संघीय संसद् अधिवेशन आजदेखि, सभामुखको निर्वाचन आइतबार

राष्ट्रिय सभा पहिलो पटक सत्तापक्षविहीन, राष्ट्रिय सभा उपाध्यक्ष पनि छान्ने तयारी

चैत्र १९, २०८२

जयसिंह महरा

Federal Parliament session begins today, Speaker election on Sunday

काठमाडौँ — प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन बिहीबार सुरु हुँदै छ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय  संसद्का दुवै सदनको पहिलो बैठक दिउँसो २ बजेका लागि आह्वान गरेका छन् । 

प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा वालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ ।

शाह नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूबारे पनि सदनलाई जानकारी गराइनेछ । त्यसपछि सभामुखको भूमिकामा रहेका केसीले प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम संसद्का कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि सभामा राख्ने कार्यसूची छ ।

सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूको मनोनयन गर्नुपर्ने नियमावलीको व्यवस्था छ । सोहीअनुसार केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूलाई मनोनयन गर्नेछन् ।

सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूको मनोनयन गर्नुपर्ने नियमावलीको व्यवस्था छ । सोहीअनुसार केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूलाई मनोनयन गर्नेछन् ।त्यसपछि अधिवेशन आरम्भ भएको विषयमा राजनीतिक दलका नेताहरूले मन्तव्य राख्ने कार्यसूची प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलको बैठकले तय गरेको छ । बुधबार भएको सर्वदलीय बैठकले सभामुख निर्वाचनको मिति पनि तय गरेको छ । जसअनुसार आगामी आइतबार सभामुखका लागि निर्वाचन हुनेछ । 

‘सभामुखको निर्वाचनसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको पहिलो बैठकमा पेस हुनेछ । सभामुखका लागि शुक्रबार मनोनयन दर्ता गर्ने कार्यतालिका बनेको छ,’ रास्वपा सांसद कवीन्द्र बुर्लाकोटीले भने । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख निर्वाचनको कार्यतालिका बिहीबार नै सार्वजनिक गरिने जानकारी दिए । निर्वाचनपछिको पहिलो अधिवेशन सुरु भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने संविधानको व्यवस्था छ ।

संविधानको धारा ९१ मा ‘प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने’ व्यवस्था छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

संविधानमा लेखिएको छ, ‘तर प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन । सभामुखको निर्वाचन गर्ने दिन तोकेपछि बिहीबारकै बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गर्ने कार्यसूची छ ।

जसमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो  संशोधन) अध्यादेश र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश छन् । त्यसपछि ज्येष्ठ सदस्य केसीले पूर्वसांसदहरू ऋषिकेश गौतम,  मोहम्मद अफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र राष्ट्रिय सभाका सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । 

प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची तय गर्न बसेको सर्वदलीय बैठकमा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम उपस्थित थिइन् । राजनीतिक दलतर्फ रास्वपाबाट डीपी अर्याल, कवीन्द्र बुर्लाकोटी, विपिन आचार्य, समीक्षा बाँस्कोटा र प्रकाशचन्द्र परियार थिए ।

कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, एमालेबाट गणेशसिंह ठगुन्ना र गुरुप्रसाद बुर्लाकोटी, नेकपाबाट वर्षमान पुन, श्रम संस्कृति पार्टीबाट आरेन राई र राप्रपाबाट खुस्बु ओली सहभागी थिए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाबाट १ सय ८२ सांसद छन् । कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद छन् । प्रतिनिधिसभामा महावीर पुन एक्ला स्वतन्त्र सांसद हुन् । 

सत्तापक्षविहीन राष्ट्रिय सभा  राष्ट्रिय सभा पहिलो पटक सत्तापक्षविहीन बनेको छ । प्रतिनिधिसभामा करिब दुईतिहाइ सिट जितेर सरकार गठन गरेको रास्वपाको प्रतिनिधित्व राष्ट्रिय सभामा छैन । राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बुधबारको बैठकमा सत्तापक्ष नभएको अवस्थामा सिट कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भएको थियो । 

राष्ट्रिय सभा उपाध्यक्ष बस्ने लहरमा मन्त्रीहरू बस्ने र बाँकी लहरमा दलीय हैसियतअनुसार सिट व्यवस्थापन गर्ने सहमति भएको छ । राष्ट्रिय सभामा कांग्रेसका २४, नेकपाका १७, एमालेका १०, जसपा नेपालका ३ (महन्थ ठाकुरसहित), जनमोर्चाका १ र राष्ट्रपतिबाट मनोनीत २ (राष्ट्रिय सभा अध्यक्षसहित) छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त छ ।

राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदको निर्वाचन यही अधिवेशनको सुरुमै गर्ने तयारी छ । कार्य व्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राजनीतिक दलहरूलाई उपाध्यक्षको निर्वाचनमा लाग्न आग्रह गरेका थिए । २४ चैतभित्र उपाध्यक्षको निर्वाचन गर्ने तयारी रहेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।  

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully