अछामका १० वटै स्थानीय तहले घुम्ती बैठक गर्दै छाउपडी प्रथा र सामाजिक कुरीति उन्मूलनमा साझा रणनीति बनाइरहेका छन्।
What you should know
अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका–२ की एक १६ वर्षीया किशोरी एक वर्षअघि आफ्नै मामाघरको छाउगोठमा बलात्कारमा परिन् । महिनावारी भएको समयमा छाउगोठमा बसेका बेला किशोरीमाथि घटना भएको थियो ।
गत भदौ १२ को राति पञ्चदेवल विनायक नगरपालिका-८ मा बारलामा छाउ बार्न त्रिपालमूनि सुतेकी ३८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको ढुंगा लागेर मृत्यु भयो । छाउगोठ भत्काइएपछि सुरक्षित आवासको विकल्प नहुँदा त्रिपाल टाँगेर बस्न बाध्य भएका उनीहरूले ज्यानै गुमाउनुपरेको थियो ।
अछामका यी केही प्रतिनिधि घटना मात्र हुन्, जसले छाउपडी प्रथाका कारण यहाँको सामाजिक र मानवीय विकासको डरलाग्दो चित्र प्रस्तुत गर्छन् । जिल्ला प्रहरी कार्यालयकै तथ्यांक अनुसार २०६३ सालयता अछाममा मात्रै छाउपडी प्रथाका कारण २० जना महिला र किशोरीले ज्यान गुमाइसकेका छन् । श्रृखंलाबद्ध भइरहेका यस्ता घटना र सामाजिक कुरीतिलाई उखेल्न अछामका १० वटै स्थानीय तह अहिले एउटै मञ्चमा उभिएका छन् ।
जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र सरोकारवालाले पालैपालो प्रत्येक पालिकामा पुगेर अनुभव साटासाट गर्ने र साझा रणनीति बनाउने उद्देश्यले ‘घुम्ती बैठक’ गरेर अनुभव आदानप्रदान थालेका हुन् ।
सोमबार पञ्चदेवल विनायक नगरपालिकामा पाँचौं घुम्ती बैठक सम्पन्न भएको छ । कमलबजार नगरपालिकाबाट सुरु भएको यो नौलो अभ्यास ढकारी, तुर्माखाँद र चौरपाटी हुँदै अब बान्नीगढी जयगढ पुग्दैछ । १० मध्ये ५ पालिकामा यो अभियान पुगिसकेको छ । अब बाँकी ५ पालिकामा पनि क्रमिक रुपमा बैठक सञ्चालन गर्ने तय भएको छ ।
पञ्चदेवल विनायकमा सम्पन्न बैठकमा नगरप्रमुख अम्बिका चलाउनेले अभियानको निरन्तरताका लागि बैठक पुस्तिका बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदलाई हस्तान्तरण गरिन् । ‘एउटा पालिकाले मात्रै प्रयास गरेर सामाजिक कुप्रथा अन्त्य गर्न असम्भव रहेछ, त्यसैले हामी १० वटै स्थानीय तहले साझा संकल्प गरेका हौं,’ नगरप्रमुख चलाउनेले भनिन्, ‘हाम्रो लक्ष्य भूगोल मात्र जोड्ने होइन, समाजमा रहेका अन्धविश्वासका गोठहरू भत्काएर महिला र किशोरीलाई घरभित्रै सुरक्षित राख्नु हो । पञ्चदेवल विनायकमा भएका अभ्यास र चुनौती अन्य पालिकाका प्रमुखलाई देखाएका छौं, जसले गर्दा उहाँहरूलाई काम गर्न सहज हुनेछ ।’
यो अभियानको मुख्य विशेषता भनेकै सिकाई आदानप्रदान हो । आयोजक पालिकाले सामाजिक क्षेत्रको विकास, कुप्रथा न्यूनीकरण र सुशासनका क्षेत्रमा गरेका कामको प्रस्तुति राख्ने गर्छन् । अन्य पालिकाका प्रतिनिधिहरूले ती कामको प्रत्यक्ष अवलोकन गर्ने र आफ्नो पालिकामा भोग्नुपरेका चुनौतीबारे छलफल गर्दै आएका छन् ।
यसअघि गत असोजमा कमलबजार नगरपालिकामा भएको पहिलो बैठकले स्वास्थ्य, शिक्षा, सरसफाई र सुरक्षित आवासलाई प्राथमिकता दिने घोषणा गरेको थियो । उक्त घोषणा अनुसार काम भइरहेको नगरपालिकाले जनाएको छ । कमलबजारका नगरप्रमुख यज्ञप्रसाद ढकालले भने, ‘छाउपडी प्रथा अन्त्य गर्न वडादेखि टोल तहसम्म विभिन्न संयन्त्र गठन गरेर हामीले अभियान थालेका छौं । सामूहिक रूपमा उभिँदा जनतामा पनि स्थानीय सरकार गम्भीर छ भन्ने सन्देश गएको छ ।’
जिल्लास्तरमा गठित सामाजिक क्षेक्र विकास निर्देशक तथा समन्वय समितिको सत्रियताले यो अभियानलाई थप संस्थागत बनाएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले यो बैठकको अवधारणले स्थानीय तहलाई अझ बढी जिम्मेवार बनाएको बताए । ‘हाम्रो मुख्य उद्देश्य महिनावारीका आधारमा हुने सबै प्रकारका विभेद अन्त्य गरी मर्यादित महिनावारी अभ्यासलाई प्रोत्साहन गर्नु हो,’ उनले भने, ‘सबै पालिकाका प्रमुखहरू एकै ठाउँमा बस्दा नीतिगत निर्णय गर्न र त्यसलाई जिल्लाभरि एकसाथ कार्यान्वयन गर्न सजिलो भएको छ ।’
सरकारले बेलाबेला छाउगोठ भत्काउने अभियान चलाए पनि ‘अन्धविश्वास’ नहट्दा महिलाहरू ओडार र त्रिपालमूनि बस्न बाध्य छन् । ‘छाउपडी प्रथालगायतका विषय एक स्थानीय तहले मात्रै सुरु गरेर प्रभावकारी हुने होइन, यसका लागि जिल्लाका सबै पालिकाले एक ठाउँमा उभिएर अभियान चलाउनु पर्ने अवस्था आयो,’ जिल्ला समन्वय समिति उपप्रमुख दानमति बम शाहीले भनिन्,‘ जिल्लामा एउटा नयाँ संस्कारको सुरुवात भएको छ । यसलाई निरन्तरता दिन आवश्यक छ ।’ अबको छैटौं घुम्ती बैठक बान्नीगढी जयगढ गाउँपालिकामा बस्ने तय भएको छ । बैठकको जिम्मेवारी सम्हाल्दै गाउँपालिका अध्यक्ष साउँदले आगामी बैठकमा आफ्नो पालिकाले गरेका सामाजिक सुधारका काम प्रस्तुत गर्ने प्रतिबद्धता जनाए ।
