भारतको बैरगनिया क्षेत्रस्थित रिङ बाँधमा माटो थपिँदा वर्षायाममा प्राकृतिक बहाव रोकिएर सदरमुकाम गौर र आसपासका क्षेत्र डुबानमा पर्छन् ।
What you should know
रौतहट — रौतहटको गौर र भारतको बैरगनियास्थित सीमा क्षेत्रको बाँध मर्मत गर्दा भारतीय पक्षले जिल्ला प्रशासनसँग समन्वय नगरेको पाइएको छ । भारतीय पक्षले एकतर्फी रूपमा बाँधमा माटो थपिरहेको छ । दुई मुलुकको सहमतिबिना दशगजा वा त्यसको नजिक कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने सम्झौता छ ।
एउटा मुलुकको सीमावर्ती क्षेत्रमा निर्माण गरिने संरचनाले अर्काको भूभागमा डुबान वा वातावरणीय क्षति पुर्याउन नहुने सम्झौतामा उल्लेख छ । दुई मुलुकबीचको सहमति अनुसार सीमा रेखाको निश्चित दूरीभित्र एकतर्फी बाँध वा सडकजस्ता अग्ला संरचना बनाउन निषेध गरिएको छ । त्यस विपरीत भारतले आफ्नो भूमि डुबानबाट जोगाउन बाँध मर्मतको नाममा माटो थपिरहेको छ ।
भारतले पूर्वमा बाग्मती र पश्चिमतर्फ बन्जराहासम्म पाँच किलोमिटर बाँध निर्माण गरेको छ । जसका कारण बर्सेनि नेपाली भूमि डुबानमा पर्दै आएको छ । बैरगनिया क्षेत्रस्थित रिङ बाँधमा माटो थपिँदा वर्षायाममा प्राकृतिक बहाव रोकिन्छ । यसले सदरमुकाम गौर र आसपासका क्षेत्र डुबानमा पर्छन् । पाँच वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको पालामा यसरी नै माटो थुपार्न लाग्दा नेपालका तर्फबाट स्थानीय प्रशासन र सुरक्षा निकाय (सशस्त्र प्रहरी बल)ले कडा आपत्ति जनाएपछि काम रोकिएको थियो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले यसपटक पनि भारतीय समकक्षी सीतामाढी जिल्लाका प्रमुख (डीएम) रुचि पाण्डेसित बाँधमा माटो थप्ने काम भएको जनाउँदै ध्यानाकर्षण गराएका थिए । डीएम पाण्डेले केन्द्रीय सरकारबाटै बाँध मर्मतको काम भइरहेको जानकारी गराएका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी भुसालले बाँधमा माटो हाल्दै गरेको भिडियो र तस्बिर गृह मन्त्रालयमा पठाएका थिए ।
‘तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यकालमै बाँधमा माटो थपिएको बारे पत्राचार गरेका थियौं,’ भुसालले भने, ‘गृहबाट थप जानकारी आएको छैन । फेरि यसबारे अपडेट गर्छु ।’ दुई देशको सीमा र अन्तर्राष्ट्रिय सन्धिसँग जोडिएको विषय भएकाले केन्द्र सरकारले कूटनीतिक नोट पठाएर यसको स्थायी समाधान खोज्नुपर्ने रायसहित विगतमा मधेश प्रदेशका मुख्यमन्त्रीले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । उक्त बाँध अग्लो हुँदा नेपालतर्फबाट बग्ने लालबकैया र बाग्मती नदीको पानीले निकास नपाउने र पानीको बहाव फर्किएर नेपाली बस्तीमा पस्ने गरेको छ । भारतीय कदमले आफ्नो ज्यान र धन असुक्षित बनेको भन्दै स्थानीयले सामाजिक सञ्जालमार्फत विरोध गरिरहेका छन् । प्रशासनलाई यसबारे तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
२०७६ सालमा बाढीले प्रभावित तुल्याएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वगृहमन्त्री रामबहादुर थापा, मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत, राष्ट्रियसभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सांसद खिमलाल भट्टराई, सरिता प्रसाईं, वृषेशचन्द्र लाल, प्रमिला कुमारीले सीमाक्षेत्रको बाँधको स्थलगत अवलोकन गरेर कूटनीतिक पहलको खाँचो भएको औंल्याएका थिए । उनीहरूले बाँधकै कारण डुबानको पीडा सहनुपरेको भन्दै कूटनीतिक पहलमार्फत समस्या हल गर्न जरुरी रहेको सुझाव दिएका थिए ।
भारतीय पक्षले वर्षाअगावै बाँधलाई मजबुत बनाउने नाममा एकतर्फी रूपमा माटो थुपार्ने काम गरेकाले छिमेकीबीच सम्बन्ध र सीमा सन्धिका मर्ममाथि प्रहार भएको जिल्लास्थित नेपाली कांग्रेसका एक नेताले सुनाए ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जिल्ला प्रशासनबाट सीमाक्षेत्रको बाँधका विषयमा पठाइएको पत्र मन्त्रालयमा आए/नआएको बुझ्ने बताए । ‘हामीले गर्नेभन्दा पनि यो परराष्ट्र मन्त्रालयसित सम्बन्धित विषय हो,’ उनले भने, ‘पत्रको कुरा के रहेछ, त्यो बुझेर भन्छु ।’
दीर्घकालीन रूपमा समस्या समाधानका लागि कूटनीतिक पहल नभएको आवाज उठिरहेका बेला मर्मतको नाममा माटो थप्ने काम भएको स्थानीयको भनाइ छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले रौतहटस्थित सीमाक्षेत्रको बाँधका बारेमा गृह मन्त्रालयबाट परराष्ट्रमा पत्राचार भए/नभएको आफूले बुझ्ने बताए । ‘वास्तविकता के रहेछ, म बुझेर मात्र भन्छु,’ उनले भने, ‘गृहले पत्र पठाएकै रहेछ भने के भएको हो भन्ने थाहा हुन्छ ।’ पत्रमा उल्लेख बेहोरा बुझेपछि मात्र यस विषयमा केही बोल्न सकिने गृह र परराष्ट्रका प्रवक्ताको भनाइ छ ।
राष्ट्रिय सभाको पन्ध्रौं अधिवेशन बैठकमा रौतहटकी सांसद पूजा चौधरीले वर्षातका बेला नेपाल–भारत सीमाक्षेत्रमा भारतले निर्माण गरेको बाँधमुनिको सुलिस गेट (पानी निकाश हुने ढोका) बन्द गरेपछि ठूलो विपत्ति सामना गर्नु परिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । बाँध र सुलिस गेटको ढोका खोल्न कूटनीतिक तबरबाट पहल थाल्न सरकारसित उनले अनुरोध गरिन् । भारतले २०३२ सालमा बैरगनिया लगायत बिहारका सहर डुबानबाट बचाउन १५ फिट अग्लो र ५ किलोमिटर लामो बाँध निर्माण गरेको थियो । त्यसपछि नेपालमा डुबानको समस्या सुरु भएको थियो । भारतले बैरगनियाको पूर्वी क्षेत्रस्थित बाँधको ३ वटा ढोका बन्द गर्दै आएको छ । नेपाली क्षेत्रमा पानीको सतह बढ्यो भने आपतकालीन रूपमा ढोका खोल्नुपर्छ ।
सदरमुकाम गौर डुबानमा परेपछि आक्रोशित नेपालीले बाँध भत्काउने गर्छन् । त्यसबाट बाँध जोगाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोली हतियारसहित २४ सै घण्टा बाँधमै पहरा दिन्छन् । २०५० सालअघिसम्म गौरमा पानी भरिन थालेपछि बाँधको ढोका खोल्ने गरिन्थ्यो । अहिले बेवास्ता हुँदै आएको छ । सीमाक्षेत्रमा हुने अपराधलगायत गतिविधि र आन्तरिक समस्या सुल्झाउन दुवै मुलुकका सुरक्षा अधिकारीबीच बेला–बेला समन्वय बैठक हुँदै आएको छ । बैठकमा नेपाली पक्षले डुबानका समस्याबारे भारतीय अधिकारीलाई जानकारी गराउँदै आएको छ । सुलिस गेट, पानीको प्राकृतिक बहावका लागि आवश्यकताअनुसार परिचालन गर्ने मौखिक सहमति भए पनि भारतले चासो देखाएको पाइँदैन । तत्कालीन समयमा सीमामा बाँध बनाउन लाग्दा गौरका बासिन्दाले विरोधमा जुलुस निकालेका थिए ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी चन्द्रिकानन्द खरेलले गृह मन्त्रालयलाई समस्याबारे जानकारी गराएपछि गृहमन्त्री जोगमेहर श्रेष्ठले गौर आएर भारतीय पक्षसित वार्ता गरेका थिए । त्यसबेलाका भारतीय अधिकारीले बाँधले नेपाली भूभाग डुबानमा परेका बेला आपतकालीन रूपमा ढोका खोल्ने र सहयोग गर्ने प्रतिबद्धता जनाएको स्थानीयको भनाइ छ । बाँधकै कारण राजदेवी नगरपालिकाको बेलबिछुवा, ब्रह्मपुरी लक्ष्मीपुर, सदरमुकम गौरका ९ वटै वडा र इश्नाथ नगरपालिकाको बैरिया, औरैया र बन्जरहा गाउँ बर्सेनि डुबानमा पर्दै आएको छ ।
