अहिले दिनको १ अर्ब ४० करोड ५६ लाख रुपैयाँको इन्धन खपत भइरहेको छ ।
What you should know
काठमाडौँ — सरकारले आइतबार पनि सार्वजनिक बिदा घोषणा गरेपछि करिब १० प्रतिशत इन्धन खपत कम हुने आकलन गरिएको छ ।
नेपाल आयल निगमका अनुसार मुलुकमा दैनिक २५ लाख लिटर पेट्रोल, ५० लाख लिटर डिजेल र ४५ हजार टन खाना पकाउने ग्यास खपत हुँदै आएको छ । आइतबार बिदा हुँदा पेट्रोल र डिजेलको कुल दैनिक उपभोगको १० प्रतिशत अर्थात् ७ लाख ५० हजार लिटर इन्धन बचत हुने निगमले अनुमान गरेको छ ।
आइतबार थप बिदापछि करिब १० प्रतिशत इन्धन खपत कम हुने आकलन रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिए ।
निगमका अनुसार अहिलेको मूल्यअनुसार दिनको ९० करोड ३७ लाख ५० हजार रुपैयाँको डिजेल खपत हुन्छ भने ५० करोड १८ लाख ७५ हजार रुपैयाँको पेट्रोलको खपत हुन्छ । यसरी दिनको १ अर्ब ४० करोड ५६ लाख रुपैयाँको इन्धन खपत भइरहेको छ ।
इन्धन खपत कम गराउन निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सरकारी तथा निजी सवारीमा जोर–बिजोर प्रणाली सञ्चालन गर्न पनि सरकारलाई सुझाव दिएको छ ।
‘ठूलो परिमाणमा इन्धन खपत घटाउन वा पैसा जोगाउन सवारीमा जोर–बिजोर प्रणाली नै लागू गर्नुपर्छ,’ निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले भने, ‘इन्धन खपत कम गर्न बिदा दिने निर्णयलाई सकारात्मक रूपमा हेर्नुपर्छ । सरकारका कार, जिपलगायत साना सवारी छन् । यो निर्णयले थोरै परिमाणमा भए पनि पेट्रोलको खपत घटाउँछ ।’
अहिले पेट्रोलियम पदार्थमा मूल्यवृद्धिले निगमको घाटा बढाएको छ । निगमलाई पेट्रोलमा भन्दा डिजेलमा धेरै नोक्सानी छ । अहिलेको मूल्यमा डिजेलमा प्रतिलिटर १२० रुपैयाँ, पेट्रोलमा ३४ रुपैयाँ र खाना पकाउने ग्यासमा ४१६ रुपैयाँ घाटा छ ।
नेपालमा ढुवानी, सार्वजनिक बस, निर्माण क्षेत्रलगायतमा डिजेल खपत हुन्छ । दुईपांग्रे, कार, जिप, भ्यानलगायतमा पेट्रोल खपत हुन्छ । अधिकांश सरकारी सवारीहरूमा पेट्रोल खपत हुन्छ ।
निगमले लामो दूरीका सवारीका लागि एक पटकमा २ सय लिटर र छोटो दूरीका लागि अधिकतम ५० लिटर मात्रै इन्धन बिक्री गर्ने, पेट्रोल पम्पहरूले मोटरसाइकललाई एक पटकमा ५ लिटर र कार तथा जिपलगायतका साना सवारीलाई २० लिटर मात्र इन्धन बिक्री गर्नेलगायत विषय पनि सिफारिस गरेको छ । सार्वजनिक सवारी तथा ढुवानीमा प्रयोग हुने गरी सवारीसाधनहरू पूर्ण क्षमतामा चलाउनुपर्ने निगमले जनाएको छ ।
पश्चिम एसियामा जारी तनावका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको आपूर्ति शृंखला प्रभावित बनेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर देखिइसकेको छ । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय २ रुपैयाँ र डिजेल एवं मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ८२ रुपैयाँ पुगिसकेको छ ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने आइतबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । पेट्रोलियम पदार्थ आपूर्तिमा उत्पन्न असहज अवस्थाका कारण दुई दिन सार्वजनिक बिदा दिने सरकारको तर्क छ ।
