शव नेपाल आयो, परिवार कुवेतमै छुटे

२२ वर्षदेखि कुवेतमा काम गरिरहेका दाङका खुसीराम चौधरीको निधनले घरमा विरामीले थलिएका बृद्ध बाबुआमा बिचल्लीमा परेका छन्, सँगै रहेका श्रीमती र छोराछोरीले कुवेतमै छुटेका छन् ।

चैत्र २२, २०८२

दुर्गालाल केसी

Body arrives in Nepal, family remains in Kuwait

What you should know

दाङ — दाङको गढवा गाउँपालिका–२ महदेवाका खुसीराम चौधरी २२ वर्षअघि कुवेत गएका थिए । वैदेशिक रोजगारीमा गएका खुसीराम कुवेतमै रमाए । १४ वर्ष अघिसँगै काम गर्ने फिलिपिन्सकी मित्सी समसोनसँग विवाह गरे । त्यसपछि उनको कुवेत बसाइँ लम्बियो ।

बेलाबेला उनी नेपाल आउने जाने गर्थे । पछिल्लो पटक दुई वर्षअघि आएर गएका थिए । यसपाली चैतमै आउने योजना थियो । उनीछिट्टै नेपालमै बस्ने गरी आउने योजना सुनाउँथे । फागुन ३० गते खाना खाएर सुतेका खुसीराम बिहान उठ्न सकेनन् । हृृदयघातका कारण ५१ वर्षीय खुसीरामको ज्यान गयो । 

खुसीरामकी १२ वर्षीया छोरी किमले बुवाको मृत्युको खबर दाङमा रहेका आफन्तलाई सुनाइन् । भैरहवा विमानस्थल हुँदै घर फर्कने इच्छा बोकेका खुसीराम भैरहवा विमानस्थलबाटै घरसम्म त पुगे तर जिवित होइन बाकसमा । ‘मामाको भैरहवा विमानस्थलबाट घर आउने चाहना पूरा हुन पाएन, अन्तिममा बाकसमा मात्रै आउनुभयो,’ खुसीरामका भान्जा हेमनारायण चाैधरीले भने । 

एक्कासी चार्टर जहाजमा शव नेपाल पठाउने भएपछि श्रीमती र छोराछोरी सँगै नेपाल आउन पाएनन् । खुसीरामकी श्रीमती मित्सी, १२ वर्षीया छोरी किम र दुई वर्षीय छोरा केभिन कुवेतमै छन् । उनीहरु तकात आउनसक्ने अवस्था छैन । 

घरमा ७५ वर्षीय बुवा लेदु र ७४ वर्षीया आमा रामकलीमात्रै छन् । बुवा पक्षघातले थला परेको एक दशक भइसक्यो। दिसापिसाब सबै ओछ्यानमै हुन्छ । बृद्धा श्रीमतीले नै उनको स्याहार, खानपान र रेखदेख गरेकी छन् । उनी पनि रक्तचापको औषधि खान्छिन् । बुवाआमाको औषधि र घरखर्च सबै खुसीरामले पठाउँदै आएका थिए ।

‘हाम्रा दुःख बढे, श्रीमान्को स्याहार त मैले गरिरहेकी छु, म नै बिरामी भएर थला परे के हालत होला?,’ आमा रामकलीले भनिन्,‘अब छोराको सहायता पाइएला भन्ने बेला यस्तो हुनगयो । हामीले पनि धेरै दुःख पाउन लेखेको रैछ । के नै बाँकी रह्यो र ? सबै सकियो ।’

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully