शुक्लाफाँटा र बर्दियाबाट कृष्णसार चितवन स्थानान्तरण गरिँदै

निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चार वर्षअघि कृष्णसार स्थानान्तरणका लागि सम्भाव्यता अध्ययन गरेको थियो ।

चैत्र २८, २०८२

भवानी भट्ट

Krishnasar being transferred from Shuklaphanta and Bardiya to Chitwan

What you should know

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा रहेका कृष्णसारलाई स्थानान्तरण गरिने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विगतदेखि गरिरहेको अध्ययनका आधारमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरसँगै बर्दियाको खैरापुर क्षेत्रबाट चितवनको बराण्डाभार करिडोरमा पर्ने टिकौली क्षेत्रको वनमा कृष्णसार स्थानान्तरण गरिन लागेको हो । 

निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चार वर्षअघि कृष्णसार स्थानान्तरणका लागि सम्भाव्यता अध्ययन गरेको थियो । यसका लागि चितवनको बरण्डाभार वन संरक्षण क्षेत्रको पञ्चकन्या सामुदायिक वनमा स्थानान्तरण गर्ने गरी अध्ययन गरिएको थियो । 

पछिल्लो पटक यसैसाता मन्त्रीस्तरबाट पनि कृष्णसार स्थानान्तरणको निर्णय भएकाले अब कार्ययोजना बनाएर स्थानान्तरण गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले बताए । ‘मन्त्रीस्तरबाट निर्णय भएको छ, विगतमा भएको अध्ययनका आधारमा अब स्थानान्तरण गर्ने गरी काम अगाडी बढ्नेछ,’ उनले भने, ‘आवश्यक सबै तयारी पूरा गरेर उपयुक्त समयमा स्थानान्तरण गरिनेछ ।’

हिरापुर र खैरापुरबाट ६ भाले र १२ पोथी गरी १८ वटा कृष्णसार स्थानान्तरण गरिनेछ । ‘कहाँबाट कति लैजाने भन्ने अहिले नै निर्णय भइसकेको छैन, सबै कुरा अध्ययन गरेर निर्णय गरिनेछ,’ विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले भने, ‘प्रजाति संरक्षणका लागि वन्यजन्तुको स्थानान्तरण उपयुक्त रणनीति हो, कुनै ठाउँमा महामारी वा अन्य विपद् आउँदा कुनै प्रजाति एकै पटक लोप हुन सक्छ, अन्यत्र पनि त्यसको संरक्षण गर्न सके लोप हुनबाट जोगाउन सकिन्छ ।’

उनले वन्यजन्तु संरक्षणका लागि अहिले गर्मी सिजन भन्दा पनि हिउँद उपयुक्त हुने बताए । ‘अहिले बाहिरी तापक्रम पनि बढी हुनछ, त्यसैमाथि नियन्त्रणमा लिने बेला पनि अकस्मात तापक्रम बढ्छ,’ उनले भने, ‘फेरि लामो दुरीमा यस्तो बेला यात्रा गर्न पनि निकै गर्मी हुन्छ, यसकारण हिउँदकै सिजन राम्रो हुन्छ ।’ उनले अहिले नै स्थानान्तरण गर्दा गर्मी कम भएको समय हेरिने बताए । 

चितवनको बराण्डाभार वन संरक्षित क्षेत्रको खजेरी खोला किनारको घाँसे मैदानमा १९ दशमलव ६ हेक्टर क्षेत्रमा तारबारले घेरेर इन्क्लोजर बनाइएको छ । सोही क्षेत्रमा शुक्लाफाँटाको हिरापुर र बर्दियाको खैरापुरबाट लगिएको कृष्णसार राखिनेछ ।

उक्त क्षेत्रमा घाँसे मैदान व्यवस्थापनदेखि पानीको स्रोतको व्यवस्थापन र विगतमै निर्माण गरिएको इन्क्लोजरलाई मर्मत गर्ने काम तत्काल सुरु गरिने डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु आचार्यले बताए । आचार्यका अनुसार रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा कृष्णसार स्थानान्तरणको काम भइरहेको हो । वैशाख अन्तिमसम्म स्थानान्तरण गर्ने गरी काम भइरहेको उनले बताए । 

२०७० मा बर्दियाको खैरापुर र नेपालगञ्जको चिडियाखानाबाट ४२ कष्णसार शुक्लाफाँटाको हिरापुर फाँटामा स्थानान्तरण गरिएको थियो । १ सय हाराहारी कृष्णसार राख्नेगरी निर्माण गरिएको ५८ हेक्टरको इन्क्लोजरमा अहिले करिब ३ सय हारहारी कृष्णसार रहेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले विगतदेखि नै कृष्णसारको व्यवस्थापनका लागि कार्ययोजना बनाउदै आएको छ । प्राकृतिक बासस्थानमा छाडने वा अन्त कतै स्थानान्तरण गर्ने विषयमा बेलाबेलामा छलफल हुँदै आएको थियो। ‘संख्या निकै राम्रो भएकाले व्यवस्थापनका विषयमा चुनौती थपिएको थियो,’ निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘हामीले व्यवस्थापन योजना पनि बनाएका थियौं, विभागमा प्रस्ताव गरेका थियौं ।’  

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully