पोखरामा महिला हत्या प्रकरण: सम्पत्ति विवादले उजाडियो परिवार, बकसपत्रले पुर्‍यायो हत्यासम्म

माइजु सिर्जना पौडेलको हत्या आरोपमा भान्जा र उनका सहयोगी पक्राउ परेका हुन् ।

चैत्र २७, २०८२

दीपक परियार

Pokhara woman murder case: Property dispute tears apart family, bribery leads to murder

What you should know

पोखरा — तीन वर्षीया अबोध छोरीलाई घरमा राखेर बिहानै पसल खोल्न निस्कनु र साँझ अबेर सटर बन्द गरेर फर्कनु पोखराकी सिर्जना पौडेल केसीको नियमित दैनिकी थियो । श्रीमान् गुमाएपछि एक्लो जीवन र सन्तानको भविष्यका लागि संघर्ष गरिरहेकी ४२ वर्षीया सिर्जनाको त्यो संघर्षमय यात्रा २५ चैतको साँझ ७ः१५ बजे पोखराको सभागृह चोकमा विभत्स ढंगले टुंगियो । आफ्नै माइजुको हत्या गर्न खुँडा उध्याएर कुरिरहेका भान्जाको प्रहारले पोखराको मध्यबजार रक्ताम्मे मात्र भएन, एउटा परिवारभित्रको सम्पत्ति विवाद र प्रतिशोधको पराकाष्ठा समेत उजागर गरिदियो ।

तीन दशकअघि पर्वतबाट पोखरा झेरेर खसीको भुटुवा घर सञ्चालन गरेका कृष्ण क्षेत्रीले मालेपाटनमा खसीको मासु र परिकार बेचेरै पोखरामा मनग्गे सम्पत्ति जोडे । ‘खसी किस्ने’ भनेरै आफ्नो परिचय बनाए । ११ वर्षअघि उनको जेठी श्रीमतीले विष सेवन गरी आत्महत्या गरिन् । श्रीमतीको मृत्युपछि सिर्जना पौडेलसँग उनको प्रेम सम्बन्ध भयो । कास्कीको रुपा गाउँपालिका–१ स्यास्त्रीकी सिर्जना पनि पतिसँग सम्बन्ध विच्छेद गरी माइतीमा बस्दै आएकी थिइन् । १५ वर्षको उमेरमै विवाह गरेकी उनको हाल २६ वर्षीया छोरी र २४ वर्षीय छोरा पूर्व श्रीमान्सँगै बस्छन् । 

कृष्णको श्रीमती बितेको र सिर्जनाको सम्बन्ध विच्छेद भएकोले दुवैतर्फका परिवारको सहमतिमा विवाह भएको थियो । कृष्णको जेठी श्रीमतीतर्फ दुई छोरी र एक छोरा छन् । सिर्जनाले ४ वर्षअघि छोरी जन्माइन् । जेठी श्रीमतीका छोरा छोरी र सिर्जनाको उतिसारो मिल्ती थिएन । झगडा र भनाभन परिरहन्थ्यो । १५ भदौ ०८० मा कृष्णको पनि निधन भयो । ‘पेट दुख्यो’ भनेर अस्पताल पुर्‍याइएका उनको पाँचौं दिनमा निधन भएको थियो । 

कृष्णको काजकिरिया गरेर उम्कने १३ औं दिनमै घरमा ठूलो झगडा भयो । जेठीपट्टिका छोरा गौरव केसीले सिर्जनालाई मार्ने धम्की दिएको सिर्जनाका दाइ केशवराज पौडेलले सुनाए । परिवारमा विवाद झनै बढ्यो जब कृष्णले आफ्नो सम्पत्ति शेषपछिको बकस गरेर जेठीपट्टिका छोरी शान्ति र छोरा गौरव केसीको नाममा गरेको पत्ता लाग्यो । कृष्णले जिरोकिलोमिटरमा रहेको ५ आनामा बनेको साढे दुई तले घर र मालेपाटनमा रहेको १७ आना जग्गा शान्ति र गौरवको नाममा शेषपछिको कागज गरेको खुल्यो । कान्छी छोरी ज्योति केसी भने विवाह गरेर गइसकेकोले उनको नाममा शेषपछिको बकस थिएन । 

Pokhara woman murder case: Property dispute tears apart family, bribery leads to murder

