लामो समयसम्म पनि विभिन्न बहानामा वार्षिक प्रतिवेदन नबुझाए कानुनी प्रक्रियामा जाने महानगरको तयारी छ ।
काठमाडौँ — काठमाडौं महानगरपालिकाभित्र करिब १ हजार ९ सय सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये करिब ३८ प्रतिशतले मात्रै प्रतिवेदन बुझाउने गरेका छन् ।
नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो । महानगर सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका करिब १ हजार ९ सय सहकारीमध्ये नियमित रूपमा ७ सय २३ ले मात्रै वार्षिक प्रतिवेदन बुझाउने गरेका छन् ।
विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार महानगरले यसअघि पटकपटक नियमित रूपमा वार्षिक प्रतिवेदन बुझाउन आग्रह गर्दै आएको छ । लामो समयसम्म पनि विभिन्न बहानामा वार्षिक प्रतिवेदन नबुझाए कानुनी प्रक्रियामा जाने महानगरको तयारी छ ।
'कति सहकारी सम्पर्कमा नै आउँदैनन्, कति कारबाहीमा परेको हुनाले गर्दैनन् । सहकारीले कानुनविपरीत ऋण प्रवाह गरेका सहकारीले पनि नियमित रूपमा प्रतिवेदन नबुझाउने अभ्यास छ,' उनले भने, 'ती सहकारी संस्थालाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन कामपा सहकारी विभागमा बुझाउन यसअघि निर्देशन दिइसकेको छ ।'
उनका अनुसार लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खोरेजीको प्रक्रियामा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि खारेजी प्रक्रिया अघि बढाउने भएको छ ।
