‘खाडीमा जाने नयाँ श्रमिकलाई तत्काल श्रम स्वीकृति दिन उपयुक्त छैन’

खाडी मुलुकमा खटिएका श्रम काउन्सेलर तथा श्रम सहचारीले खाडी क्षेत्रको परिस्थिति यथास्थितिमा रहेको भन्दै नयाँ श्रम स्वीकृति जारी गर्न उपयुक्त नभएको सुझाव दिएका हुन् ।

चैत्र १६, २०८२

होम कार्की

'It is not appropriate to immediately issue work permits to new workers going to the Gulf'

काठमाडौँ — खाडी मुलुकमा खटिएका श्रम काउन्सेलर तथा श्रम सहचारीले श्रम स्वीकृतिमा लगाइएको रोकलाई निरन्तरता दिन उपयुक्त हुने सुझाव दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहलाई सोमबार अनलाइनमार्फत बिफ्रिङ गर्दै उनीहरुले खाडी क्षेत्रको परिस्थिति नसुध्रिएको भन्दै नयाँ श्रम स्वीकृति जारी गर्न उपयुक्त नभएको सुझाव दिएका हुन् ।

‘यहाँको परिस्थिति अझै परिवर्तन भएको छैन । नयाँ श्रमिक आएपछि उनीहरुको रोजगारको सुनिश्चिता छैन,’ एक श्रम सहचारीले भने,‘हामी अझै केही समय हेर्नुपर्नेछ ।’

श्रम मन्त्रालयले गत चैत ३ गतेदेखि पश्चिम एसिया साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, कतार, ओमान, बहराइन, टर्की, लेबनान, इजरायल, इरान, टर्की र जोर्डनमा नयाँ श्रम स्वीकृति दिन रोक लगाएको छ । अमेरिका–इजरायल र इरानबीच जारी युद्धले पश्चिम एसियामा रहेका नेपाली श्रमिक जोखिममा छन् । यो युद्धमा एक नेपालीको मृत्यु हुनुका साथै करिब २० जना घाइते भएका छन् ।

यी देशमा श्रम स्वीकृति रोकिँदा दैनिक करिब दुई हजार नेपाली रोजगारी जान रोकिएको छ । यी देशबाट नेपाल आउने रेमिट्यान्सको झन्डै ४६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले पहिलो प्राथमिकता नागरिक सुरक्षा नै भएको बताए । ‘युद्ध भइरहेको अवस्थामा नेपाली दूतावासबाट आउने सुझाव नै महत्त्वपूर्ण हुन्छ,’ उनले भने,‘नागरिकको सुरक्षा भन्दा अरु विषय ठूलो हुन सक्दैन ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully