कामकै लागि अब भारत जान चाहँदैनन् गोविन्द

‘जता गए पनि आखिर दुःखै गर्ने त हो,’ गोविन्दले भने, ‘इन्डियामा अरूको गेट कुरेर बस्नुभन्दा आफ्नो ठाउँमा पसिना बगाउँदा ढुक्कले निद्रा लाग्दो रहेछ ।’

चैत्र २९, २०८२

मेनुका ढुंगाना

Govinda no longer wants to go to India for work.

What you should know

अछाम — मध्यपहाडी राजमार्गको छेउमा साबेल, कोदालो र बेल्चा चलाउँदै गरेकी पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानकी ४३ वर्षीया मनसरा शाहीको निधारबाट पसिनाका धारा चुहिरहेका छन् ।

छेवैमा उनका श्रीमान ४५ वर्षीय गोविन्द शाही पनि नेपाल टेलिकमको एनटी फाइबर बिछ्याउन खाडल खन्न व्यस्त छन् । चर्को घाम, धुलाम्मे सडक र हातमा ठेला भए पनि यी दम्पतीको अनुहारमा सन्तोष देखिन्छ ।

वर्षौंको परदेशको दुःखपछि आफ्नै ठाउँमा उभिएर परिवारसँगै बस्न पाउँदा शाही दम्पती खुसी देखिन्छन् । ‘जता गए पनि आखिर दुःखै गर्ने त हो,’ गोविन्दले भने, ‘इन्डियामा अरूको गेट कुरेर बस्नुभन्दा आफ्नो ठाउँमा पसिना बगाउँदा ढुक्कले निद्रा लाग्दो रहेछ ।’

गोविन्दले जीवनको ऊर्जावान समय भारतका विभिन्न सहरमा बिताए । उनी पहिलोपटक १७ वर्षको उमेरमा काम खोज्दै भारत गएका थिए । घरमा श्रीमती र स–साना छोराछोरी छाडेर कहिले होटलका जुठा भाँडा माँझ्ने त कहिले रातभर जागराम बसेर चौकीदारी गरे । परदेशमा नेपालीले भोग्ने सास्ती र अपमानका कथा उनीसँग थुप्रै छन् । ‘त्यहाँ नेपाली भन्नेबित्तिकै होटेलको काम गर्ने वा गेटपाले सम्झिन्छन्,’ गोविन्द सम्झिन्छन्, ‘दिनभरि काम गर्दा पनि साहुको कचकच सुन्नुपर्ने, बिरामी हुँदा सोध्ने कोही हुँदैन । तर, त्यही ठाउँमा जानुपर्ने बाध्यता छ ।’

लामो समयको परदेश बसाईंपछि उनी आफ्नै गाउँमा फर्किएका छन् । अहिले शाही दम्पती गाउँकै अन्य महिला र पुरुषहरूसँगै मध्यपहाडी राजमार्गमा मजदूरी गरिरहेका छन् । उनीहरूले दैनिक ६५० रुपैयाँ ज्याला पाउँछन् । ‘यो पैसा ठूलो नभए पनि साँझ–बिहान परिवारसँगै बस्न पाइएको छ । खुसी यही हो,’ गोविन्दले भने, ‘विदेशको चौकीदारीभन्दा स्वदेशकै पसिना प्यारो हुँदो रहेछ ।’

उनीहरूका २ सन्तान छन् । छोरी ११ कक्षामा र छोरा ४ कक्षामा पढ्छन् । आफूहरू अशिक्षित भएकै कारण जीवनभर दुःख भोग्नु परेको बुझाइ मनसराको छ । त्यसैले पनि उनी सन्तानलाई आफू जस्तै मजदुर बनाउन चाहन्नन् । ‘मैले जस्तो दुःख छोरीले भोग्न नपरोस् । छोराछोरीे पढेर ठूलो मान्छे बनुन भन्ने धोको छ,’ मनसराले भनिन्, ‘हाम्रो त जिन्दगी यसरी नै बित्यो, छोराछोरीको भविष्य उज्ज्वल बनाउन यो दुःख गरिरहेका छौं ।,’

अछामका धेरैजसो पुरुषहरू अझै पनि कमाइका लागि भारत जाने गर्छन् । गाउँमै सञ्चालित विकास निर्माणका योजनाहरूको काम सधैं नपाइने गरेकोमा भने उनी चिन्तित छन् । ‘गाउँमा सधैं काम पाइँदैन भन्ने चिन्ता पनि उत्तिकै छ । यहाँ काम नपाए त फेरि इन्डिया जानुको विकल्प छैन,’ गोविन्दले भने, ‘जबसम्म आफ्नै ठाउँमा काम पाइन्छ, तबसम्म परदेश नपस्ने सोच बनाएको छु । कामै पाइएन भने त जानै पर्यो ।’

अहिले एनटी फाइबरको कामले गर्दा गाउँका धेरै महिलाले पनि ज्याला मजदुरीको अवसर पाएका छन् । भारतमा रहँदा नेपाली चौकीदारको पहिचान बनाएका गोविन्द अहिले आफ्नै गाउँको विकासमा जोडिन पाउँदा खुसी छन् । ‘पैसा त इन्डियामा अलि बढी पनि होला तर त्यहाँ आफ्नोपन र परिवार हुँदैन,’ गोविन्दले थपे, ‘यता ६५० कमाइ भए पनि परिवारसँगै बस्न पाइन्छ । यो खुसी पैसाले किन्न सकिँदैन ।’

लामो समय भारतमा विभिन्न स्थानमा काम गरेर फर्केका गोविन्द प्रतिनिधि पात्र मात्रै हुन् । अन्तर्राष्ट्रिय माइग्रेसन संगठन (आइओएम)को तथ्यांकअनुसार, सुदूरपश्चिम प्रदेशका जिल्लाहरूबाट भारतमा रोजगारीका लागि सबैभन्दा धेरै मानिस गएका छन् । अछामबाट भारतका लागि रोजगारीतर्फ सरेको अनुमानित संख्या ७३ हजार ३४६ रहेको तथ्यांक छ । यसले सुदूरपश्चिमका जिल्लामध्ये भारततर्फ सर्ने सर्वाधिक अछामबाटै छन् । 

यद्यपि, भारतसँगके खुला सीमा र अधिकांश मानिस अनौपचारिक रूपमा दैनिक/मासिक कामका लागि आवतजावत गर्ने भएकाले आधिकारिक तथ्यांक उपलब्ध हुन कठिनाइ रहेको विशेषज्ञहरूले बताउँछन् । हरेक वर्ष भारततर्फ सिजनल कामदारको ठूलो संख्या सर्ने प्रवृत्ति रहेको अध्ययनहरूले उल्लेख गरेका छन् । भारत जाने धेरै कामदारहरू कृषि, निर्माण र सेवा क्षेत्रमा कार्यरत छन् र अधिकांश पुरुष श्रमिक छन् ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully