तेब्बर संख्यामा राख्नु पर्दा ठाँउ अभाव भएर बालकहरुलाई भूँइमै सुताउनु परेको बालसुधार गृहका प्रमुख प्रदीप गौतमले बताए ।
What you should know
हेटौंडा — मकवानपुरमा रहेको बालसुधार गृहमा क्षमता भन्दा तेब्बर बालक राखिएका छन् । भौतिक पूर्वाधारको अभावले गर्दा क्षमता भन्दाबढी बालकहरु राख्नु परेको हो ।
हेटौंडा उपहानगरपालिका-११ थानाभर्याङस्थित बालसुधार गृहमा अहिले ९२ जना बालक छन् । उक्त सुधार गृहको क्षमता ३० जनामात्र हो । तेब्बर संख्यामा राख्नु पर्दा ठाँउ अभाव भएर बालकहरुलाई भूँइमै सुताउनु परेको बालसुधार गृहका प्रमुख प्रदीप गौतमले बताए ।
१४ वर्षदेखि २३ वर्षसम्मका बालक रहेको उक्त सुधार गृहमा ६५ जना जबरजस्तीकरणी मुद्दाका आरोपित छन् । १८ वर्ष उमेरसम्मका बालसुधार गृहमा राख्ने भनिए पनि आपराधिक घटनामा संलग्न भएको उमेर बालक अवस्थामा भएकाले कैद भुक्तान गर्ने क्रममा १८ वर्ष उमेरमाथिका पनि बालसुधार गृहमै राख्नुपर्ने प्रावधान रहेको सुधार गृहका प्रमुख गौतमले बताए ।
भौतिक पूर्वाधारको अभावको कारणले गर्दा बालकहरु पढाईबाट पनि बञ्चित हुँदै आएका छन् । सुधार गृहमा भएको पुस्तकालय पनि अहिले ठाँउको अभावले संचालनमा आउन सकेको छैन । ५ कठ्ठा जमिनमा निर्माण गरिएको भवन अत्यन्त साँघुरो छ । बालकहरुलाई खेल्नका लागि ठाउँकाे पनि अभाव छ । बालकहरुले कोठामै कोचिएर बस्नुपर्ने बाध्यता रहेको सुधार गृह प्रमुख गौतमले बताए ।
२०७५ सालबाट हेटौंडाको थानाभर्याङमा महिला बालबालिका र जेष्ठ नागरिक मन्त्रालयको मातहतमा यहाँ बाल सुधार गृह स्थापना गरिएको हो । ‘बिज्याई गरेका विभिन्न उमेर समूहमा रहेका बालकलाई कुन स्तरको शिक्षक ल्याउने र उनीहरुको पढाईलाई कसरी उमेरगत र कक्षागत रुपमा मिलाउने भन्ने चुनौती पनि छ । तर मुख्य समस्या भनेको ठाँउको अभाव नै हो,’ प्रमुख गौतमले भने ।
चितवन र मकवानपुरका बालकमात्र राख्ने भनेर स्थापना गरिएको बालसुधार गृहमा अहिले २८ जिल्लाका बालक छन् । मन्त्रालयले भौतिक पूर्वाधार निर्माण, स्कुल संचालनलगायतको निम्ति बजेट विनियोजन नगरेकाले सुधार गृहमा रहेका बालकहरुको भविष्य अन्धकार बन्दै गएको सुधार गृहका एक कर्मचारीले भने,‘मन्त्रालयले सुधार गृृहको आवाज नै सुनुवाई गर्दैन । बालसुधार गृहको जिल्लाका तालुकदार कार्यालय नै छैन ।’
बालसुधार गृह हेटौंडामा सोमबारसम्मको तथ्यांक अनुसार जबर्जस्ती करणीमा ६५, कर्तव्य ज्यानमा ११, लागुऔषध ९, चोरी १, सवारी ज्यान १, आपराधिक उप्रदावमा १ जना गरी ९२ जना बालक रहेका छन् ।
बालबालिकाले बिज्याई गरे भने उनीहरुलाई सुधार्नका लागि बालसुधार गृहमा राख्ने कानुनी व्यवस्था छ । सुधार गृहमा रहेका बालकहरुका लागि क्षेत्रीय कारागार भीमफेदीले प्रतिव्यक्ति दैनिक ७ सय ग्राम चामल र ८० रुपैयाँ खर्च उपलब्ध गराउने गरेको छ ।
बालकलाई सम्बन्धित अदालतले उपस्थित गराउन भनेका बेला आफ्नै सवारीसाधनको अभावले उपस्थित गराउन समस्या हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरसँग गाडी मागेर बालकहरुलाई अदालतमा उपस्थित गराउँदै आएको बालसुधार गृहले जनाएको छ । मुलुकमा हेटौंडासहित वीरगन्ज, भक्तपुर, रुपन्देही, डोटी, विराटनगर, बाँके र पोखरालगायत स्थानमा बालसुधार गृह संचालनमा छन् ।
