ढोरपाटनमा पहिलोपटक हुँदै छ हिउँचितुवा गणना

यस आरक्षको ४ हजार मिटरदेखि ७ हजार मिटरभन्दा माथिसम्म हिउँचितुवाको बासस्थान रहेको छ ।

वैशाख १, २०८३

रासस

Snow leopard census underway for the first time in Dhorpatan

What you should know

गलकोट (बागलुङ) — नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँचितुवा गणना गरिने भएको छ । 

नाउर र झारलको वैधानिक सिकार गरिने ढोरपाटन सिकार आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि हालसम्म गणना गरिएको थिएन । हिउँचितुवा गणनाका लागि गणकलाई तालिम दिने तयारी गरिएको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिए । 

सुवेदीका अनुसार गणनामा आरक्षका कर्मचारी, तालिम प्राप्त गणक तथा स्थानीयको सहभागिता रहनेछ । हिउँचितुवा गणनाका लागि उच्च पहाडी भेगमा रहेका सिकार ब्लकमा ५६ क्यामरा जडान गरिनेछ । 'पहिलोपटक हिउँचितुवाको अवस्था पत्ता लगाउन लागेका छौं, करिब १० जना गणकले ४५ दिनसम्म क्यामेरा राख्दै, प्रत्यक्ष फोटो तथा भिडियो खिच्दै र चितुवाको पाइला तथा दिसा संकलन गर्नेछन्,' उनले भने, 'क्यामेराले कैद गरेका तस्बिर र अन्य स्थलगत प्रमाणका आधारमा हिउँचितुवाको संख्या पत्ता लाग्छ ।' आगामी वर्ष भने यहाँका नाउर र झारल गणना गरिने उनले बताए ।

यस आरक्षको ४ हजार मिटरदेखि ७ हजार मिटरभन्दा माथिसम्म हिउँचितुवाको बासस्थान रहेको छ । एक हजार ३२५ वर्ग किमि क्षेत्रफलमा फेलिएको आरक्षको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ । आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँचितुवा गणना गर्ने तयारी आरक्षले गरेको छ । 

रेन्जर सुवेदीका अनुसार हिउँचितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ । हिउँचितुवाको दिसा संकलन गरेर प्रयोगशालामा परीक्षण गरिने र  पदचाप तथा संकेत सर्वेक्षण पाइलाका आधारमा समेत गणना गरिने जनाइएको छ । 

यस आरक्षमा २०७९ सालको गणनाअनुसार एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । 

रासस

Link copied successfully