विद्युत् पोलमा गुजुल्टो परेका तारहरूले पटक–पटक सर्ट सर्किट र आगलागीका घटना निम्त्याउँदै आएका छन् भने यसले राजधानीको सौन्दर्यसमेत बिगारेको छ।
What you should know
काठमाडौँ — काठमाडौं उपत्यकाका अधिकांश मुख्य क्षेत्रमा भूमिगत केबल बिछ्याउने काम सम्पन्न भइसके पनि सडकहरूमा अझै विद्युत् तार झुण्डिएको अवस्थामा देखिन्छ।
नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँग समन्वय अभावका कारण घर–घरमा सेवा जडान गर्न नसक्नु मुख्य समस्या भएको जनाएको छ।
विद्युत् पोलमा गुजुल्टो परेका तारहरूले पटक–पटक सर्ट सर्किट र आगलागीका घटना निम्त्याउँदै आएका छन् भने यसले राजधानीको सौन्दर्यसमेत बिगारेको छ।
काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख सुमन श्रेष्ठका अनुसार केबल बिछ्याउने काम अधिकांश क्षेत्रमा महिनौँअघि नै सम्पन्न भइसकेको छ। ‘केही सबस्टेसनहरूको परीक्षण र चार्जिङ पनि भइसकेको छ, तर स्थानीय तहबाट सेवा केबल जडानको अनुमति नपाउँदा भूमिगत प्रणाली सञ्चालन गर्न सकिएको छैन,’ उनले भने।
उपत्यकामा विद्युत् तारसँगै इन्टरनेट र टेलिफोनका तार पनि तत्काल हट्ने सम्भावना कम देखिएको छ। ती तारलाई भूमिगत गर्न ठूलो लगानी आवश्यक पर्नेछ।
प्राधिकरणका अनुसार लैनचौर–जमल, त्रिपुरेश्वर–टेकु, लैनचौर–पानीपोखरी र सोह्रखुट्टे–टेकु क्षेत्रमा केबल बिछ्याउने काम सम्पन्न भइसकेको छ। चुचेपाटी, गौशाला र विमानस्थल क्षेत्रमा काम जारी छ भने नयाँबजार, धोबीखोला करिडोर, महांकाल, महाराजगञ्ज र बालाजुमा काम सकिएको छ।
त्यस्तै, तीनकुने–कोटेश्वर, नयाँ बानेश्वर–पुरानो बानेश्वर, मुलपानी, चाबहिल, कीर्तिपुर–कुलेश्वर र बानेश्वर–जोरपाटी क्षेत्रमा काम सम्पन्न वा अन्तिम चरणमा पुगेको छ। केबल जडानको अनुमति पाए तीन महिनाभित्र भूमिगत प्रणाली सञ्चालनमा ल्याउन सकिनेछ।
ललितपुर–भक्तपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भक्तपुरका मुख्य सडकमा काम सम्पन्न भइसकेको जनाएको छ भने ललितपुरका केही क्षेत्रमा पनि काम सकिएको छ। आयोजना प्रमुख दिपेश श्रेष्ठले स्थानीय तहसँग समन्वय गर्दै बाँकी काम अघि बढिरहेको बताए।
प्राधिकरणले करिब नौ वर्षअघि विद्युत् वितरण प्रणाली सुधार गर्न भूमिगत केबल बिछ्याउने परियोजना सुरु गरेको थियो। नेपाल सरकार र एसियाली विकास बैंकको संयुक्त प्रयासमा सञ्चालन गरिएको उक्त आयोजनाको लक्ष्य झुण्डिएका तार हटाएर राजधानीको सौन्दर्य सुधार गर्नु रहेको थियो।
यस सम्बन्धी रिपोर्ट आजको काठमाडौं पोस्टमा प्रकाशित छ। विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोस्।
