परराष्ट्र मन्त्रालयले बुधबार वक्तव्य जारी गरेर युद्धविरामलाई पश्चिम एसियाको तनाव कम गर्ने दिशामा सकारात्मक र रचनात्मक कदम भनेको छ ।
काठमाडौँ — नेपाल सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच घोषणा गरिएको दुई हप्ते युद्धविराम सम्झौताको स्वागत गरेको छ । अमेरिका र इरानबीच बढेको तनावका बीच युद्धविरामको घोषणा भएको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार वक्तव्य जारी गरेर युद्धविरामलाई पश्चिम एसियाको तनाव कम गर्ने दिशामा सकारात्मक र रचनात्मक कदम भनेको छ । युद्धविरामले संवाद, कूटनीति र आपसी मतभेदको शान्तिपूर्ण समाधानका लागि अवसर प्रदान गर्ने जारी विज्ञप्तिमा भनिएको छ । युद्धविरामको विकसित कदमलाई नेपालले क्षेत्रीय शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने दिशामा सकारात्मक कदम भनेको छ । साथै, विवादहरूको समाधान शान्तिपूर्ण माध्यमबाट हुनुपर्छ भन्ने धारणालाई नेपालले दोहर्याएको छ ।
द्वन्द्वका कारण उत्पन्न मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै परराष्ट्रको वक्तव्यमा नागरिकहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्नुपर्ने भनिएको छ । क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा दीगो शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय समुदायले गर्ने सबै प्रयासप्रति नेपाल सरकारको समर्थन रहने भनिएको छ ।
अमेरिका र इरान एक महिनादेखि युद्धमा छन् । इरानको आणविक कार्यक्रमलाई रोक्न दवाब दिन अमेरिकाले इरानमाथि आक्रमण गर्दै आएको छ । इरानसँगको युद्धले विश्वभरि इन्धन आपूर्तिमा समस्या सिर्जना भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दिन अगाडि मात्र इरानलगायत सम्पूर्ण सभ्यतालाई ध्वस्त पार्ने धम्की दिएका थिए । अन्तिम समयमा आएर पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान दुई हप्ताका लागि युद्धविराम गर्न सहमत भएका हुन् ।
