कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा हिमपातको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ ।

चैत्र २८, २०८२

रासस

Snowfall likely in mountainous regions of Koshi, Gandaki, Karnali and Sudurpaschim

काठमाडौँ — हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरी चल्ने पूर्वानुमान छ । 

यसैगरी, आज राति देशका हिमाली भू–भागमा साधारणतया बदली हुने पहाडी इलाकामा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही र कोशी तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

रासस

Link copied successfully