लेकसाइड नजिकै सेदीमा रहेको ७ आना जग्गा कृष्णले आफ्नो मृत्यु अघि नै आमा तुल्सी क्षेत्रीको नाममा नामसारी गरेको र विरौटाको १३ आना जग्गा भने बैंकमा धितो रहेको सिर्जनाले थाहा पाइन् । श्रीमान्को मृत्युपछि सिर्जना आफ्नी छोरीसहित सेदीको जग्गामा रहेको कच्ची घरमा बस्दै आएकी थिइन् । पृथ्वीचोकमा सटर भाडामा लिएर जुत्ता पसल चलाउँथिन् । ‘उम्किएको भोलिपल्ट मृत्यु दर्ता गरेर पर्सिपल्ट मालपोतबाट जग्गा पास भइसकेको रहेछ,’ सिर्जनाका दाइ केशवराजले भने, ‘ज्वाइको मृत्यु दर्ता लिन वडा नम्बर ५ को कार्यालय जाँदा यो सबै कुरा थाहा भयो ।’ 

त्यसको एक महिनापछि सिर्जनाले कास्की जिल्ला अदालतमा शेषपछिको बकसको बदर माग गर्दै अशंक मुद्दा हालिन् । कास्की अदालतले शेष पछिको बकस बदर हुने र सबै सम्पत्ति तीन भाग लाग्ने फैसला गर्‍यो । यस्तो फैसला हुँदा सिर्जनाले कृष्णको भागबाट फेरी जेठीतर्फका छोरा, छोरी र आफू गरी अर्को तीन भागको एक भाग मात्रै पाउँथिन् । पोखरामा रहेका घरजग्गा र पर्वतको झण्डै डेढ सय रोपनी जग्गा कृष्ण, उनकी आमा र बुबा गरी तीन भागमा बाँड्ने कास्की अदालतको फैसलाविरुद्ध सिर्जनाले उच्च अदालत पोखरामा पुनरावेदन गरिन् । सम्पूर्ण सम्पत्ति कृष्णका बुबा, आमा, जेठीतर्फका एक छोरा, एक छोरी, आफू र आफ्नो ४ वर्षीया छोरी गरी ६ भाग लगाउनुपर्ने उनको माग थियो । उच्चले त्यसो गर्न नमिल्ने भन्दै जिल्ला अदालतकै फैसला सदर गर्‍यो । ‘बहिनी सर्वोच्च जाने तयारीमा थिइन्, यही बेला यस्तो घटना भयो,’ केशवराजले भने, ‘यही बेलामा अर्को पात्र खडा गरेर हत्या गरियो ।’

जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको ४८ घण्टाभित्रै दुई अभियुक्तलाई पक्राउ गरेपछि खुलेका तथ्यहरूले यो हत्या क्षणिक आवेग नभई निकै सूक्ष्म ढंगले बुनिएको ‘डेथ ट्र्याप’ भएको पुष्टि गर्छ । कास्की जिल्ला अदालतबाट बकसपत्र सम्बन्धी मुद्दामा सिर्जनाकै पक्षमा भएको फैसलाले पारिवारिक बेमेलमा थप तनाव थपेको र अन्ततः हत्यासम्म पुगेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ । सिर्जनालाई खुँडा प्रहार गर्ने उनका भान्जा सन्तोष भनिने शिशिर केसी र सहयोगी कुशल परियारलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार दुई जनाले दिउँसैदेखि सिर्जनाको पृथ्वीचोकस्थित जुत्ता पसल अगाडि बसेर रेकी गरेका थिए । पसल बन्द गरी पैदल फर्कँदै गर्दा स्कुटरमा पिछा गरेका उनीहरूले सभागृहचोकबाट शिवालय चोकतर्फ जाने बाटोको दाहिनेपट्टि पसलका सटहरु बन्द भएको र कम उज्यालो भएको ठाउँ रोजे । स्कुटरबाट झरेर शिशिरले माइजुलाई पछाडिबाट टाउकोमै खुँडा प्रहार गरे । तत्कालै कुशलले चलाएको स्कुटरमा बसेर शिवालयचोकतर्फ हुँइकिए । गिदी नै निस्कने गरी भएको उक्त प्रहार लगत्तै सिर्जनालाई गण्डकी मेडिकल कलेज पुर्‍याइए पनि राति ८ः१८ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Pokhara woman murder case: Property dispute tears apart family, bribery leads to murder

