अमेरिकाको सीआरएसले नेपालबारे तयार पारेको रिपोर्ट के हो ?

अमेरिकी संघीय संसद् (कंग्रेस) को अनुसन्धान गर्ने एजेन्सी ‘कंग्रेसनल रिसर्च सर्भिस’ (सीआरएस) कस्तो एजेन्सी हो ? यसले तयार पार्ने प्रतिवेदन कति महत्त्वपूर्ण हुन्छ ?

वैशाख १, २०८३

अन्वेषण अधिकारी

What is the report prepared by the US CRS on Nepal?

What you should know

काठमाडौँ — नेपालको राजनीतिमा पुराना र स्थापित शक्तिहरूलाई किनारा लगाउँदै उदाएको नयाँ राजनीतिक नेतृत्व र सत्ता समीकरणलाई लिएर अमेरिकी संसद् (कंग्रेस) को अनुसन्धान सेवा ‘कंग्रेसनल रिसर्च सर्भिस’ (सीआरएस) ले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ।

गत ३१ मार्च २०२६ मा प्रकाशित ‘नेपालको संसदीय निर्वाचन’ शीर्षकको उक्त प्रतिवेदनले काठमाडौंका पूर्व स्वतन्त्र मेयर वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको गठजोडलाई गहिरो वैचारिक एकताभन्दा पनि ‘म्यारिज अफ कन्भिनियन्स’ अर्थात् ‘परिस्थितिजन्य मिलन’ को संज्ञा दिएको छ।

अमेरिकी संघीय संसद् (कंग्रेस) को अनुसन्धान गर्ने एजेन्सी ‘कंग्रेसनल रिसर्च सर्भिस’ (सीआरएस) ले तयार पारेको प्रतिवेदनबारे सामाजिक सञ्जालमा टीका–टिप्पणी र अड्कलहरू भइरहेका छन्। गत मार्च ३१ मा सार्वजनिक भएको यो रिपोर्टमा जेन–जी आन्दोलन र त्यसपछि विकसित घटनाक्रमबारे संक्षेपमा उल्लेख गरिएको छ।

यो रिपोर्ट तयार पार्ने एजेन्सी अमेरिकाको संघीय सदनको लाइब्रेरी अफ कंग्रेसअन्तर्गत छ। सीआरएस रिपोर्टहरू अमेरिकी कंग्रेसमा छलफल भइरहेका, पारित भएका वा विचाराधीन विषयवस्तुबारे सबै सांसदहरूलाई जानकारी दिन प्रकाशन गरिन्छ। सन् १९१४ देखि नै सीआरएसले विभिन्न विषयमा रिपोर्ट तयार गर्दै आएको छ। तर, यसमा समावेश हुने विवादास्पद विषयहरूका कारण यसलाई कंग्रेसको स्वीकृति बिना सार्वजनिक गर्न पाइँदैनथ्यो। रिपोर्ट गोप्य राख्न नहुने माग लामो समयसम्म उठेपछि सन् २०१८ देखि कंग्रेसले सीआरएस रिपोर्टलाई अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने विधेयक पारित गर्‍यो । यसको अर्थ कंग्रेस सदस्यहरूलाई सीआरएसले जानकारी गराएको सूचनाबारे आम अमेरिकीहरूले बुझ्न पाउनुपर्छ भन्ने हो।

सीआरएसले तयार पार्ने रिपोर्ट कुनै गोप्य रिपोर्ट होइन। कंग्रेस सदस्यहरूलाई विदेश नीति वा घरेलु मामिलाबारे जानकारी राख्न सहज होस् भनेर तयार गरिने नियमित रिपोर्ट हो। यो रिपोर्ट सहयोगी मात्रै हो, सांसदहरूले राख्ने धारणा भने आधिकारिक हो।

सन् २०१८ यता सीआरएसले आफ्ना हरेक रिपोर्ट ढिलो–चाँडो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ। सीआरएसले विशेषगरी पाँचवटा प्राथमिक क्षेत्रमा विश्लेषण गर्छ, जसमा कानुन, सामाजिक नीति, विदेश नीति, वित्त नीति र विज्ञान पर्छन्।

सीआरएसमा आर्थिक वर्ष २०२६ मा झन्डै ६ सय कर्मचारी कार्यरत छन्। ७ हजारभन्दा धेरै सीआरएस रिपोर्टका पीडीएफ सार्वजनिक रूपमा उपलब्ध छन्, जसलाई यहाँ हेर्न सकिन्छ ।  यसले विगतमा सार्वजनिक भएका धेरै रिपोर्टहरू पनि अन्य वेबसाइट र डाटाबेसमार्फत हेर्न सकिन्छ।

अमेरिकी कंग्रेसको आदेशमा सीआरएसले यी दस्तावेज तयार गर्छ। ‘सीआरएसले कंग्रेस सदस्यहरूलाई दिएका सूचनाबारे सर्वसाधारणले सरल रूपमा बुझ्न सकून् भन्ने उद्देश्यले यो रिपोर्ट तयार गरिएको हुन्छ। यसबाहेक अन्य प्रयोजनका लागि सर्वसाधारणले यस रिपोर्टको भर पर्न हुँदैन,’ सीआरएसको डिस्क्लेमरमा लेखिएको छ।

नेपाल सन्दर्भको रिपोर्ट तयार पार्ने मारिया ए. ब्ल्याकउड सीआरएसकी एसिया नीति विश्लेषक हुन्। उनको विशेषज्ञता मध्य एसियाबारे छ। उनले यस क्षेत्रबारे सीआरएसका लागि धेरै रिपोर्ट तयार गरिसकेकी छन्। रुस युद्धको प्रभाव, उज्बेकिस्तानको विकास, अमेरिका–काजकिस्तान सम्बन्ध, किर्गिजस्तान, तुर्कमेनिस्तानलगायत देशबारे उनले विभिन्न रिपोर्टहरू तयार गरेकी छन्। यी रिपोर्टहरू लाइब्रेरी अफ कंग्रेसमा गएर हेर्न सकिन्छ।

बंगलादेशको संसदीय चुनाव, मंगोलियाको चुनाव, किर्गिज गणतन्त्रको चुनाव तथा भुटानबारे पनि उनले रिपोर्ट तयार गरेकी छन्। सीआरएसमा विश्लेषक बन्नुअघि उनले हार्वार्ड विश्वविद्यालयबाट इतिहासमा पीएचडी गरेकी थिइन्।

अन्वेषण

Link copied successfully