अपाङ्गता सशक्तिकरणका लागि च्यारिटी गल्फ प्रतियोगिता घोषणा

‘सक्षमता विकास समाज नेपाल’ ले आफ्नो वार्षिक कोष संकलन कार्यक्रम अन्तर्गत १० औं ‘हामी सबै सक्षम छौं’ च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

चैत्र २९, २०८२

प्रकृति दाहाल

Charity golf tournament announced for disability empowerment

काठमाडौँ — अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि काम गर्दै आएको ‘सक्षमता विकास समाज नेपाल’ ले आफ्नो वार्षिक कोष संकलन कार्यक्रम अन्तर्गत १० औं ‘हामी सबै सक्षम छौं’ च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । 

संस्थाले बिहीबार एक सूचना जारी गर्दै उक्त प्रतियोगिता २०८३ जेठ ९ गते शनिबार (मे २३, २०२६) का दिन काठमाडौंस्थित गोकर्ण गल्फ क्लब मा आयोजना हुने जानकारी दिएको हो । संस्थाको जनसम्पर्क तथा कोष बिकास ब्यवस्थापक निर्मला ज्ञवालीका अनुशार कार्यक्रम मार्फत संस्थाले अपाङ्गता भएका व्यक्तिहरूको समावेशी शिक्षा, पुनर्स्थापना तथा जीविकोपार्जनका अवसर विस्तार गर्दै सशक्तीकरण अभियानलाई थप मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ ।

संस्थाले गल्फ खेलाडीहरू, कर्पोरेट क्षेत्र, विकास साझेदार संस्था, शुभेच्छुक तथा सरोकारवालाहरूलाई अभियानमा सहभागी हुन आहृवान गरेको निर्मलाले जानकारी दिइन् । 

संस्था २०१४ मा स्थापना भएदेखि नै सक्षमता विकास समाज नेपालले विपन्न बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्न शिक्षा, सीप विकास, दिगो जीविकोपार्जन तथा सामाजिक समावेशीकरणका क्षेत्रमा काम गर्दै आएको छ ।  

यस वर्षको प्रतियोगिताले जैविक खेती, व्यवसायिक तालिम जस्ता सीपमार्फत अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र सम्मानजनक जीवनयापनतर्फ अग्रसर गराउने लक्ष्य राखेको निर्मलाले बताइन् ।  

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully