आरोग्य पर्यटनमा नेपालाई विश्व हब बनाउने लक्ष्य

सरकारको नीति, निजी क्षेत्रको लगानी र नेपालको सांस्कृतिक–आध्यात्मिक सम्पदाबीच समन्वय हुन सके आरोग्य पर्यटन नेपालका लागि आर्थिक रूपान्तरणको ढोका बन्न सक्ने सरोकारवालाको दाबी छ ।

चैत्र १७, २०८२

सुरज कुँवर

Goal to make Nepal a global hub in health tourism

What you should know

काठमाडौँ — विश्वभर मानिस केवल घुमफिरका लागि होइन, स्वास्थ्य र सन्तुलन खोज्दै यात्रा गर्ने प्रवृत्ति बढ्दो छ । यही बदलिँदो धारसँगै ‘आरोग्य पर्यटन’ अहिले पर्यटन उद्योगको सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको क्षेत्रमध्ये एक बनेको छ । नेपालले पनि यही अवसरलाई सदुपयोग गर्न खोजेको छ ।

आरोग्य पर्यटन नयाँ उत्पादन होइन । यो प्राचीन सभ्यताबाट विकसित अवधारणा हो, जसको जरा योग र आयुर्वेद, परम्परागत चिकित्सा तथा प्राचीन रोमको स्नान संस्कृति (स्पा) मा भेटिन्छ । पछिल्ला दशक भारत, थाइल्यान्ड, इन्डोनेसियालगायत देशले यसलाई व्यावसायिक रूपमा विस्तार गर्दै विश्व बजारमा ‘टुरिजम प्रडक्ट’ का रूपमा यसलाई स्थापित गरेका छन् ।

नेपालले पनि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा औपचारिक रूपमा आरोग्य पर्यटनलाई समेटेको थियो । मन्त्रालयले चालु आर्थिक वर्षमा यससम्बन्धी कार्यक्रम पनि अघि सारेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेले जनाइन् । वालेन्द्र शाह नेतृत्वको सरकारले पनि १३ चैतमा पहिलो मन्त्रिपरिषद् बैठकमा सार्वजनिक सयबुँदे कार्यक्रममा नेपाललाई आरोग्य पर्यटनको ‘हब’ बनाउने लक्ष्यसहित १ वैशाखभित्र रणनीति ल्याउने उल्लेख गरेको छ ।

आरोग्य पर्यटनसम्बन्धी रणनीति मस्यौदा तयार भइसकेको घिमिरेको भनाइ छ । मस्यौदा अर्थ मन्त्रालय, योजना आयोग तथा प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । यसबीच संयुक्त राष्ट्रसंघले १५ अप्रिललाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाउने घोषणा गरेपछि नेपालले पनि यस क्षेत्रमा सक्रियता बढाएको छ । सरकारले ‘नेपाल वेलनेस इयर २०२७’ मनाउने तयारी गर्दै अन्तरनिकाय समन्वय संयन्त्र बनाउने योजना पनि अघि सारेको छ । नेपाल योग, ध्यान, पूर्वीय दर्शन र प्राकृतिक उपचारका लागि विश्वमै परिचित रहेको पर्यटन मन्त्रालयले बताएको छ । लुम्बिनी, पशुपतिनाथ, स्वयम्भू, मुक्तिनाथजस्ता स्थल आध्यात्मिक शान्ति खोज्ने पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने मन्त्रालयको भनाइ छ ।

दुई दशकअघि नेपाल पर्वतारोहण र साहसिक पर्यटनका लागि मात्रै चिनिने गरेकामा अहिले जलवायु परिवर्तन र डिजिटल जीवनशैलीको असरले यहाँ मानिसले शान्ति एवं स्वास्थ्य खोज्न थालेको पूर्वपर्यटन राज्यमन्त्री याङकिला शेर्पाले जनाइन् । ‘यो नेपालका लागि ठूलो अवसर हो । लक्जरी टुरिजम पनि हो । अर्थतन्त्रमा योगदान दिन सक्छ,’ उनले भनिन् ।

नेपाल होटल संघ (हान) ले आरोग्य पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । ‘होटल र रिसोर्ट यस क्षेत्रका मुख्य आधार हुन् । त्यसैले हामीले यसको विस्तारका लागि रणनीतिक कागज तयार गरेका छौं,’ हानका सीईओ टेकबहादुर महतले भने, ‘केही दिनमै राष्ट्रियस्तरको कार्यक्रम गर्दै छौं ।’ नेपालका धेरै स्टार तथा पर्यटकस्तरीय होटलले स्पा, योग र वेलनेस सेवामा लगानी बढाइसकेका छन् । यिनको यकिन तथ्यांक भने सरकारी निकायहरूसँग छैन ।

काठमाडौंको मेयरबाट राजीनामा दिएपछि निर्वाचनअघिको पहिलो आमसभामा वालेन्द्र शाहले जनकपुरलाई आध्यात्मिक पर्यटनसँग जोडेर भनेका थिए, ‘नेपालीहरू विवाह गर्न जयपुर वा बाली जान्छन् । तर जनकपुरको सम्भावना उपयोग भएको छैन ।’ राम–सीताको विवाहस्थलका रूपमा चिनिने जानकी मन्दिर वरपरको क्षेत्रलाई वैवाहिक तथा आध्यात्मिक गन्तव्य बनाउँदा वार्षिक १० लाख पर्यटक आकर्षित गर्न सकिने उनको तर्क थियो । नजिकैको अयोध्यामा वार्षिक १० करोड पर्यटक पुग्ने उदाहरण दिँदै उनले जनकपुरले पनि लाखौं पर्यटक धान्न सक्ने सम्भावना औंल्याएका थिए ।

नेपाल पर्यटन बोर्डको वार्षिकोत्सवमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले एसियाली बजारमा बुद्धिज्म, आध्यात्मिक पर्यटन, आयुर्वेद, आरोग्यलगायत विधामा नेपाललाई चिनाउनुपर्ने बताएका थिए । पर्यटन मन्त्रालय, गैरआवासीय नेपाली, अन्य निजी क्षेत्रको सहयोगमा त्यसका लागि नेपालका टुर अपरेटरले प्याकेज बनाउनुपर्ने उनको भनाइ थियो ।

आरोग्य पर्यटनमा मानिसहरूले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य सुधार गर्न यात्रा गर्छन् । अहिलेको तनावपूर्ण जीवनशैलीका कारण यो पर्यटन विश्वभर तीव्र रूपमा लोकप्रिय बन्दै गएको छ । अब सरकारले सार्वजनिक गर्ने रणनीतिले यसमा योग, ध्यान, स्पा, मसाज, प्राकृतिक उपचार, आयुर्वेद तथा शान्त वातावरणमा बसाइ जस्ता गतिविधि कसरी समावेश गर्छ । त्यसैका आधारमा अर्को वर्ष मनाउने आरोग्य दिवसको सफलता निर्भर हुनेछ ।

नेपालले पर्यटक बढाउन सन् १९९८ देखि विभिन्न पर्यटन अभियान सञ्चालन गर्दै आएको छ । भ्रमण वर्ष १९९८, नेपाल पर्यटन वर्ष २०११, भिजिट नेपाल २०२० लगायतका राष्ट्रिय अभियान केही उदाहरण हुन् । अब आरोग्य पर्यटनलाई नयाँ ‘थिम’ का रूपमा अघि सारिएको छ ।

पशुपति क्षेत्रभित्र दर्जनौं योग ध्यान गर्ने केन्द्र रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले बताए । ‘पशुपतिको सूर्यघाट क्षेत्रलगायत धेरै स्थान ध्यान केन्द्र हुन् । यहाँ थुप्रै सन्त महात्माले योग ध्यान गरेका छन्,’ जोशीले भने, ‘आरोग्य विधालाई अगाडि बढाउनु अहिलेको समय उपयुक्त हो । नेपाल अब केवल हिमाल र दृश्यको देश मात्र होइन, अनुभवको गन्तव्य बन्ने प्रयास पनि गर्नुपर्छ ।’

जोशीका अनुसार, जब पर्यटक लुम्बिनी वा पशुपतिमा ध्यान गर्नेछन्, जनकपुरमा आध्यात्मिक शान्ति खोज्नेछन् वा हिमाली रिसोर्टमा योगाभ्यास गर्नेछन्, त्यो बेला आरोग्य पर्यटनले नेपाललाई नयाँ उचाइमा पुर्‍याउनेछ । सरकारको नीति, निजी क्षेत्रको लगानी र नेपालको सांस्कृतिक–आध्यात्मिक सम्पदाको समन्वय हुन सके आरोग्य पर्यटन नेपालका लागि आर्थिक रूपान्तरणको अर्को ढोका बन्न सक्ने शेर्पाको भनाइ छ ।

नेपालमा वार्षिक करिब १० लाख पर्यटक आउँछन् । उनीहरूको औसत बसाइ १३ दिन र दिनको खर्च करिब ४२ डलर छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully