परिवारलाई आर्थिक अभावबाट मुक्ति दिलाउन कुवेत पुगेकी यमुना सुनारको मृत्युले उनको परिवार र दुई छोरी गहिरो शोकमा डुबेका छन्।
What you should know
वीरेन्द्रनगर — सुर्खेत सिम्ताका ज्ञानेन्द्र सुनारलाई गत फागुन २२ मा कुवेतबाट कसैले फोनमा सुनाए, ‘तिम्रो बहिनी यमुना अब रहिनन्, शव घर लैजान बन्दोबस्त गर्नु ।’ गत भदौमा वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी बहिनीको मृत्युको खबर सुनेपछि उनको मनमा सन्नाटा छायो । उनलाई यमुना काम गर्दै आएको घरकै व्यक्तिले बहिनीको मृत्युको खबर सुनाएका थिए ।
कामको सिलसिलामा मलेसियामा रहेका ज्वाईँ र आमा आउने दिन गनेर घरमा बसेका दुई भान्जीलाई ज्ञानेन्द्रले यो खबर सुनाउन सकेनन् । लुकाएर नलुक्ने यो खबरले उनीसँगै सल्यानको कुमाख गाउँपालिकास्थित यमुना सुनारको घर पनि शोकमा डुब्यो । केहीबेरमै कुवेतस्थित नेपाली दूतावासबाट पनि फोन गरेर ‘यस्तो नहुनु थियो, भयो’ भनेर बहिनीको मृत्युको खबर सुनाएको ज्ञानेन्द्रलाई बताए ।
तीन वर्षको कुवेत बसाइँपछि बिदामा नेपाल फर्किएकी यमुना गत भदौमा फेरि गएकी थिइन् । दाई ज्ञानेन्द्रका अनुसार उनी गत मंसिरदेखि बिरामी थिइन् । निमोनियाले ग्रसित बनेकी उनलाई ‘म्यानेन्जाइटिस’ भएको त्यतिबेला नै परिवारलाई जानकारी गराइएको थियो ।
परिवारले त्यतिबेला नै फर्काउन पहल गरे पनि यमुनाको स्वास्थ्य अवस्था गम्भीर भएका कारण निको भएपछि मात्रै नेपाल फर्काउन मिल्ने बताइएको ज्ञानेन्द्रले जानकारी दिए ।
परिवारका लागि खुसी बटुल्न विदेश गएकी ३३ वर्षीया यमुना तीन दिनअघि बाकसमा फर्किएकी छन् । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पुगेर दाई ज्ञानेन्द्रले शव घर ल्याएका हुन् । कमजोर आर्थिक अवस्था, दुई छोरीको पालनपोषण र भविष्यको चिन्ताले उनलाई घरभन्दा टाढा पुर्यायो ।
घरेलु कामदारको रुपमा एक मेनपावर कम्पनीमार्फत तीन वर्षअघि उनी कुवेत गएकी थिइन् । बिदा सकिएपछि गत भदौ २६ मा पुरानै काममा फर्किएकी उनको छोरीहरूलाई राम्रोसँग पढाउने र परिवारलाई अभावबाट बाहिर निकाल्ने सपना अधुरै बनेको छ ।
तीन वर्षको अवधिमा उनले आर्थिक अवस्था सुधार गर्दैथिइन् । विदेश जाँदा र घरखर्चका लागि लिएको ऋण तिरिसकिएको थियो, घरमा सन्तोष देखिन थालेको थियो । ‘अब बहिनीका दुःखका दिन सकिँदै छन् भन्ने लाग्थ्यो । तर अब उनी आफै रहिनन्, यी भान्जीले अब कसको मुख हेर्ने ?,’ ज्ञानेन्द्रले भने ।
पश्चिम एसियामा जारी द्वन्द्वका कारण उनको शव ल्याउन पनि ढिलाइ भयो । झन्झटिलो कागजी प्रक्रियापछि तीन दिनअघि मात्रै उनको शव नेपाल ल्याइएको हो । यमुनाका श्रीमान् तीन वर्षदेखि मलेसियामा छन् । १५ र ११ वर्षका दुई छोरी अहिले सुर्खेतको सिम्तास्थित मामा ज्ञानेन्द्रको घरमा बसेर पढिरहेका छन् ।
ज्ञानेन्द्रका अनुसार यमुनाको मृत्युपश्चात पाइने बिमावाफतको रकमका लागि काजकिरियापछि कागजी प्रक्रिया पूरा गरिनेछ । ‘बिमा रकमका लागि पालिकाबाटै काम गर्न मिल्ने रहेछ,’ उनले भने, ‘वैदेशिक रोजगार विभागबाट काजकिरिया सकेर गरौंला भन्नुभएको छ ।’ बुधबार यमुनासहित कुवेतमा मृत्यु भएका नौ जनाको शव नेपाल ल्याइएको हो ।
