देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारीपछिका प्रक्रिया के हुन ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

विदेशमा भएका बेला पक्राउ पुर्जी जारी गर्नुको अर्थ के हो ? अब देउवा दम्पतीविरुद्ध अनुसन्धान कसरी अगाडि बढ्छ ? र उनीहरूलाई नेपाल ल्याउन के गर्नुपर्छ ? यो विषयमा पाँच प्रश्नोत्तरमार्फत् बुझौं ।

चैत्र २६, २०८२

कृष्ण बहाब

What are the procedures after the issuance of an arrest warrant against the Deuba couple? Understand in five questions and answers

What you should know

काठमाडौँ — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । वालेन्द्र शाह नेतृत्वमा आएपछि पूर्वप्रधानमन्त्रीका नाममा जारी भएको दोस्रो पक्राउ पुर्जी हो यो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा मंगलबार न्यायाधीश महेन्द्र कार्कीको इजलासले पक्राउ अनुमति दिएको हो । यो सँगै देउवा दम्पती अब प्रहरीको रेकर्डमा आधिकारिक रूपमा फरार सूचीमा पर्नेछन् । तर, अहिले देउवा दम्पत्ति दुवै जना विदेशमा छन् ।

विदेशमा भएका बेला पक्राउ पुर्जी जारी गर्नुको अर्थ के हो ? अब देउवा दम्पतीविरुद्ध अनुसन्धान कसरी अगाडि बढ्छ ? र उनीहरूलाई नेपाल ल्याउन के गर्नुपर्छ ? यो विषयमा पाँच प्रश्नोत्तरमार्फत् बुझौं । 

देउवा दम्पतीमाथि कुन मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ?
देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को आरोपमा पक्राउ पुर्जी जारी भएको हो । अनुसन्धान निकायले देउवा दम्पतीको नाममा रहेको चलअचल सम्पत्ति अस्वाभाविक रूपमा आर्जन गरिएको भेटेपछि यो अनुसन्धान अगाडि बढेको हो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि देउवाको घरमा आक्रमण हुँदा भेटिएको रकमबारे विस्तृत अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिसकेको पृष्ठभूमीमा यो पक्राउ पुर्जी जारी भएको हो । 

सम्पत्ति शुद्धीकरणको अनुसन्धान कसरी हुन्छ ?
सम्पत्ति शुद्धीकरणको मुद्दा सामान्य फौजदारी मुद्दाभन्दा फरक हुन्छ । यहाँ मुख्य तीन प्रश्नको जवाफ खोजिन्छ : सम्पत्ति कुन स्रोतबाट आयो ? त्यो स्रोत गैरकानुनी थियो कि थिएन ? र यदि थियो भने, त्यो सम्पत्तिलाई 'सफाइ' गरेर वैध बनाउन के–कस्ता माध्यम प्रयोग गरियो ?

यो प्रमाणित गर्न प्रहरी र सम्पत्ति शुद्धीकरण विभागले बैंकिङ कारोबार हेर्छन्, अन्तर्राष्ट्रिय कारोबारको विवरण केलाउँछन्, जग्गाजमिनका कागजातहरूको विस्तृत छानबिन गर्छन् र सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गर्छन् । अहिले देउवा दम्पती विदेशमा हुँदा प्रत्यक्ष सोधपुछ कठिन छ, तर व्यक्ति विदेशमा भएकै कारण अनुसन्धान रोकिने भने हुँदैन । यहाँ एउटा कानुनी प्रश्न भने उठ्छ : २०८० साल चैत ३० गते संशोधन भएको सम्पत्ति शुद्धीकरण कानुन अनुसार, सम्पत्ति शुद्धीकरण आफैंमा स्वतन्त्र अपराध नभई कुनै कसुरपछि उत्पन्न हुने 'बाइप्रोडक्ट' अपराध मानिन्छ । अहिलेसम्म देउवा दम्पतीमाथि कुनै मूल मुद्दा दर्ता नभएको भन्ने तर्क पनि उठिरहेको छ ।

पक्राउ पुर्जी जारी गर्नुको अर्थ के हो ?
पक्राउ पुर्जी भनेको अदालतले प्रहरी वा अनुसन्धान निकायलाई कुनै अपराधमा संलग्न रहेको आशंका गरिएको व्यक्तिलाई पक्राउ गर्न दिएको अनुमतिपत्र हो । अनुसन्धानको आधार कानुनसम्मत छ भनेर अदालतले ठानेपछि मात्र यस्तो अनुमति दिइन्छ । देउवा दम्पतीको हकमा पक्राउ पुर्जी जारी गर्नुको अर्को कारण पनि देखिन्छ । त्यो हो, देउवा दम्पती देश बाहिर रहेकाले अनुसन्धानका दायरामा ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गर्नका लागि बाटो खोल्ने । गृह मन्त्रालय स्रोतका अनुसार यो पक्राउ पुर्जी रेड नोटिसका लागि पहिलो औपचारिक कदमका रूपमा जारी गरिएको हो, र त्यसको तयारी प्रहरी प्रशासनले प्रक्रिया अघि बढाइसकेको छ ।

रेड नोटिस भनेको के हो र यो कसरी काम गर्छ ?
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को नेपाल सदस्य राष्ट्र हो । संसारभरमा १ सय ९५ देश इन्टरपोलमा सदस्य छन् । जब कुनै व्यक्ति अपराध अनुसन्धानबाट उम्किन विदेश भाग्छ, त्यस्तो व्यक्तिको खोजी र पक्राउका लागि इन्टरपोलमार्फत् रेड नोटिस जारी गर्न सकिन्छ ।

इन्टरपोलको नेपालको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)को प्रमुख  प्रहरी महानिरीक्षक पदेन रूपमा हुन्छन् । अनुसन्धान गर्ने निकायले कसुर दर्ता गरेपछि, अदालतबाट पक्राउ पुर्जी लिन्छ र त्यो पुर्जीसहितको पत्र एनसीबी सचिवालयमार्फत् इन्टरपोलमा पठाइन्छ । इन्टरपोलले विवरण केलाएर आवश्यक ठानेमा रेड नोटिस जारी गरी विश्वका सबै सदस्य राष्ट्रका एनसीबीमा परिपत्र गर्छ । रेड नोटिस जारी भएपछि सिंगापुरलगायत जुनसुकै सदस्य देशका प्रहरीलाई त्यो व्यक्ति आफ्नो भूमिमा भेटिएमा पक्राउ गर्न अनुरोध गरिएको हुन्छ ।

रेड नोटिस जारी भयो भन्दैमा देउवा दम्पती स्वतः नेपाल ल्याइन्छ भन्ने हुँदैन । रेड नोटिस भनेको एक किसिमको अन्तर्राष्ट्रिय सूचना र अनुरोध मात्र हो, अनिवार्य पक्राउ गर्नैपर्ने आदेश होइन । नेपाल र सम्बन्धित देशबीच सुपुर्दगी सन्धि छ कि छैन भन्ने कुरा निर्णायक हुन्छ । अहिले नेपाल र सिंगापुरबीच यस्तो सन्धि छैन । त्यसबाहेक आरोपको प्रकृति राजनीतिक हो कि फौजदारी भन्ने कुराले पनि सम्बन्धित देशको निर्णयमा असर पार्छ । कूटनीतिक सम्बन्ध र दुवै देशका सरकारको इच्छाशक्ति पनि निर्णायक हुन्छ । सम्बन्धित देशले नचाहे ल्याउन सकिँदैन । यसैले देउवा दम्पतीको मुद्दा अब कानुनी मात्रै नभई कूटनीतिक विषय पनि बन्न सक्छ ।

देउवा दम्पती नआए पनि अनुसन्धान अगाडि बढ्छ त ? अब के हुन्छ ?
प्रहरीका अधिकारीहरूका अनुसार, व्यक्ति देशभित्र होस् वा विदेशमा, अनुसन्धान प्रक्रिया आफ्नै गतिमा चलिरहेको हुन्छ । फौजदारी कसुरमा प्रहरीले सुरुमा आरोपितलाई खोजी गरेर अनुसन्धानका लागि नियन्त्रणमा लिने गर्छ । फरार भएर देशबाहिर पुगेको खुलेको अवस्थामा इन्टरपोलको सहयोग लिने गरिन्छ ।  मुद्दा दर्ता भइसकेको अवस्थामा अभियुक्त हाजिर भएपछि बाँकी प्रक्रिया अघि बढाउने गरिन्छ ।  अब अनुसन्धान निकायले इन्टरपोलमार्फत रेड नोटिसको प्रक्रिया अगाडि बढाउने सम्भावना छ, जसका लागि प्रहरी महानिरीक्षकको कार्यालयमार्फत एनसीबी सचिवालयले इन्टरपोललाई अनुरोधपत्र पठाउनेछ । त्यसपछि इन्टरपोलले समीक्षा गरेर नोटिस जारी गर्छ र सिंगापुरसहित सबै सदस्य राष्ट्रलाई सूचित गर्न सक्छ ।

कृष्ण उनी कान्तिपुर टेलिभिजनमा आवद्ध छन्।

Link copied successfully