आयोजनाअन्तर्गत १५.८ किलोमिटर सडक खण्ड चालु आर्थिक वर्षमै पहिलो तहको कालोपत्रे सक्ने लक्ष्य रहेकाले मन्त्रालयले उक्त रकम दिएको हो । आयोजनाले यसबाहेक अझै १ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ ।
काठमाडौं — अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनालाई अर्थ मन्त्रालयले २० करोड रुपैयाँ उपलब्ध गराएको छ ।
आयोजनाअन्तर्गत १५.८ किलोमिटर सडक खण्ड चालु आर्थिक वर्षमै पहिलो तहको कालोपत्रे सक्ने लक्ष्य रहेकाले मन्त्रालयले उक्त रकम दिएको हो । आयोजनाले यसबाहेक अझै १ अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ ।
भक्तपुर र काभ्रे जोड्ने ६ लेनको यो सडक विस्तारमा चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट अपुग भएपछि थप रकम माग गरिएको हो । चालु आर्थिक वर्षमा आयोजनाले ३ अर्ब रुपैयाँ माग गरेको थियो । सडक र पुल निर्माणका लागि ७० करोड रुपैयाँ मात्र विनियोजन भएको थियो । जसमा ६० करोड सडक विस्तार र पुल निर्माणका लागि १० करोड छुट्टयाइएको थियो ।
उक्त रकम अपुग भएर निर्माणकै क्रममा थप १५ करोड रुपैयाँ पाए पनि उक्त रकम बराबरको काम भइसकेको आयोजनालो जनायो । थप आवश्यक पर्ने रकम सडक विभागमार्फत अर्थ मन्त्रालयमा पठाइसकेएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजयकुमार महतोले बताए ।
‘दुवै खण्डमा चालु आर्थिक वर्षमा पहिलो तहको कालोपत्रे सक्ने लक्ष्य हो,’ उनले भने, ‘सोहीअनुसार चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ चाहिन्छ ।’ इरान–अमेरिका/इजरायल युद्धका कारण पेट्रोलियम पदार्थको मुल्यवृद्धिले गर्दा बिटुमिन पाउन समस्या भएको उनले बताए । ‘बिटुमिन पाए पनि महंगो रकम तिर्नु पर्छ,’ उनले भने, ‘यसले गर्दा निर्माणमा असर पर्ने देखिन्छ, जसले गर्दा कामको गति पनि केही कम भएको छ ।’
ठेक्का भएको २ खण्डमध्ये एउटा खण्ड हो, सूर्यविनायक–साँगा । यो खण्डको दूरी ७.५ किमि छ । यस खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २४ पुस २०७९ मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ रहेकामा प्रगति ४८ प्रतिशत छ । यस खण्डमा कालोपत्रे भइनसकेको र २ किमिमा कालोपत्र गरिँदैछ । साँगा खण्डमा १ किमि अन्डरपास बनिरहेको र काम ६० प्रतिशत सकिसकेको छ । आउने बर्खाअघि नै अन्डरपासबाट सवारीसाधन आउजाउ गर्न पाउने प्रमुख महतोको भनाइ छ । म्याद गत २७ पुसमा सकिएर २९ फागुन २०८३ सम्म थप गरिएको छ ।
काम भइरहेको अर्को खण्ड हो, साँगा–धुलिखेल । यस खण्डको दूरी ८.३ किमि र निर्माण प्रगति ६८ प्रतिशत छ । साढे २ किमि सडक कालोपत्र भइसकेको छ । ३ किमि ६ लेन सडक कालोपत्र भएको आयोजनाले जनायो । यस खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले २७ मंसिर २०७९ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको हो । म्याद गत २७ मंसिरमा सकिसकेको र अहिले २३ मंसिर २०८३ सम्म थप गरिएको छ । अहिलेसम्म समग्र आयोजनाको निर्माण प्रगति ५६ प्रतिशत छ ।
यस सडक खण्डमा पर्ने ३ वटा पुलको भने छुट्टै ठेक्का गरिएको छ । पुलको ठेक्का हिमदुङ एन्ड थोकर–रामजानकी जेभीले लिएका छन् । सडक निर्माण आधाभन्दा बढी सकिँदा पुल निर्माणले भने अझै गति लिन सकेको छैन । ३ वटा पुलको एउटै प्याकेजमा ठेक्का गरिएको आयोजनाले जनायो ।
२ वटा पुलको भने बल्ल निर्माण सुरसार हुँदैछ । एउटा पुलको मात्र काम भइरहेको छ । ठेक्का डिजाइन एन्ड बिल्ड प्रविधिमा भएको हो । ६ चैत २०७९ मा गरिएको सम्झौताअनुसार ५ असोज २०८२ भित्र पुल निर्माण सकिसक्नु पर्ने हो । भ्याटसहित ३ वटा पुलको ठेक्का रकम ५७ करोड ५० लाख रुपैयाँ छ । सम्झौता अवधिमा काम नसकिएपछि अहिले ५ मंसिर २०८३ सम्म म्याद थप गरिएको छ ।
जगाती पुल भक्तपुर र पुण्यमाता तथा महादेव खोला पुल काभ्रेमा पर्छन् । महादेव खोला पुलमा काम भइरहेको र निर्माण प्रगति १२ प्रतिशत छ । पुण्यमाता र जगाती पुलको सुरुको डिजाइनमा पुनर्विचार गरेर बल्ल निर्माण सुरु गरिएको आयोजनाले जनायो ।
