'आयोगले २३ को घटनाको अनुसन्धान र कारबाही सिफारिस गर्यो तर २४ को भ्याइएन भन्यो । आयोगका सदस्यबाट नियतवश भएको होइन भन्न सकिन्न ।'
काठमाडौँ — कांग्रेस सांसद भीष्मराज आङदेम्बेले भदौ २३ र २४ का एकएक घटनालाई केलाउन जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले कार्की आयोगको प्रतिवेदनमाथि पनि शंका गरे ।
'कसैले २३ को दमन नदेख्ने, २४ को ध्वंस देख्ने । कसैले २४ नदेख्ने,' उनले भने, 'आयोगले २३ को घटनाको अनुसन्धान र कारबाही सिफारिस गर्यो तर २४ को भ्याइएन भन्यो । आयोगका सदस्यबाट नियतवश भएको होइन भन्न सकिन्न ।'
आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै उनले भने, 'यो सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्र पढ्ने ?'
कांग्रेस दोषी कोही उम्कनुहुन्न र निर्दोष फस्नुहुन्न भन्नेमा दृढ रहेको उनको भनाइ थियो । 'जेनजी विद्रोहजस्तो घटना भविष्यमा नहोस् भन्ने सोचविचार गर्न जरुरी छ,' उनले भने, 'संसद् भवन २४ गते खरानी भयो । त्यो बेलको खरानी सम्झेर संकल्प गरौं- यो देशलाई खरानी बनाउन अब कोही अघि नसरौं ।'
