कान्तिपुर मिडिया ग्रुपको ग्रुप एडिटोरियल डाइरेक्टरमा अनुप काफ्ले नियुक्त

अन्तर्राष्ट्रिय पत्रकारितामा दुई दशक बिताएका पत्रकार अनुप काफ्ले कान्तिपुर मिडिया ग्रुपको सर्वोच्च सम्पादकीय नेतृत्व गर्न नेपाल फर्किएका छन्।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Anup Kafle appointed as Group Editorial Director of Kantipur Media Group

What you should know

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले अनुप काफ्लेलाई ‘ग्रुप एडिटोरियल डाइरेक्टर’ का रूपमा नियुक्त गरेको छ । केएमजीले एक विज्ञप्ति जारी गर्दै मातहतका सबै प्रकाशन तथा प्रसारण गृहको सम्पादकीय नेतृत्व गर्ने गरी उनलाई नियुक्त गरिएको बताएको छ ।

काफ्लेले कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, कान्तिपुर टेलिभिजन, कान्तिपुर एफएमसहितका सबै डिजिटल फ्लाटफर्महरूको सम्पादकीय नेतृत्व गर्ने र उनी कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशकप्रति जवाफदेही हुने विज्ञप्तिमा उल्लेख छ । 

काफ्लेले वासिङ्टन पोस्टमा डिजिटल सम्पादक र बजफिड न्युजमा अन्तर्राष्ट्रिय सम्पादकको अनभुव बटुलेका छन् । उनी पछिल्लो समय ‘रेस्ट अफ वर्ल्ड’ का प्रधान सम्पादक थिए । ग्लोबल साउथ र उदीयमान अर्थतन्त्रमा प्रविधिको प्रभाव खोज्ने गैरनाफामूलक प्रकाशन ‘रेस्ट अफ वर्ल्ड’ ले उनकै नेतृत्वमा नेसनल म्यागजिन अवार्ड, एडवर्ड आर मरो अवार्ड र बेस्ट इन बिजनेस अवार्ड हासिल गरेको थियो । 

पोखरामा हुर्केका र नेपालको ‘द हिमालयन टाइम्स’ बाट पत्रकारिता यात्रा सुरु गरेका काफ्लेले सन् २०१८ देखि २०२० सम्म द काठमाडौं पोस्टमा प्रधान सम्पादकको नेतृत्व सम्हालेका थिए । 'उनको कार्यकालमा पोस्ट थप सशक्त र निर्भीक पत्रकारिताका लागि चिनिएको थियो, खोजमूलक पत्रकारितामार्फत उनले पोस्टलाई पाठकको थप नजिक पुर्‍याएका थिए,' केएमजीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पछिल्लो दुई दशकमा दक्षिण एसिया र मध्यपूर्वको रिपोर्टिङ अनुभवसमेत बटुलेका काफ्लेसँग सूचना लिने बदलिँदो शैलीसँगै परम्परागत शैलीका समाचार कक्षलाई डिजिटल रूपान्तरण गर्ने भूमिकामा काम गरेको अनुभवसमेत छ ।

परम्परागत शैलीको पत्रकारितालाई बदल्दै डिजिटल रूपान्तरण गर्न काफ्लेको लामो अनुभवलाई प्रयोग गर्ने विश्वास विज्ञप्तिमा उल्लेख छ । केएमजीका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले केमएजीका सबै माध्यमलाई एकीकृत सम्पादकीय दृष्टिकोण र सशक्त नेतृत्वको खाँचो रहेको औंल्याउँदै भने, 'त्यही खाँचो पूरा गर्न ग्रुप एडिटोरियल डाइरेक्टर पद सिर्जना गरिएको हो । तीन दशकको यात्रामा हामीले गरेको पत्रकारितालाई यो पदमा रही काफ्लेले अझ सुदृढ र उच्च बनाउने हाम्रो विश्वास छ ।' 

प्रबन्ध निर्देशक सिरोहियाले नेपालको लोकतन्त्र र सञ्चारमाध्यम क्षेत्रका लागि यो निकै महत्त्वपूर्ण मोड भएको बताउँदै थपे, 'यस्तो बेला काफ्लेजस्तो नेतृत्व कान्तिपुरलाई चाहिएको छ । किनकि, नेपाली पत्रकारितासँग उनको लामो नाता छ ।'

