुख अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै प्राकृतिक सम्पदा, हिमाल, संस्कृति र आध्यात्मिक परम्पराले नेपाललाई विशेष बनाएको बताए। उनले संख्याभन्दा गुणस्तरीय पर्यटनमा केन्द्रित भई नेपाललाई उच्च मूल्य र गहिरो अनुभव दिने गन्तव्यका रूपमा स्थापित गर्नुपर्ने धारणा राखे।
त्यसैगरी मन्त्री पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्नेमा जोड दिँदै नेपालले विश्वलाई शान्ति र आत्मिक सन्तुलनको मार्ग देखाउन सक्ने बताए। उनले विश्व स्वास्थ्य संगठनको तथ्यांक उद्धृत गर्दै विश्वमा एक अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेको उल्लेख गरे। 'अब विश्वले खोजेको शान्ति नेपालले दिन सक्छ,' उनले भने।
सरकारले आरोग्य पर्यटनलाई ‘सफ्ट पावर’का रूपमा विकास गर्ने नीति लिएको जनाउँदै मन्त्री पौडेलले १०० बुँदे कार्ययोजनाअन्तर्गत नेपाललाई आरोग्य पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य राखिएको बताए। आरोग्य वर्ष घोषणा सोही लक्ष्यको आधारमा गरिएको उनको भनाइ छ। सरकारले आरोग्य पर्यटनलाई दीगो विकास, सांस्कृतिक संरक्षण र स्थानीय समुदायको समृद्धिसँग जोड्ने लक्ष्य राखेको छ।
कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले आरोग्य प्रवर्द्धनका लागि दीर्घकालीन संरचना आवश्यक रहेको बताए। उनले आरोग्य पर्यटनलाई व्यवस्थित बनाउन उच्चस्तरीय आयोग गठन, ‘वेलनेस सर्किट’ निर्माण, वेलनेस भिसा तथा दीर्घकालीन बसाइ नीतिको आवश्यकता औंल्याए।
समारोहको सुरुवात बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माद्वारा मन्त्रउच्चारणबाट गरिएको थियो। कार्यक्रममा ध्यान र योग सत्र सञ्चालन गरिनुका साथै आरोग्य पर्यटन रणनीति र लोगो सार्वजनिक गरिएको थियो। नेपाल सरकारको प्रस्तावमा संयुक्त राष्ट्रसंघ महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’का रूपमा मान्यता दिएको हो।
