सांसदहरूले ७ बुँदे सुझावसहित साइबर अपराध न्यूनीकरण र पीडितको सुरक्षाका लागि कडा कदम चाल्न साइबर ब्युरोलाई आग्रह गरेका छन् ।
What you should know
काठमाडौं — सामाजिक सञ्जालमार्फत बढ्दो साइबर बुलिङ र दुर्व्यवहारका घटनाप्रति चिन्ता व्यक्त गर्दै एमाले संसदीय दलका महिला सांसदहरूले नेपाल प्रहरीको साइबर ब्युरोको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटफर्महरूमार्फत विशेषगरी किशोरी र महिलामाथि बुलिङ, दुर्व्यवाहर, अपमानजक व्यवहार, घृणा, टिप्पणीहरूका कारण मानसिक उत्पीडन बढ्दै गएको उल्लेख गर्दै यस्तो समस्या नियन्त्रणका लागि तत्काल प्रभावकारी हस्तक्षेपको माग गरेका हुन् । सांसदहरूले ७ बुँदे सुझावसहित साइबर अपराध न्यूनीकरण र पीडितको सुरक्षाका लागि कडा कदम चाल्न आग्रह गरेका छन् ।
ज्ञापनपत्रमा साइबर बुलिङसम्बन्धी उजुरीहरूको छिटो र प्रभावकारी अनुसन्धान गर्न, पीडितलाई सहज रूपमा उजुरी दिने वातावरण सिर्जना गर्न तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ । साथै, पीडितको तत्काल सुरक्षा र न्यायको सुनिश्चितता गर्न, दोषीमाथि कडा कानुनी कारबाही सुनिश्चित गर्न र दोषीले उन्मुक्ति नपाउने सुनिश्चितता गर्न माग गरिएको छ ।
सांसदहरूले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र किशोरी तथा महिलाको अनलाइन सुरक्षाका लागि प्रहरीको निगरानी थप प्रभावकारी बनाउनुपर्ने माग समेत गरेका छन् ।
राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीका अनुसार सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत हुने साइबर बुलिङजस्तो संवेदनशील विषयमा समाजलाई गम्भीर बन्न र सम्बन्धित निकायको ध्यानाकर्षणका लागि ब्यूरोलाई आग्रह गरेको बताइन् । ‘यो केवल गुनासो राख्ने र सुन्ने प्रक्रिया मात्र होइन, पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूत छिटो गराउनु पनि हो,’ झाँक्रीले भनिन्, ‘म आफै पनि पछिल्ला एक दशक सबैभन्दा धेरै साइबर बुलिङमा परेको छु । चुनावका बेला झनै धेरै साइबर हमला भएको थियो । यो विषयमा पनि ध्यानाकर्षण गराउनु हो । ’
साइबर ब्युरोका प्रहरी प्रवक्ता एसपी दिलीपकुमार गिरीले कार्यालयको कामप्रति चासो देखाउँदै ज्ञापनपत्रमार्फत कानुनमा भएका कमजोरी सुधार गर्न सुझाव समेत सांसदहरूले माग गरेको बताए । ज्ञापनपत्रसहित एमाले सांसद पद्मा अर्याल, राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीसहित १८ जना उपस्थित थिए ।