केमएजीद्वारा जारी विज्ञप्तिमा आफ्ना सबै प्रकाशन/प्रसारण माध्यमले तीन दशकदेखि राजनीतिक स्थिरता, सुशासन, पारदर्शिता, लगानी र रोजगारी सिर्जनाका साथै त्यसका लागि सरोकारवाला निकायहरूलाई नै जवाफदेही बनाउन प्रयास गर्दै आएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'स्वतन्त्र, निडर, निष्पक्ष र सार्वजनिक हितको पत्रकारिताको मान्यतामा विश्वास राख्ने कान्तिपुरले प्रत्येक दिन प्रिन्ट र डिजिटल प्लाटफर्ममार्फत लाखौं पाठकसम्म पहुँच राख्ने गरेको छ ।'

नवनियुक्त ग्रुप एडिटोरियल डाइरेक्टर काफ्लेले कान्तिपुरको यो विरासतलाई थप उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताए । 'यतिबेला नेपाल लोकतान्त्रिक भविष्यको निर्णायक मोडमा उभिएको छ । सूचनाको विश्वसनीयतामाथि प्रश्नचिह्न लागिरहेको छ,' काफ्लेले भने, 'स्वतन्त्र तथा जिम्मेवार पत्रकारिताको ठूलो आवश्यकता रहेको यस्तो घडीमा कान्तिपुरको अर्को अध्याय निर्माण गर्न पाउनु मेरा लागि दुर्लभ अवसर हो । यो चुनौतीका लागि म अत्यन्तै गम्भीर र उत्साहित छु ।'

कान्तिपुर मिडिया ग्रुपको विज्ञप्ति

कान्तिपुर मिडिया ग्रुपको ग्रुप एडिटोरियल डाइरेक्टरमा अनुप काफ्ले नियुक्त

अन्तर्राष्ट्रिय पत्रकारितामा दुई दशक बिताएका पत्रकार अनुप काफ्ले मुलुककै ठूलो सञ्चारगृह कान्तिपुर मिडिया ग्रुपको सर्वोच्च सम्पादकीय नेतृत्व गर्न नेपाल फर्किएका छन् ।

१५ चैत, २०८२

तीन दशकदेखि नेपाली पत्रकारितामा गुणस्तर र विश्वसनीयताको पर्याय बनेको कान्तिपुर मिडिया ग्रुपले अनुप काफ्लेलाई ‘ग्रुप एडिटोरियल डाइरेक्टर’ मा नियुक्त गरेको छ। संस्थाको इतिहासमा पहिलो पटक सिर्जना गरिएको यो पद मिडिया ग्रुपको सर्वोच्च सम्पादकीय नेतृत्व हो । काफ्लेले कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमको सम्पादकीय नेतृत्व गर्नेछन् । उनी कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशकप्रति जवाफदेही हुनेछन् ।

नेपाल फर्कनुअघि उनी ‘रेस्ट अफ वर्ल्ड’ का प्रधान सम्पादक थिए । ग्लोबल साउथ र उदीयमान अर्थतन्त्रमा प्रविधिको प्रभाव खोज्ने गैरनाफामूलक प्रकाशन ‘रेस्ट अफ वर्ल्ड’ ले उनकै नेतृत्वमा नेसनल म्यागजिन अवार्ड, एडवर्ड आर. मरो अवार्ड र बेस्ट इन बिजनेस अवार्ड हासिल गरेको थियो । साथै काफ्लेले वासिङ्टन पोस्टमा डिजिटल सम्पादक र बजफिड न्यूजमा अन्तर्राष्ट्रिय सम्पादकको भूमिका पनि निर्वाह गरेका छन् ।

सन् २०१८ देखि २०२० सम्म द काठमाडौं पोस्टमा प्रधान सम्पादकका रूपमा काम गर्दा उनले देशकै प्रभावशाली र चर्चित प्रकाशनमध्ये एक बनाएका थिए । उनको कार्यकालमा पत्रिकाले निडर अनुसन्धानमूलक रिपोर्टिङ गर्‍याे, शक्तिशाली स्वार्थहरूको दबाबसमेत झेल्यो । पोस्टका स्टोरीहरूले विभिन्न क्षेत्रबाट दबाब र धम्की पनि आए । काफ्लेको प्रतिक्रिया हरेक पटक एउटै थियो-अर्को अनुसन्धानमूलक रिपोर्टिङ तयार पार्ने ।

