युद्धकै कारण तुरुन्तै आइहाल्नुपर्ने खालको ठूलो दबाब अहिले महसुस गरिएको छैन, त्यहाँ रहेका नेपालीहरूले आफूलाई सुरक्षित नै महसुस गरिरहनुभएको फिडब्याक आएको छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले पश्चिम एसियामा जारी द्वन्द्वका कारण उत्पन्न परिस्थिति र त्यसले नेपालको अर्थतन्त्रमा पारेको बहुआयामिक प्रभावबारे जानकारी गराएका छन् ।
मन्त्रालयले आफ्ना नियमित काम र सरकारको १०० बुँदे कार्ययोजनालाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गर्दै मन्त्री खनालले पछिल्लो समय द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा र स्वदेश फिर्तीका लागि भइरहेका प्रयासहरूबारे स्पष्ट पारेका हुन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयले तथ्यांक संकलन गरिरहेको जानकारी दिए । उनका अनुसार हालसम्म ८८ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण टिपाएका छन् । मन्त्रालयमा सञ्चालित २४ सै घण्टाको हटलाइनमा सुरूका दिनको तुलनामा अहिले फोन आउने क्रम घटेको उनले बताए ।
उनले भने, ‘अहिले आउने फोनहरू युद्धकै कारण असुरक्षित भएरभन्दा पनि भिसा सकिएको, कामको छुट्टी वा अन्य नियमित समस्यासँग सम्बन्धित बढी छन् । युद्धकै कारण तुरुन्तै आइहाल्नुपर्ने खालको ठूलो दबाब अहिले महसुस गरिएको छैन, त्यहाँ रहेका नेपालीहरूले आफूलाई सुरक्षित नै महसुस गरिरहनुभएको फिडब्याक आएको छ ।’
नेपालीहरूको सहजताका लागि नेपाल एयरलाइन्सले यूएईमा नियमित उडान सुरू गरिसकेको र साउदी अरेबियामा पनि उडान भइरहेको मन्त्रीले जानकारी दिए । त्यस्तै उनका अनुसार बहराइन र कुवेत जस्ता सिधा उडान नभएका ठाउँबाट आउन चाहनेहरूलाई साउदीसम्म ल्याएर त्यहाँबाट नेपाल पठाउने गरी सहजीकरण भइरहेको छ ।
