गृहमन्त्री र प्रहरी प्रमुखको छलफलमा कानुन सचिव पनि सहभागी

स्रोतका अनुसार सुरक्षा प्रमुखहरूले कानुनी प्रक्रियाको प्रसंग उठाएपछि छलफलमा कानुन सचिवसमेत पुगेका हुन् ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

Law Secretary also participates in discussion between Home Minister and Police Chief

What you should know

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङ र सुरक्षा निकायका प्रमुखबीच चलिरहेको छलफलमा कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना पनि सहभागी भएका छन् । 

प्रहरी प्रधान कार्यालय, नक्सालको आईजीपी निवासमा प्रहरी प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्यालबीच छलफल चलिरहेको थियो । त्यही बेला ढुंगानालाई समेत बोलाइएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । 

शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 

प्रतिवेदनमा २३ र २४ भदौको घटना हुँदा प्रधानमन्त्री रहेका केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको छ । 

उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको हो । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। 

दफा १८२ मा ‘हेलचेक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ। यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ। 

यो सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने अडान गृहमन्त्री गुरुङको छ । सुरक्षा प्रमुखहरूले चाहिँ कानुनी प्रक्रियाको प्रसंग उठाएका छन् । त्यसपछि छलफलमा कानुन सचिवसमेत पुगेका हुन् । गृह र प्रहरी प्रधान कार्यालय दुवै स्रोतले बैठक जारी रहेको बताए ।

प्रहरी र सशस्त्र प्रहरीले भोलि बिहान ७ बजेदेखि नै आफ्ना अधिकृतहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । छलफलमा उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीको अपरेसन विभाग प्रमुख गणेश ठाडा मगर पनि सहभागी छन् ।

कान्तिपुर

Link copied successfully