हत्यामा संलग्न मुख्य अभियुक्त २७ वर्षीय शिशिर मृतक सिर्जनाकै नाता पर्ने भान्जा हुन् । उनलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो भने स्कुटर चालक ३२ वर्षीय कुशल परियारलाई लेकसाइडबाटै पक्राउ गरेको हो । शिशिरले बयानमा माइजुले हेपेर, होच्याएर बोलेका कारण पहिलदेखि नै हत्या गर्ने योजना बनाएको प्रहरी समक्ष प्रारम्भिक बयानमा बताएका छन् । उनको दाबीलाई प्रहरीले पत्याएको छैन । बरु, कारागारमा रहेका सौतेनी छोरा गौरव र परिवारका अन्य सदस्यको उक्साहट र योजनामा यो हत्या भएको हुनसक्ने कोणबाट अनुसन्धान सोझ्याइएको छ । 

कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै प्राविधिक र मानवीय दुवै पक्षबाट अनुसन्धान भइरहेको बताएका छन् । ‘प्रारम्भिक अनुसन्धानले यो हत्या नितान्त पारिवारिक विवाद र सम्पत्तिको खिचातानीमा केन्द्रित रहेको देखाउँछ,’ उनले भने, ‘घटनामा संलग्न मुख्य व्यक्तिहरू पक्राउ परिसकेका छन् र अब यसको त्यान्द्रो कहाँसम्म जोडिएको छ भन्नेबारे हामी गहिराइमा पुग्दैछौं ।’

उनीहरूले मास्क र हेल्मेट लगाई स्कुटरको नम्बर प्लेट समेत छोपेर घटनास्थल आएको, शिशिरले हातमा बोराले बेरिएको अवस्थामा खुँडा बोकेर घटनास्थलतर्फ हिँडेको दृश्य सीसीटीभी फुटेजमा कैद भएको छ । ‘हत्या गरिसकेपछि पोखराबाट पर्वत पुगेर त्यहाँबाट सार्वजनिक यातायात प्रयोग गरेर बुटवलतर्फ गएको देखियो,’ एसपी कार्कीले भने, ‘भारत जाने योजना हुनसक्छ ।’ उनलाई कसैले सिर्जनाको हत्या गर्न ‘सुपारी’ दिएको अहिलेसम्मको अनुसन्धानमा पुष्टि नभइसकेको र त्यस विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जानकारी उनले दिए । भने, ‘परिवारका सदस्यले भगाउन सहयोग गरेका छन् । त्यस सम्बन्धमा अनुसन्धान गर्दैछौं ।’ 

अहिले सबैभन्दा गम्भीर प्रश्न जिल्ला कारागार कास्कीमा लागू औषध मुद्दामा थुनामा रहेका सौतेनी छोरा गौरवको भूमिकामाथि उठेको छ । सिर्जनाका दाइ केशवराज पौडेल कारागारभित्रैबाट हत्याको योजना बुनिएको र परिवारकै संलग्नता रहेको दाबी गर्छन् । आफ्ना ज्वाइँ कृष्णको मृत्यु पनि शंकास्पद रहेको उनी बताउँछन् । ‘मेरो बहिनीको हत्या भएको छ । अब ४ वर्षीया भान्जीको सुरक्षाको विषयलाई लिएर हामी चिन्तित छौं,’ उनले भने, ‘म संरक्षक बनेर भए पनि सर्वोच्चमा भान्जीको अधिकारको लागि मुद्दा दायर गर्छु ।’ कृष्णका जेठीपट्टिका छोराछोरीले भने बुबाको सिर्जनासँगको सम्बन्धका कारण आफ्नी आमाले आत्महत्या गरेको आरोप लगाउँदै आएका छन् । 

पक्राउ परेका दुई अभियुक्तमध्ये मुख्य अभियुक्त शिशिर केसी पर्वतको कुश्मा नगरपालिका–११ शिल्मी घर भई हाल लेकसाइडमा डेरा गरी बस्दै आएका थिए । उनलाई शुक्रबार रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ मनकामना टोलबाट पक्राउ गरिएको हो । उनको पृष्ठभूमि उल्लेखनीय रूपमा आपराधिक रहेको छ । उनीमाथि अभद्र व्यवहार मुद्दा र दुईपल्ट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दा दर्ता भएका थिए । मतियारका रूपमा पक्राउ परेका कुशल परियार पोखर–१७ रातोपैह्रोका हुन् । उनीमाथि पनि २०७५ र २०७६ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा लागु औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता भएका थिए । 

घटनाको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय बैदाम कास्कीका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालयको टोलीले तत्काल घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो । त्यसपश्चात गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीसमेतको संयुक्त अनुसन्धान टोली गठन गरी विभिन्न अनुसन्धान विधिबाट प्रमाण संकलन गरिएको थियो । घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा–७ मुस्ताङ चोकबाट बरामद भएको छ । दुवै अभियुक्तमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully