बर्खामा समस्या आउन नदिन राजमार्गमा पहिरो रोकथाम गरिँदै

गृहमन्त्री सुधन गुरुङ मंगलबार बीपी राजमार्गको स्थलगत अनुगमन गरेर फर्किएलगत्तै सडक विभागले थाल्यो छलफल र तयारी

चैत्र २६, २०८२

विमल खतिवडा

Landslides are being prevented on the highway to prevent problems during the rainy season.

What you should know

काठमाडौँ —  पछिल्लो समय पानी पर्नासाथ बीपी राजमार्ग अवरुद्ध हुने गरेको छ । खोलाभन्दा माथिबाट सडक निर्माणको काम भइरहेको छ । तर खोलामा अस्थायी डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । जसले गर्दा सामान्य बाढी आउनासाथ यातायात ठप्प बन्ने गरेको छ । अस्थायी डाइभर्सन बाढीले बगाइदिन्छ । 

पछिल्लो समय सोमबार रोशी खोलामा बाढी आएपछि सवारी आवागमन प्रभावित बन्यो । यो थाहा पाएसँगै गृहमन्त्री सुधन गुरुङ बर्खामा विपद्को तयारी के छ, हेर्न बीपी राजमार्गको स्थलगत निरीक्षणमा पुगे । बीपी राजमार्गमा बर्खाअघि बाढीपहिरोको जोखिम रहेको खण्डलाई नै ध्यानमा राखेर काम गरिरहेको सडक डिभिजन कार्यालय, भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘यस्तो ठाउँमा के–कसरी काम भइरहेको छ भनेर गृहमन्त्रीले जानकारी लिनुभयो,’ उनले भने, ‘निर्माणमा स्रोत साधन थपेर हुन्छ वा काम गर्ने सिफ्ट बढाएर हुन्छ, बर्खामा सवारीसाधन सञ्चालनमा समस्या हुनुभएन भनेर निर्देशन दिनुभयो ।’ 

बर्खामा समस्या हुन नदिने गरी काम भइरहेको र अहिले बनिरहेको सडकबाटै सवारीसाधन गुडाइने उनको दाबी छ । चौकीडाँडादेखि बर्खे खोलासम्मै अस्थायी डाइभर्सन बनाएर सवारीसाधन चलाइएको 

छ । यस खण्डमा कहीँकहीँ सडक भेटिए पनि प्रायः सवारीसाधन खोलाकै अस्थायी डाइभर्सनमा गुड्छन् । बढी समस्या कटुन्जेबेंसी, चारसयबेंसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा र पिप्ले खण्डमा छ । 

राजमार्गअन्तर्गत भकुन्डेबेंसीदेखि नेपालथोकसम्म असोज २०८१ को बाढीले ३०.५ किमि क्षेत्रमा बढी क्षति गरेको हो । क्षतिग्रस्त राजमार्गको ३.२ किमिबाहेक २७.३ किमि खण्डको ठेक्का भई काम भइरहेको छ । तर बर्खाअघि पानी पर्नासाथ आउने बाढीले गर्दा यात्रु अलपत्र पर्ने गरेका छन् । अहिले काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरी काम अघि बढाइएको हो । दुई लेनमा निर्माण भइरहेको राजमार्गको भकुन्डेबेंसीदेखि चारसयबेंसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा ठेक्का लिएका हुन् । चारसयबेंसीदेखि डालाबेंसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीसँग भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता भएको हो । 

दुवै ठेक्काको सम्झौता असारमा भएको हो ।पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किमि खण्डको ठेक्का उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीसँग गत कात्तिकमा सम्झौता भएको हो । यस खण्डको ठेक्का रकम ६८ करोड ८० लाख रुपैयाँ छ । जाइकाले पिप्लेदेखि बर्खेखोलासम्म ३.२ किमि सडक निर्माण गर्नेछ । जापान सरकारको २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदानमा उक्त खण्डमा सडक निर्माण हुन लागेको हो । 

बर्खे खोलादेखि नेपालथोकसम्मको ५ किमि खण्ड सिन्धुलीमा पर्छ । उक्त खण्डको ठेक्का खरीढुंगा–घिसिङ–क्षितिज जेभीले लिएको हो । यसको ठेक्का रकम भ्याटबाहेक ५५ करोड रुपैयाँ छ । सबै खण्डको काम सम्झौता भएको मितिले दुई वर्षभित्र सक्नुपर्ने सडक विभागले जनाएको छ । राजमार्गमा सडकको काम भए पनि पुल निर्माणको सुरसार छैन । यस खण्डमा सबैभन्दा बढी ट्राफिक जाम पुलमा हुने गरेको छ । 

