कुवेतमा विष्फोट लगत्तै बेहोस भइन्, भोलिपल्ट मृत्युको खबर आउँदा परिवारमा बज्रपात

वैदेशिक रोजगारीको सिलसिलामा १४ महिनाअघि कुवेत पुगेकी ४१ वर्षीया कोपिला अधिकारीको मृत्युले परिवारमा बज्रपात भएको छ ।

चैत्र २२, २०८२

भोटराज राई

She fainted immediately after the explosion in Kuwait, and the family was shocked when news of her death came the next day.

What you should know

उदयपुर — विदेश गएर कमाउने र फर्केर परिवारसँग रमाउने सपना सबैको हुन्छ । तर यस्तो अवसर सबैलाई मिल्दैन । कतिपयको बीचमै सपनामात्र टुट्दैन, ज्यानै गुम्छ । यता परिवार र आफन्तमा बज्रपात हुन्छ ।  

उदयपुरको बेलका नगरपालिका–३ माइतीभई पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका घरभएकी कोपिला अधिकारी (थामी)को परिवारमा यस्तै घटना भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा १४ महिनाअघि कुवेत पुगेकी ४१ वर्षीया कोपिलाको मृत्युले परिवारमा बज्रपात भएको छ । उनका दुई छोरा र तीन छोरी टुहुरा बन्न पुगेका छन् ।

भाई मानव अधिकारीका अनुसार एक महिनाअघि मृत्यु भएकी उनको बुधबार मात्र नेपालमा शव आइपुगेर परिवारले अन्तिम संस्कार गरिएको छ । त्यहाँ एक विद्यालयको क्यान्टिनमा कामदार रहेकी उनको हृदयघात भएर मृत्यु भएको खबर आएको थियो । 

खासगरी इरान–अमेरिका, इजरायल युद्धको क्रममा विद्यालयनजिकै विष्फोट भएका कारणले एक्कासी स्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएकी उनी निको भइनन् । भोलिपल्ट नै अस्पतालले मृत घोषणा गरेको जानकारी आएको भाई मानवले बताए ।  

उनकै आश्रयमा श्रीमान् र छोराछोरी काठमाडौंमा डेरा गरी बस्दै आएका थिए । श्रीमती विदेश गएपछि बलिभद्र छोराछारीको रेखदेख गर्दै आएका थिए । ‘दिदीको मृत्युले उहाँको परिवारमा बज्रपात परेको छ । भान्जाभान्जीको लालन–पालन र शिक्षा–दिक्षामा समस्या आइपरेको छ,’ उनले भने,‘परिवारको कमाइ गर्ने मूल सहारा नै गुमेको छ।’

उनको मृत्युको खबरले बुवा ७२ वर्षीय पुण्यबहादुर र आमा ६८ वर्षीया मुगाकुमारी अधिकारी बेलाबेला बेहोस भइरहेका छन् । दुई छोरी र एक छोरा मध्येकी उनी जेठी छोरी थिइन् । परिवारजनका अनुसार उनी दलालको भरमा भिजिट भिषामा कुवेत पुगेकी थिइन् । दिदी भिजिट भिषामा कुवेत गएको भाई मानवले बताए । 

भोटराज भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully