संघीय संसद्का दुवै सदनको पहिलो बैठक बस्दै

राष्ट्रिय सभा पहिलो पटक सत्तापक्षविहीन बनेको छ ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

The first meeting of both houses of the Federal Parliament is underway.

काठमाडौँ — संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ बजे बस्दै छ ।प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुन लागको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरेका थिए । प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा वालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ । शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूबारे पनि सदनलाई जानकारी गराइनेछ ।

त्यसपछि सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम संसद्का कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि सभामा राख्ने कार्यसूची छ ।

अधिवेशन आरम्भ भएको विषयमा राजनीतिक दलका नेताहरूले मन्तव्य राख्ने कार्यसूची प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलको बैठकले तय गरेको छ । बुधबार भएको सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति पनि तय गरेको छ । जसअनुसार आगामी आइतबार सभामुखका लागि निर्वाचन हुनेछ । 

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाबाट १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । प्रतिनिधिसभामा महावीर पुन एक्ला स्वतन्त्र सांसद हुन् । 

राष्ट्रिय सभा पहिलो पटक सत्तापक्षविहीन बनेको छ । प्रतिनिधिसभामा करिब दुईतिहाइ सिट जितेर सरकार गठन गरेको रास्वपाको प्रतिनिधित्व राष्ट्रिय सभामा छैन । राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बुधबारको बैठकमा सत्तापक्ष नभएको अवस्थामा सिट कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भएको थियो । 

राष्ट्रिय सभा उपाध्यक्ष बस्ने लहरमा मन्त्रीहरू बस्ने र बाँकी लहरमा दलीय हैसियतअनुसार सिट व्यवस्थापन गर्ने सहमति भएको छ । राष्ट्रिय सभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका ३ (महन्थ ठाकुरसहित), जनमोर्चाका १ र राष्ट्रपतिबाट मनोनीत २ (राष्ट्रिय सभा अध्यक्षसहित) छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त छ ।

कान्तिपुर

Link copied successfully