सरकार गठनसँगै काठमाडौंमा ‘बीबीसी वर्ल्ड क्वेसन्स’

बहस आगामी अप्रिल ७ (चैत २४) साँझ ६ बजेदेखि थापागाउँस्थित मण्डला थिएटरमा आयोजना हुनेछ । करिब तीन घण्टा चल्ने कार्यक्रम टेलिभिजन र रेडियोमार्फत विश्वभर प्रसारण गरिनेछ ।

चैत्र १२, २०८२

दया दुदराज

'BBC World Questions' in Kathmandu with the formation of the government

काठमाडौँ — नेपालमा हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्दै जाँदा जनअपेक्षा र सुशासनका मुद्दा पुनः केन्द्रमा आएका छन् । यही सन्दर्भमा बीबीसीको ‘वर्ल्ड क्वेसन्स’कार्यक्रम काठमाडौंमा आयोजना हुने भएको छ, जहाँ प्रमुख राजनीतिक नेताहरूले सर्वसाधारणका प्रत्यक्ष प्रश्नको सामना गर्नेछन् ।

कार्यक्रममा नयाँ सरकारका प्राथमिकता, युवाको बढ्दो अपेक्षा सम्बोधन गर्ने उपाय, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधारका विषयमा खुला बहस हुने 'बीबीसी वर्ल्ड क्वेसन्स' सिरिजका उत्पादक चार्ली टेलरले बताए ।  'हामी अहिले प्यानमा को-को सहभागी हुन्छन् भनेर तयारीकै चरणमा छौँ, यो सकिएलगत्तै प्रेस विज्ञप्ति पनि सार्वजनिक गर्ने छौं,' टेलरले कान्तिपुरलाई इमेलमार्फत बताए । 

उनका अनुसार सहभागी दर्शकले पनि प्रत्यक्ष रूपमा प्रश्न सोध्न पाउनेछन् । बहस आगामी अप्रिल ७ (चैत २४) साँझ ६ बजेदेखि थापागाउँस्थित मण्डला थिएटरमा आयोजना हुनेछ । करिब तीन घण्टा चल्ने कार्यक्रम टेलिभिजन र रेडियोमार्फत विश्वभर प्रसारण गरिनेछ ।

दर्शकका रूपमा सहभागी हुन इच्छुकले अग्रिम आवेदन दिनुपर्नेछ । टिकट ‘पहिले आउने, पहिले पाउने’ आधारमा वितरण गरिनेछ । आवेदन स्वीकृत भएपछि सहभागीलाई एसएमएसमार्फत जानकारी दिइनेछ भने ई-टिकट इमेलमार्फत पठाइने आयोजकले जनाएको छ ।

‘वर्ल्ड क्वेसन्स’ कार्यक्रम ब्रिटिस काउन्सिलसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ । यसअघि सन् २०१८ फेब्रुअरी ६ मा पनि काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पत्रकार तथा फिल्ममेकर सुविना श्रेष्ठ, राजनीतिक विश्लेषक सीके लाल र एमाले नेता प्रदीप ज्ञवालीबीच छलफल भएको थियो ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully