‘जता गए पनि आखिर दुःखै गर्ने त हो,’ गोविन्दले भने, ‘इन्डियामा अरूको गेट कुरेर बस्नुभन्दा आफ्नो ठाउँमा पसिना बगाउँदा ढुक्कले निद्रा लाग्दो रहेछ ।’
What you should know
अछाम — मध्यपहाडी राजमार्गको छेउमा साबेल, कोदालो र बेल्चा चलाउँदै गरेकी पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानकी ४३ वर्षीया मनसरा शाहीको निधारबाट पसिनाका धारा चुहिरहेका छन् ।
छेवैमा उनका श्रीमान ४५ वर्षीय गोविन्द शाही पनि नेपाल टेलिकमको एनटी फाइबर बिछ्याउन खाडल खन्न व्यस्त छन् । चर्को घाम, धुलाम्मे सडक र हातमा ठेला भए पनि यी दम्पतीको अनुहारमा सन्तोष देखिन्छ ।
वर्षौंको परदेशको दुःखपछि आफ्नै ठाउँमा उभिएर परिवारसँगै बस्न पाउँदा शाही दम्पती खुसी देखिन्छन् । ‘जता गए पनि आखिर दुःखै गर्ने त हो,’ गोविन्दले भने, ‘इन्डियामा अरूको गेट कुरेर बस्नुभन्दा आफ्नो ठाउँमा पसिना बगाउँदा ढुक्कले निद्रा लाग्दो रहेछ ।’
गोविन्दले जीवनको ऊर्जावान समय भारतका विभिन्न सहरमा बिताए । उनी पहिलोपटक १७ वर्षको उमेरमा काम खोज्दै भारत गएका थिए । घरमा श्रीमती र स–साना छोराछोरी छाडेर कहिले होटलका जुठा भाँडा माँझ्ने त कहिले रातभर जागराम बसेर चौकीदारी गरे । परदेशमा नेपालीले भोग्ने सास्ती र अपमानका कथा उनीसँग थुप्रै छन् । ‘त्यहाँ नेपाली भन्नेबित्तिकै होटेलको काम गर्ने वा गेटपाले सम्झिन्छन्,’ गोविन्द सम्झिन्छन्, ‘दिनभरि काम गर्दा पनि साहुको कचकच सुन्नुपर्ने, बिरामी हुँदा सोध्ने कोही हुँदैन । तर, त्यही ठाउँमा जानुपर्ने बाध्यता छ ।’
लामो समयको परदेश बसाईंपछि उनी आफ्नै गाउँमा फर्किएका छन् । अहिले शाही दम्पती गाउँकै अन्य महिला र पुरुषहरूसँगै मध्यपहाडी राजमार्गमा मजदूरी गरिरहेका छन् । उनीहरूले दैनिक ६५० रुपैयाँ ज्याला पाउँछन् । ‘यो पैसा ठूलो नभए पनि साँझ–बिहान परिवारसँगै बस्न पाइएको छ । खुसी यही हो,’ गोविन्दले भने, ‘विदेशको चौकीदारीभन्दा स्वदेशकै पसिना प्यारो हुँदो रहेछ ।’
उनीहरूका २ सन्तान छन् । छोरी ११ कक्षामा र छोरा ४ कक्षामा पढ्छन् । आफूहरू अशिक्षित भएकै कारण जीवनभर दुःख भोग्नु परेको बुझाइ मनसराको छ । त्यसैले पनि उनी सन्तानलाई आफू जस्तै मजदुर बनाउन चाहन्नन् । ‘मैले जस्तो दुःख छोरीले भोग्न नपरोस् । छोराछोरीे पढेर ठूलो मान्छे बनुन भन्ने धोको छ,’ मनसराले भनिन्, ‘हाम्रो त जिन्दगी यसरी नै बित्यो, छोराछोरीको भविष्य उज्ज्वल बनाउन यो दुःख गरिरहेका छौं ।,’
अछामका धेरैजसो पुरुषहरू अझै पनि कमाइका लागि भारत जाने गर्छन् । गाउँमै सञ्चालित विकास निर्माणका योजनाहरूको काम सधैं नपाइने गरेकोमा भने उनी चिन्तित छन् । ‘गाउँमा सधैं काम पाइँदैन भन्ने चिन्ता पनि उत्तिकै छ । यहाँ काम नपाए त फेरि इन्डिया जानुको विकल्प छैन,’ गोविन्दले भने, ‘जबसम्म आफ्नै ठाउँमा काम पाइन्छ, तबसम्म परदेश नपस्ने सोच बनाएको छु । कामै पाइएन भने त जानै पर्यो ।’
अहिले एनटी फाइबरको कामले गर्दा गाउँका धेरै महिलाले पनि ज्याला मजदुरीको अवसर पाएका छन् । भारतमा रहँदा नेपाली चौकीदारको पहिचान बनाएका गोविन्द अहिले आफ्नै गाउँको विकासमा जोडिन पाउँदा खुसी छन् । ‘पैसा त इन्डियामा अलि बढी पनि होला तर त्यहाँ आफ्नोपन र परिवार हुँदैन,’ गोविन्दले थपे, ‘यता ६५० कमाइ भए पनि परिवारसँगै बस्न पाइन्छ । यो खुसी पैसाले किन्न सकिँदैन ।’
लामो समय भारतमा विभिन्न स्थानमा काम गरेर फर्केका गोविन्द प्रतिनिधि पात्र मात्रै हुन् । अन्तर्राष्ट्रिय माइग्रेसन संगठन (आइओएम)को तथ्यांकअनुसार, सुदूरपश्चिम प्रदेशका जिल्लाहरूबाट भारतमा रोजगारीका लागि सबैभन्दा धेरै मानिस गएका छन् । अछामबाट भारतका लागि रोजगारीतर्फ सरेको अनुमानित संख्या ७३ हजार ३४६ रहेको तथ्यांक छ । यसले सुदूरपश्चिमका जिल्लामध्ये भारततर्फ सर्ने सर्वाधिक अछामबाटै छन् ।
यद्यपि, भारतसँगके खुला सीमा र अधिकांश मानिस अनौपचारिक रूपमा दैनिक/मासिक कामका लागि आवतजावत गर्ने भएकाले आधिकारिक तथ्यांक उपलब्ध हुन कठिनाइ रहेको विशेषज्ञहरूले बताउँछन् । हरेक वर्ष भारततर्फ सिजनल कामदारको ठूलो संख्या सर्ने प्रवृत्ति रहेको अध्ययनहरूले उल्लेख गरेका छन् । भारत जाने धेरै कामदारहरू कृषि, निर्माण र सेवा क्षेत्रमा कार्यरत छन् र अधिकांश पुरुष श्रमिक छन् ।