Landslides are being prevented on the highway to prevent problems during the rainy season.दिनको ४ हजारभन्दा बढी सवारीसाधन यो सडक भएर ओहोरदोहोर गर्छन् । साँघुरा र सिंगल लेनका पुलका कारण सवारीसाधन वारपार गर्न लाइन लाग्नुपर्ने अवस्था छ । बीपी राजमार्गको स्थलगत अनुगमनका क्रममा गृहमन्त्री गुरुङले बर्खामा सडकका कारण यात्रुले सास्ती खेप्न नहुने र अहिलेबाटै देशभर बाढीपहिरोको जोखिममा रहेका सडक पूर्वाधार निर्माण र सुधारमा ध्यान दिन सडक विभागका महानिर्देशक विजय जैसीलाई निर्देशन दिएका थिए । जैसी पनि गृहमन्त्री गुरुङसँगै बीपी राजमार्गको अनुगमनमा पुगेका थिए । 

बीपी राजमार्गमा कामको गति बढाउन गृहमन्त्रीले निर्देशन दिएको र कामको गति केही कम रहेको पाइएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘छिटो काम सकाउन दबाब दिने गरी निर्माण व्यवसायीलाई विभागमै बोलाएर भन्ने तयारीमा छौं,’ उनले भने, ‘वैशाख र जेठ काम गर्ने समय छ, यो समयभित्र काम सक्नुपर्छ, आउने बर्खामा खोलाबाट सवारीसाधन गुड्नुपर्ने छैन ।’ 

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमक, काठमाडौं, पोखरा, सुर्खेतका प्रमुख, मध्यपहाडी, हुलाकी, उत्तर–दक्षिण करिडोर, मदन भण्डारी राजमार्ग, आयोजना निर्देशनालय (एडीबी) का प्रमुखसँग बसेर बर्खामा समस्या हुन नदिने गरी सडक पूर्वाधारका काममा ध्यान दिन सडक विभागका महानिर्देशक जैसीले निर्देशन दिएका थिए । आयोजना प्रमुखहरूले आफूअन्तर्गतका डिभिजन, सडक योजना कार्यालयमा नयाँ ठेक्का गरेर हुन्छ कि कसरी हुन्छ समस्या देखिएका खण्डमा काम सक्नेबारे विभागमा बुधबार छलफल भएको थियो । 

‘यसअघिका बर्खामा जहाँ–जहाँ समस्या थियो, त्यसमा फेरि पहिरो खस्न नदिने, फेरि बाढीले समस्या आउन दिनुभएन,’ महानिर्देशक जैसीले भने, ‘पहाडी राजमार्ग धेरै छन्, ती सबैमा प्रायः ठाउँअनुसार बाढी र पहिरोको जोखिम हुने गरेको छ ।’ अरनिको राजमार्गअन्तर्गत कोदारी सडकमा पनि समस्या रहेको विभागले जनाएको छ । अहिले कान्ति राजमार्ग, बीपी राजमार्ग, नागढुंगा–मुग्लिन सडक, नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड, कोशी, कर्णाली, कालीगण्डकी करिडोर, साँफे–मार्तडी सडक, भालुबाङ–प्यूठान सडक, सुर्खेत–नेपालगन्ज सडक, मेची राजमार्ग, नारायणगढ–मुग्लिन सडक, गल्छी–त्रिशूली–स्याफ्रुबेंसी–रसुवागढी सडकको विभिन्न खण्डमा पहिरोको जोखिम बढी छ । बर्खामा यी सडकमा बढी समस्या हुने गरेको छ ।

बर्खामा पहिरोको जोखिमपूर्ण अवस्थामा रहेका सडक तथा राजमार्गमा धनजनको क्षति र कुनै पनि दुर्घटना घट्न नदिने गरी काम गर्न भनेर विभागमा छलफल भएको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता श्यामबहादुर खड्काले बताए । 

‘यसको अवस्था बुझ्ने, अध्ययन गर्ने र बजेट भए रोकथाम गर्न थालिहाल्ने, बजेट नभए विभागसँग समन्वय गर्ने निर्णय भएको छ,’ उनले भने, ‘जोखिम भएका स्थानलाई रोकथाम गर्न छुट्टै बजेट शीर्षक सिर्जना गरेर अगाडि बढ्ने विषयमा विभाग लागेको छ ।’ सम्भावित पहिरो तथा जोखिम मानिएका सडक र राजमार्गको पहिचान गरी त्यसको रोकथाम गर्न सम्बन्धित सडक डिभिजन कार्यालयमा बिहीबार पत्राचार गर्ने तयारी भएको उनले सुनाए ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully