स्वास्थ्य बिमा बोर्डको सदस्यबाट निलम्बनको पत्र दिइएको थिएन : श्रेष्ठ

पदमुक्त गरिएकी श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहकी पत्नी हुन् ।

चैत्र २६, २०८२

होम कार्की

No suspension letter was issued from Health Insurance Board member: Shrestha

काठमाडौँ — स्वास्थ्य बिमा बोर्डकी सदस्य जुनु श्रेष्ठले आफूलाई निलम्बन गरिएको पत्र नपाएकी बताएकी छन् । पदमुक्त गरिएकी श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहकी पत्नी हुन् ।  

'म लन्डनबाट फर्केको सय दिन हुँदैछ । आएलगत्तै मलाई निरन्तरता गर्न इच्छा छ भनेको थिएँ । म बोर्डमा अनुपस्थित भएको कुरा स्वास्थ्य मन्त्रालयमा सुचित गरिएको थियो । यसको जवाफ स्वास्थ्य मन्त्रालयबाट आएको थिएन । मलाई हटाइएको वा निलम्बन गरिएको भनेर कुनै पत्र पठाइएको थिएन,’ उनले बिहीबार सार्वजनिक भिडियोमा भनिन्, 'केही दिन अगाडिसम्मको वेभसाइटमा पनि मेरो नाम छँदै थियो । बोर्ड बैठकमा मलाई बोलाइयो । यसलाई मैले निरन्तरताको रुपमा बुझेको थिएँ ।’

उनले यो विषयमा आफ्नो श्रीमान् जोडिनुपर्ने कारण नभएको बताइन् । 'सधैंभरि महिलालाई कसैको छत्रछायाँले गर्दा अगाडि आएको हुँ, कसैको छत्रछायाँ नभई हामी केही गर्न सक्तैनौं भन्ने नै हामी स्थापित गर्न चाहेको जस्तो देखियो,’ उनले भनिन् 'यो छोरी कुटेर बुहारी तर्साउने जस्तो भयो । स्पष्टीकरण नसोधी पदमुक्त गर्नुमा मलाई दु:ख लागेको छ । यसलाई सुशासन भन्ने हो भने मैले फेरि सुशासन भनेको के हो भनेर पढ्नुपर्छ जस्तो लाग्छ ।’

उनले आफू चार वर्षका लागि २०८०मा बोर्ड सदस्यमा नियुक्त भएको बताइन् । 'म २०८१ को भदौ अन्तिममा लन्डन गएको हो । असोजदेखि बैठकमा उपस्थित हुन सकेको थिएन । सूचना गरेर नै बैठकमा अनुपस्थित भइरहेको थिएँ । पहिलो तीन वटा बैठकमा अनलाइनमार्फत सहभागी भएर आफ्नो राय सुझाव दिएको थिएँ । चौथो बैठकमा यतैबाट 'म्युट’ भएर केही बोल्न पाएको थिएन,’ उनले भनिन्, 'त्यसपछाडिको हरेक बैठकमा मेरो अनुपस्थिति किन हो भनेर जानकारी गरेको छु ।’

उनी पछिल्लो पटक चैत २३ गतेको बैठकमा सहभागी भइन् । त्यसलगत्तै श्रेष्ठको पुनः नियुक्तिसम्बन्धी विषयले चर्चा पाएको थियो । बिनाजानकारी तीन पटकसम्म बैठकमा सहभागी नभए कानुनत स्वतः हट्नेछ । श्रममन्त्री साहले पत्नी श्रेष्ठलाई पुन: नियुक्ति दिन भूमिका खेलेको आरोपमा पदमुक्त गरिएको थियो ।  

श्रेष्ठ त्रिभुवन विश्वविद्यालयको स्नातक र स्नाकोत्तरमा गोल्ड मेडलिष्ट हुन् । उनी लन्डनमा अध्ययन गरेर नेपाल फर्केकी हुन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully