परराष्ट्रमन्त्री खनाल पहिलो विदेश यात्रामा मोरिसस जाँदै

२७ र २८ चैतमा मौरिससमा आयोजना हुने नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागी हुन मन्त्री खनाल मौरिसस जान लागेका हुन् ।

चैत्र २३, २०८२

राजेश मिश्र

Foreign Minister Khanal to visit Mauritius on first foreign trip

What you should know

काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणका लागि बिहीबार मौरिसस जाँदै छन् । २७ र २८ चैतमा मौरिससमा आयोजना हुने नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स) मा सहभागी हुन मन्त्री खनाल मौरिसस जान लागेका हुन् ।

मौरिसस सरकार र भारतीय विदेश मन्त्रालयको सहयोगमा दिल्लीस्थित ‘थिंक ट्यांक’ इन्डिया फाउन्डेसनले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । नवौं संस्करणको मुख्य नारा ‘हिन्द महासागरको सुशासनका लागि सामूहिक जिम्मेवारी’ रहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मन्त्री खनाल सम्मेलनमा सहभागी हुन मौरिसस जान लागेको जानकारी दिए । कार्यक्रममा भारतका विदेशमन्त्री एस. जयशंकरसहित विभिन्न मुलुकका मन्त्रीहरू सहभागी हुँदै छन् । मन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग ‘साइड लाइन’ भेटवार्तासमेत गर्नेछन् । अन्य मुलुकबाट आएका नेताहरूसँग पनि मन्त्री खनालको भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा बंगलादेशका विदेशमन्त्री खलिलुर रहमान, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथ, भुटानका विदेशमन्त्री डीएन ढुंगेल, ओमानका विदेशमन्त्री बद्र हमाद अल बुसैदी, सेसेल्सका विदेशमन्त्री ब्यारी फाउरलगायतले पनि सम्बोधन गर्नेछन् । त्यस्तै कम्बोडिया, इजिप्ट, माडागास्कर, साउदी अरेबिया, सिंगापुर, कोम्बो, थाइल्यान्ड, यूकेका अधिकारीहरू पनि सहभागी हुने आयोजक इन्डिया फाउन्डेसनले उल्लेख गरेको छ ।

इन्डिया फाउन्डेसनले सन् २०१६ देखि यो कार्यक्रम गर्दै आएको छ । सम्मेलनमा नेपालका तर्फबाट सहभागिता रहँदै आएको छ । गतवर्ष फेब्रुअरीमा मस्कटमा भएको आठौं सम्मेलनमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी भएकी थिइन् ।

हिन्द महासागर क्षेत्रमा सुरक्षा र स्थिरता, समुद्री व्यापार, आर्थिक सहकार्य, जलवायु परिवर्तन र समुद्री स्रोतको संरक्षणमा संयुक्त रणनीति बनाउने उद्देश्य लिएर यस कार्यक्रमको आयोजना गरिँदै आएको छ । ८ वर्षमा यो सम्मेलन हिन्द महासागर क्षेत्रका मुलुकहरूका लागि पारस्परिक मुद्दाहरूमा छलफल गर्ने प्रमुख मञ्च बनेको इन्डिया फाउन्डेसनको वेब साइटमा उल्लेख छ । क्षेत्रीय सुरक्षा र विकासका लागि सहयोगको सम्भावनाहरूमाथि छलफल गर्न यस क्षेत्रका साझेदारहरूलाई साझा मञ्चमा ल्याउने कार्य सम्मेलनले गर्दै आएको पनि फाउन्डेसनले जनाएको छ ।

यसैबीच परराष्ट्रमन्त्री खनालसँग सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्रीमा नियुक्ति भएको १० दिनपछि खनालले पहिलो विदेशी कूटनीतिज्ञलाई भेटेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका हुन् ।

भेटका क्रममा राजदूत श्रीवास्तवले भारतका विदेशमन्त्री एस जयशंकरका तर्फबाट मन्त्री खनाललाई बधाई तथा शुभकामना सन्देश दिएका थिए । साथै, दुई देशबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल भएको परराष्ट्रका प्रवक्ता क्षेत्रीले बताए ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully