जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमिल्सिना भन्छिन् – सरकारको विरोध गरेको भन्दै मलाई अपरहणको शैलीमा उठाइयो
काठमाडौं — जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमिल्सिनालाई ४ घन्टा सोधपुछ गरेर प्रहरीले छाडेको छ । सरकार विरोधी स्ट्याट्स लेखेको भन्दै आफूलाई सादा पोशाकमा आएका प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्याएको तिमिल्सिनाले बताइन् ।
‘म अनामनगरमा थिएँ, केही व्यक्तिहरू आएर हामी पनि कम्युनिष्ट विचारधारा राख्छौं, तपाईंको अन्तरर्वार्ता लिनुछ भन्दै आए,’ उनले भनिन्, ‘मैले म बोल्दिन भनेँ तर उनीहरूले जबर्जस्ती गरेर गाडीमा हाले । अपरहरण शैलीमा घिसार्दै गाडीमा हालेपछि मैले प्रतिवाद पनि गरेँ ।’
गाडीमा बसेपछि बल्ल उनीहरूले आफूहरू प्रहरी भएको भन्दै सोधपुछका लागि प्रहरी कार्यालय लान लागिएको बताएको उनले बताइन् ।
‘तर मैले सरकारविरुद्ध अभिव्यक्ति पनि दिएको थिइनँ, मैले नेपालमा बसेर फ्रि–तिब्बतको नारा लगाउन मिल्दैन, नेपालमा सरकारलाई तिब्बतले बधाई दिइरहेको छ, चीन रिसाउन सक्छ भन्दै व्यवहारिक तर्क गरेको थिएँ,’ तिमिल्सिनाले थपिन्, ‘प्रहरीमा लगेर मलाई सरकारविरुद्ध नबोल्ने भन्ने कुरामा लिखित हस्ताक्षर गराएर २ बजे छाडियो ।’
काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले चाहिँ तिमिल्सिनालाई सोधपुछका लागि बोलाएको कान्तिपुरलाई बताए ।
‘उहाँले आफ्नो डिजिटल प्लेटफर्मबाट २ देशको सम्बन्ध खलल पार्ने खालको अप्रमाणित सूचना व्यक्त गर्नुभएको थियो,’ उनले भने, ‘चीन-नेपाल नाकाबन्दीको कुरा उल्लेख गर्नुभएको थियो, २ देशको सम्बन्ध खलल पुग्ने कुरा थियो । त्यसैले उहाँको धारणा के रहेछ भनेर बोलाएर सोधपुछ गरेका हौं ।’
कागज गराएर उनलाई छाडिसकिएको समेत उनले बताए ।
