उनको आग्रह छ- ‘कसैको वास्तविक पहिचान नबुझी नामकै आधारमा चरित्रहत्या नगरिदिनुहोस् । यस्ता आरोपले निर्दोष व्यक्तिको संसार उथलपुथल पारिदिन सक्छ ।’
What you should know
अछाम — सुर्खेत घर भई दुई वर्षदेखि फिनल्यान्डमा कार्यरत संगम विष्टलाई सामाजिक सञ्जालमा खासै चासो थिएन । तर, अप्रिल ३ को रात उनको जीवनमा एउटा यस्तो 'डिजिटल सुनामी' आयो, जसले उनलाई सात समुद्रपारि पनि शान्तिसँग बस्न दिएन ।
अमेरिका बस्ने अर्की संगम विष्टले आफूमाथि भएको हिंसाबारे सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि नाम एउटै भएकै कारण फिनल्यान्डकी संगम 'साइबर बुलिङ' को सिकार बन्न पुगिन् ।
फिनल्यान्डमा कामबाट बिदा भएको दिन उनी अबेरसम्म सुतेकी थिइन् । नेपालमा रातको १ बज्दा फिनल्यान्डमा रात पर्दै थियो । अमेरिकामा रहेकी संगमले आफ्नो पीडा सार्वजनिक गरेलगत्तै नेपालको सामाजिक सञ्जाल तातिसकेको थियो, यसबारे फिनल्यान्डकी संगम पूर्णतः अनभिज्ञ थिइन् ।
दिउँसो १२ बजेतिर मोबाइल चलाउँदा उनले आफ्नो टिकटक अकाउन्टमा अस्वाभाविक रूपमा भ्युज र फलोअर्स बढेको देखिन् । 'म सामाजिक सञ्जालमा धेरै सक्रिय छैन । एकाएक लाखौं भ्युज र फलोअर्स बढेको देखेर म छक्क परेँ,' उनले त्यो दिन सम्झिँदै भनिन् । कौतूहलवश उनले एक मिनेटभित्रै दुईवटा भिडियो पोस्ट गरिन्, जसमा केही बेरमै लाखौं भ्युज आए ।
तर, जब उनले म्यासेज बक्स खोलिन्, स्तब्ध भइन् । त्यहाँ कुनै प्रशंसा थिएन, बरु चरित्रहत्या गर्दै पठाइएका गाली र निकृष्ट आरोपको चाङ थियो । 'म्यासेज रिक्वेस्टमा गालीको बाढी देखेर म यति अत्तालिएँ कि मसँग बयान गर्ने शब्द नै छैन । मानसिक रूपमा म एकाएक विचलित भएँ,' उनले भनिन्, 'ती म्यासेजहरूमा केटा मान्छेलाई फसाउन खोजेको, बार्गेनिङ गरेको र अर्काको घरबार बिगारेको जस्ता जघन्य आरोप लगाइएका थिए ।' डिजिटल भिडले सामान्य चेतसमेत गुमाएको अनुभूति गर्दै उनले म्यासेज डिलिट र ब्लक गर्न थालिन्, तर गाली आउने क्रम रोकिएन ।
प्रहार यतिमै सीमित रहेन । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको तस्बिरलाई अमेरिकाको विवादित घटनासँग जोडेर भाइरल बनाउन थाले । आफू विवाहित रहेको र दुईवटा परिवारको इज्जतसँग जोडिएको भन्दै उनले यस घटनाले आफूलाई गम्भीर मानसिक तनाव दिएको बताइन् । आफू उक्त विवादित व्यक्ति नभई नाम मात्र मिलेको भनेर टिकटकमा स्पष्टीकरण दिने प्रयास गर्दा पनि गालीगलौज नरोकिएको उनको गुनासो छ । 'मैले टिकटकबाटै म त्यो व्यक्ति होइन भन्दा पनि प्रहार रोकिएन, उल्टै थप गाली आउन थाल्यो,' उनले भनिन् ।
यस घटनाले नेपाली समाजको सामाजिक सञ्जाल प्रयोगको कुरूप पाटोलाई उजागर गरेको उनको बुझाइ छ । कसैलाई न्याय दिलाउने नाममा सत्यतथ्य नबुझी अर्को निर्दोष व्यक्तिमाथि प्रहार गर्नु गम्भीर अपराध भएको उनले बताइन् ।
'अमेरिका, फिनल्यान्ड र नेपालबीचको दुरी हजारौं माइल छ । तर सामाजिक सञ्जालको गलत ट्यागले त्यो दुरीलाई मेटाएर निर्दोषलाई अपराधीको रङ दलिदियो,' उनले आग्रह गर्दै भनिन्, 'एउटै नाम हुनु मेरो अपराध थिएन, तर डिजिटल भिडले मलाई अपराधीकै कठघरामा उभ्यायो । कसैको वास्तविक पहिचान नबुझी नामकै आधारमा चरित्रहत्या नगरिदिनुहोस् । यस्ता आधारहीन आरोपले कुनै निर्दोषको संसार उथलपुथल पारिदिन सक्छ ।'
