सुर्खेतका ६ जना चोरी सिकार खेल्न बर्दिया निकुञ्ज पसेका थिए, एकको शव भेटियो भने पाँच जना भारततर्फ फरार भएको प्रहरीको अनुमान छ।
What you should know
बर्दिया —
गत फागुन २३ गतेदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न पसेका सुर्खेतका ६ जना सम्पर्कविहीनमध्ये एकको चैत ९ गते शव फेला पर्यो । निकुञ्जको बबई उपत्यकाको रातामाटे क्षेत्रको झ्याक्रे पानी खोला नजिक बराहताल गाउँपालिका–२ का ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेला पर्यो ।
खत्रीको शव नजिक एक थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी सुधीर राज शाहीले बताए । उनीसँग गएका अरु ५ जना बर्दियाको बाटो हुँदै भारततर्फ फरार भएको अनुमान प्रहरीको छ ।
चोरी सिकार गर्न गएका सुर्खेतका बराहतला–१ का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय राम बहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली, लेकवेशी नगरपालिका–८ का ४५ वर्षीय दुर्गा बहादुर सिजाली र टोप बहादुर खत्री भएको प्रहरी उपरीक्षक शाहीले जनाए ।
उनले विगत केही वर्षदेखि चोरी सिकारका आरोपी भएको प्रहरीको अनुसन्धानमा देखिएको बताए । खत्रीको मृत्यु १३ दिनअघि भएको अनुमान प्रहरीको छ ।
बर्दिया निकुञ्जसँग जोडिएको सुर्खेत मध्यवर्ती क्षेत्र पर्दछ । निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले वन्यजन्तुलाई हानेको गोली लागेर हो वा आपसमा झगडा भएर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ,’ उनले भने, ‘प्रहरी अनुसन्धान गरिरहेकोले अहिल्यै केही भन्न सक्ने अवस्था छैन ।’
जिल्ला अस्पतालका डाक्टर सागर पन्तले सडेको शव भएकोले पोस्टमार्टम रिपोर्टमा केही नदेखिएको बताए । ‘टाउको र कम्मरमुनिको भाग छुट्टिएको थियो,’ उनले भने, ‘मृत्युको कारण पोस्टमार्टमबाट खुल्न सकेन ।’
बबई उपत्यकाको बाँसपानीलगायत क्षेत्रमा नेपाली सेना र निकुञ्जको पोस्ट छ । निकुञ्जले निर्वाचनका समय अधिकांश सुरक्षा निकाय र कर्मचारी मतदानस्थलमा खटिएकोले चोरी सिकारी मौका छोपी जंगल प्रवेश गरेका थिए । चोरी सिकार गर्ने उद्देश्यले घरेलु हतियारसहित बास बस्ने गरी निकुञ्जको सिमानादेखि १७ किमी दूरी पार गरेको प्रहरीको भनाइ छ ।
फरार भएका चोरी सिकारी पक्राउ गर्न प्रहरीले भारतीय अधिकारीसँग समन्वय गरिरहेको छ । बबई उपत्यकामा बाघ, गैँडा, चित्तल, बँदेल जस्ता वन्यजन्तु पाइन्छ ।
सशस्त्र द्वन्द्वका समय नेपाली सेनाका पोस्ट अन्यत्र स्थानान्तरण भएको थियो । त्यो बेला सुरक्षा निकायको अनुपस्थितिमा चोरी सिकारीको बिगबिगी थियो ।
बबई उपत्यका घना जंगल, खोला, बबई नदी भएको दुर्गम ठाउँ हो । चोरी सिकारीलाई लुकिछिपी प्रवेश गर्ने ठाउँ भए पनि सेनाको पोस्ट खडा भएपछि कमी आएको हो । विगतमा निकुञ्जसँग जोडिएको सुर्खेतको तरङ्गा, लेखपराजुल, हरीहरपुर र छिन्चुस्थित मध्यवर्ती क्षेत्र चोरी सिकारीका लागि चिनिएका थिए ।
द्वन्द्वकालमा यसै क्षेत्रबाट ३४ वटा गैँडा चोरी सिकारीले मारेका थिए । करिब एक दशकअघि बबई उपत्यकामा नमो बुद्ध नाम गरेको बाघ चोरी सिकारीले मारेका थिए । बाघ मारेका आरोपी सुर्खेतका दुई जना पक्राउ परेका थिए ।
चोरी सिकारी बढ्न थालेपछि ०६५ सालदेखि निकुञ्ज प्रशासनले सुर्खेत मध्यवर्ती क्षेत्रका बासिन्दालाई अवैध हतियार बुझाउन आग्रह गरेका थिए ।
हतियार नबुझाउनेमाथि कारबाही बढाउने भनेपछि यस क्षेत्रबाट २ सय २ वटा अवैध बन्दुक बुझाएको निकुञ्जको अभिलेखमा छ । अवैध हतियार बुझाउन सुर्खेत र बर्दियाका संरक्षणकर्मीले निकै प्रयासपछि सफल भएका थिए ।
सुर्खेतको मध्यवर्ती क्षेत्रमा अझै पनि केही अवैध हतियार भएको निकुञ्ज प्रशासनको अनुमान छ । निकुञ्जको अभिलेख अनुसार त्यसताका बबई उपत्यकामा ओडारमा लुकाएका दर्जन बढी अवैध बन्दुक फेला परेको थियो ।