यस साहसलाई पाठकहरूले रुचाए, न्यूज रुमका पत्रकारहरूले पनि महसुस गरे ।

साथै अन्तर्राष्ट्रिय पाठकहरू डिजिटल माध्यममा रूपान्तरण भएसँगै काफ्लेले प्रायः समाचार कक्षलाई डिजिटल रूपान्तरण गर्नसमेत भूमिका खेलेका छन् । पछिल्लो दुई दशकमा उनले दक्षिण एसिया र मध्यपूर्वमा रिपोर्टिङ गरिरहेका छन् । पोखरामा हुर्केका काफ्लेले नेपालको ‘द हिमालयन टाइम्स’ बाट पत्रकारिता यात्रा सुरु गरेका हुन् ।

कान्तिपुर मिडिया ग्रुपसँग नेतृत्व गर्ने पहुँच, स्रोतसाधन र संस्थागत क्षमता छ । नेपालमा राजनीतिक, आर्थिक र प्राविधिक परिवेश द्रुत गतिमा परिवर्तन भएसँगै पाठकहरू पनि प्रिन्टबाट डिजिटलतर्फ स्थानान्तरण हुँदै गइरहेका छन्, जसका लागि तत्परता र दूरदृष्टि नेतृत्व आवश्यक छ । कान्तिपुर मिडिया ग्रुपले आफ्ना सञ्चार संस्थाहरूलाई डिजिटल रूपान्तरणका रूपमा अघि बढाउन उनको अनुभव उपयोग गर्न चाहन्छ ।

'हाम्रा सबै माध्यममा एकीकृत सम्पादकीय दृष्टिकोण र सशक्त नेतृत्वको खाँचो पूरा गर्न ग्रुप एडिटोरियल डाइरेक्टर पद सिर्जना गरिएको हो । तीन दशकको यात्रामा हामीले गरेको पत्रकारितालाई यो पदमा रही काफ्लेले अझ सुदृढ र उच्च बनाउने हाम्रो विश्वास छ,' कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले भने ।

'नेपालको लोकतन्त्र र सञ्चारमाध्यम क्षेत्रका लागि यो निकै महत्वपूर्ण मोड हो । यस्तो बेला काफ्लेजस्तो नेतृत्व कान्तिपुरलाई चाहिएको छ । नेपाली पत्रकारितासँग उनको गहिरो नाता छ,' उनले थपे ।

कान्तिपुर मिडिया ग्रुपद्वारा प्रकाशित हरेक सञ्चारमाध्यमले तीन दशकदेखि राजनीतिक स्थिरता, सुशासन, पारदर्शिता, लगानी र रोजगारी सिर्जनाका साथै त्यसका लागि सरोकारवाला निकायहरूलाई नै जवाफदेही बनाउन प्रयास गर्दै आएका छन् । स्वतन्त्र, निडर, निष्पक्ष र सार्वजनिक हितको पत्रकारिताको मान्यतामा विश्वास राख्ने कान्तिपुरले प्रत्येक दिन प्रिन्ट र डिजिटल प्लेटफर्ममार्फत लाखौं पाठकसम्म पहुँच राख्ने गरेको छ ।

कान्तिपुरको यो विरासतलाई थप उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको नव नियुक्त ग्रुप एडिटोरियल डाइरेक्टर काफ्लेले बताएका छन् ।

'अहिलेको बेला नेपालको लोकतान्त्रिक भविष्य निर्णायक मोडमा उभिएको छ । सूचनाको विश्वसनीयतामाथि प्रश्नचिह्न लागिरहेको छ,' काफ्लेले भने, 'स्वतन्त्र तथा जिम्मेवार पत्रकारिताको ठूलो आवश्यकता रहेको यस्तो घडीमा कान्तिपुरको अर्को अध्याय निर्माण गर्न पाउनु मेरो लागि दुर्लभ अवसर हो । यो चुनौतीका लागि म अत्यन्तै गम्भीर र उत्साहित छु ।'

नयाँ जिम्मेवारीमा काफ्लेले कान्तिपुर मिडिया ग्रुपका सबै माध्यमको सम्पादकीय दिशा र मापदण्ड तय गर्नेछन् । साथै विभिन्न प्लेटफर्मबीच समन्वयात्मक कवरेज रणनीति निर्माण र एआईसहित आगामी दशकमा सञ्चारमाध्यमलाई प्रभाव पार्ने अवसर र चुनौतीका लागि संस्थालाई तयार पार्ने उनको मुख्य जिम्मेवारी हुनेछ ।

कान्तिपुर

Link copied successfully