रमणीय रामारोशन : बालेन्द्र शाहको भाषणदेखि सरकारको कार्यसूचीसम्म

शासकीय सुधारका १०० बुँदामध्ये रामारोशन क्षेत्रको व्यवस्थित पर्यटन विकासका लागि एक महिनाभित्र योजना तयार गर्ने निर्णय संघीय सरकारले गरेको छ ।

चैत्र १८, २०८२

मेनुका ढुंगाना

Beautiful Rama Roshan: From Balendra Shah's speech to the government's agenda

What you should know

अछाम — बेली छकालै सुइना देख्या थेँ, सुदूरपश्चिम बनेको, देश बनेको...’

गत फागुन १८ गते धनगढीको खुलामञ्चमा गुञ्जिएको यो स्थानीय लबज र स्वरले सुदूरपश्चिममा चर्चा पायो । रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेन्द्र शाहले पर्यटकीय महत्त्व चिन्न्न नसकेको भन्दै राज्यको ध्यानाकर्षण गराएका थिए । उनले भनेका थिए, ‘मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनुपर्छ भन्छन्, तर स्विजरल्यान्डको बाउ बडिमालिका र त्यसको पराकाष्ठा रामारोशन यहीँ छ भने किन बनाउनु पर्यो स्विजरल्यान्ड ?’

त्यो चुनावी सम्बोधन अहिले सरकारी नीति र निर्णयमा बदलिएको छ । शाह प्रधानमन्त्री बनेपछि चैत १३ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकले पारित गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ७२ नम्बर बुँदामा अछामको रामारोशनले प्राथमिकता पाएको छ । उक्त बुँदामा अछामको रामारोशन र बाजुराको बडिमालिकालगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि एक महिनाभित्र कार्यान्वयन गर्न सकिने योजना तयार पार्ने उल्लेख छ । यसले वर्षौंदेखि ओझेलमा परेको रामारोशनलाई संघीय सरकारको मुख्य कार्यतालिकामा ल्याएको छ ।

Beautiful Rama Roshan: From Balendra Shah's speech to the government's agenda

रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत पूर्णबहादुर विकका अनुसार समुन्द्री सतहबाट २ हजारदेखि झन्डै ४ हजार मिटरसम्मको उचाइमा रहेको रामारोशन क्षेत्रलाई प्रकृतिले दिएको अनुपम उपहार मानिन्छ । ‘बाह्र बण्ड, अठार खण्ड’का नामले चिनिने यो क्षेत्रमा १२ वटा ताल र १८ वटा ठूला मैदान छन् । ५२ बिघा क्षेत्रफलमा फैलिएको किनेमिने मैदान अछामकै सबैभन्दा ठूलो चउर हो । जसको बीच भागबाट कैलाश खोला नागबेली परेर बग्छ । यहाँका तालहरूको आफ्नै विशिष्टता छ । जिंगाले ताल अंग्रेजी अक्षर ‘सी’ आकारको छ । जुन करिब ३ किलोमिटर लामो र २ किलोमिटर चौडा छ ।

त्यस्तै, करिब २ किलोमिटर लामो लामादह तालको छेउमा उभिँदा १० मिटरसम्म जलथल हल्लिएको महसुस हुन्छ । ‘यो आफैंमा एउटा अनौठो प्राकृतिक अनुभव हो । वसन्त ऋतुमा यहाँ १२ प्रकारका लालीगुराँस फुल्छन् र राष्ट्रिय चरा डाँफेको चिर्बिर आवाजले वनपाखा गुञ्जिन्छ । मृग, कस्तुरी, झारल र घोरलजस्ता वन्यजन्तुको यो सुरक्षित बासस्थान हो,’ उनले भने,‘संरक्षणको अभावमा ताउने जस्ता साना तालहरू अहिले पुरिने अवस्थामा पुगेका छन् । यहाँको चाका डाँडोबाट रातिमा तराईका सहरका बत्तीहरू सहजै देख्न सकिन्छ ।’

Beautiful Rama Roshan: From Balendra Shah's speech to the government's agenda

रामारोशनको विकासका लागि डेढ दशकअघिदेखि नै बजेट विनियोजन हुन थालेको हो । तर, हालसम्म कति बजेट आयो र कहाँ खर्च भयो भन्ने यकिन विवरण कुनै पनि निकायसँग छैन । ‘पहिले व्यक्तिको इच्छाअनुसार बजेट आयो, आवश्यकताअनुसार भएन । विभिन्न व्यक्तिले रामारोशनको नाम राखेर बजेट ल्याउने तर फिल्डमा काम नदेखाउने समस्या लामो समयसम्म रामारोशनले भोग्यो,’ पूर्णबहादुरले भने  । 

समितिले प्रदेश सरकारबाट हरेक वर्ष टुक्रे योजनाका लागि बजेट दिने गरेको उनको भनाइ छ । चालू आर्थिक वर्षमा पूँजीगततर्फको ५० लाख बजेटबाट स-साना निर्माणका काम भइरहेका छन् । ‘जिगाले तालको गहिराइ कति छ भन्ने अहिलेसम्म पनि थाहा छैन । तालको गहिराइको अध्ययनबाहेक अन्य क्षेत्रको डीपीआर भइसकेको छ । तर समितिले प्राप्त गरेको छैन,’ उनले भने,‘सरकारले सय योजनामा प्राथमिकताका साथ राखेपछि काम हुन्छ कि भन्ने आश लागेको छ ।’

Beautiful Rama Roshan: From Balendra Shah's speech to the government's agenda

शाहले धनगढीको सभामा भनेका थिए, ‘हामी नेपालीहरू माल भएको र चाल नपाएको मान्छेहरू पर्‍यौँ । सुदूरपश्चिमलाई जोड्नै सकेका छैनौं । जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौंको चोक-चोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौंसँग । सुरूमा गीत बज्नु पर्‍यो । त्यसपछि आवाज बज्छ, त्यसपछि माग पूरा हुन्छ ।’

शाहले चुनावी सम्बोधनमा बोलेको सुनेकै आधारमा रामारोशनमा पर्यटक आइरहेको समितिका अध्यक्ष गोपी खनालले बताए । ‘बालेनजीले रामारोशनका बारेमा बोलेपछि धेरै पर्यटक त पोखराबाट आइरहेका छन् । तर सडक राम्रो नभएको भन्दै गुनासो पनि राखिरहेका छन्,’ उनले भने,‘ रामारोशन पुग्न अहिले सबैभन्दा ठूलो बाधा कठिन सडक हो ।’ 

मुजाबगरदेखि रामारोशनसम्मको बाटो जोखिमपूर्ण छ । बर्खामा यो क्षेत्र पूर्ण रूपमा बन्द हुन्छ । कच्ची र साँघुरो बाटोका कारण पर्यटकहरू यहाँ पुग्न डराउँछन् । प्राकृतिक तालहरू सुक्ने, जडीबुटीको अवैध निकासी हुने र वन्यजन्तुको चोरी सिकारी बढ्ने क्रम नरोकिएको उनले बताए ।

यातायातको असुविधाले गर्दा यहाँ उत्पादित जडीबुटी, स्थानीय परिकार  कोदो, फापर, सिस्नो र महले बजार पाउन नसकेको उनले बताए ।  ‘यदि सडक मार्ग व्यवस्थित हुने हो भने धनगढी र सुर्खेतबाट आउने पर्यटकका लागि यो क्षेत्र एउटा उत्कृष्ट हिल स्टेसन बन्न सक्छ,’उनले भने । 

रामारोशन क्षेत्रमा अस्थायी रूपमा होटेल सञ्चालनमा रहेको र स्थायी रूपमा होटेल चलाउन पाइने या नपाइने यकिन नभएका कारण व्यवस्थित गर्न नसकिएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीको कार्यसूचीमा पर्नु गौरवको कुरा हो । अब संघीय सरकारले एक महिनाभित्र योजना माग्नुले हामीलाई पनि सक्रिय बनाएको छ । हामीले पर्यटकीय गुरुयोजना र सडक सुधारका लागि समन्वय सुरू गरिसकेका छौं,’ उनले भने,‘यो पटक कागजमा मात्र होइन, फिल्डमै काम हुनेमा हामी विश्वस्त छौं ।’

Beautiful Rama Roshan: From Balendra Shah's speech to the government's agenda

सरकारको पछिल्लो निर्णयलाई रामारोशनका स्थानीय व्यापारी र बासिन्दाले उत्साहजनक र ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन् । शाहले रामारोशनको चर्चा गरेपछि अहिले यो क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको व्यवसायी शमशेरबहादुर बोहराले बताए ।  उनले अहिले रामारोशनमा पर्यटकहरूका लागि खाने–बस्ने व्यवस्था मिलाउन टेन्ट क्यान्टिन सञ्चालन गरिरहेका छन् । स्थानीय पहिरन र मौलिक सत्कारका साथ उनी पर्यटकको स्वागतमा खटिएका छन् । बोहराका अनुसार वालेन्द्र शाहले रामारोशनका बारेमा बोलेपछि काठमाडौं, पोखरा, बुटवललगायत देशका विभिन्न सहरबाट पर्यटकहरू यहाँ पुग्न थालेका छन्।

‘अहिले मान्छेको चाप निकै बढेको छ । बाहिरबाट आउने पर्यटकलाई बाटो देखाउन र यहाँका ताल-मैदानहरू घुमाउन म आफैं गाइड बनेर जान्छु,’ बोहराले खुसी हुँदै भने, ‘यहाँ आउने पर्यटकहरूले रामारोशनको सौन्दर्य देखेपछि सोचेभन्दा धेरै राम्रो रहेछ भन्ने प्रतिक्रिया दिने गरेका छन् ।’ तर, सडकको दूरावस्थाले गर्दा टाढाबाट आउने पर्यटकहरूले सास्ती भोग्नुपरेकामा उनी चिन्तित छन् । सरकारी योजनाले सडक र व्यवस्थित होटलको खाका ल्याएमा यहाँको पर्यटनले अझै फड्को मार्ने उनले बताए ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully