वैदेशिक मुद्रा सञ्चिति, बाह्य क्षेत्र सन्तुलन, ब्याजदर र आन्तरिक आर्थिक स्थायित्वका विषयमा राम्रो दखल राख्ने आचार्यले जटिल आर्थिक सूचकलाई पनि सरल र बोधगम्य रूपमा विश्लेषण गर्थे ।
काठमाडौँ — कुशल अर्थशास्त्री एवं मौद्रिक क्षेत्रका विज्ञ केशव आचार्यको निधन भएको छ । मस्तिष्कघात भएपछि गत मंगलबार अस्पताल भर्ना भएका ७२ वर्षीय आचार्यको निधन सोमबार बिहान ९.५५ मा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि आचार्यलाई गत मंगलबार चाबहिलस्थित मेडिकेयर अस्पताल पुर्याइएको थियो । त्यसपछि थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममै सोमबार आचार्यको निधन भएको हो । अन्नपूर्ण न्युरो अस्पतालमा शवगृह नभएकाले निधनपछि आचार्यको पार्थिव शरीरलाई चाबहिलस्थित ओम अस्पतालमा राखिएको छ । मंगलबार दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । आचार्यका श्रीमती, एक छोरा र छोरी छन् ।
आचार्यको निधनले मुलुकले एक शालीन अर्थविद् गुमाएको छ । आर्थिकसँगै मौद्रिक नीतिमा आचार्यको दखल थियो । मूल्य स्थिरता, वैदेशिक मुद्रा सञ्चिति, बाह्य क्षेत्र सन्तुलन, ब्याजदर र आन्तरिक आर्थिक स्थायित्वका विषयमा उनको राम्रो ज्ञान थियो । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक आचार्यको योगदान केन्द्रीय बैंकमा मात्र होइन, समग्र देशको अर्थतन्त्रलाई दिशा दिनमा रहेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेलले बताए । ‘कुशल प्रशासक, शालीन व्यक्तित्वका धनी, विश्लेषणात्मक अर्थविद् आचार्यबाट हामीले धेरै सिक्न पाएका हौं । यस अर्थमा आचार्य हाम्रा गुरु हुनुहुन्थ्यो,’ पौडेलले भने ।
२०३३ सालमा सहायक निर्देशकबाट राष्ट्र बैंक सेवामा प्रवेश गरेका आचार्य २०६४ सालमा कार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका थिए । राष्ट्र बैंकमा रहँदा आचार्यले अनुसन्धान, नियमन, सुपरिवेक्षणलगायत महत्त्वपूर्ण विभागको नेतृत्व गरेका थिए । नेपालको विदेशी विनिमय प्रणाली, विनिमय दर र अर्थतन्त्रलाई अघि बढाउन आचार्यको धेरै योगदान छ । विश्व राजनीतिक अर्थतन्त्रसँगै विकास अर्थतन्त्रमा उनको विशेष रुचि थियो ।
अर्थ मन्त्रालयमा सन् १९९४–१९९५ सम्म आचार्यले वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीलाई सफल बनाउनमा आचार्यको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ । त्यति बेला उनले बजेट लेखनसँगै व्यापक आर्थिक नीति, वैदेशिक सहायता समन्वय र राजस्व रणनीतिबारे महत्त्वपूर्ण सल्लाह दिएका थिए । आचार्यले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा पनि वरिष्ठ सल्लाहकारका रूपमा काम गरेका थिए ।
अर्थविद् आचार्यको निधनबाट मुलुकले एक अर्थशास्त्रका ज्ञाता गुमाएको पूर्वसचिव कृष्ण ज्ञवालीले बताए । सामाजिक सञ्जाल फेसबुकमा ज्ञवालीले लेखेका छन्, ‘एक जना असल मान्छेको निधनले उसलाई नजिकबाट चिन्ने वा अलि टाढाबाट मात्र चिन्ने वा नचिन्ने सबैलाई दुःखी बनाउँदो रहेछ । अर्थविद् केशव आचार्यजी त्यस्तै असलमध्येका एक हुनुहुन्थ्यो ।’
संयोगले आफू आचार्यसँग राम्रै परिचित रहेको ज्ञवालीले जनाएका छन् । ‘म अर्थ मन्त्रालय र उहाँ राष्ट्र बैंकमा हुँदा चिनिएका र नजिकिएका हामी पछिसम्म पनि पेसागत जीवनका विभिन्न क्षेत्रमा भेटिँदै रह्यौं र
आफ्ना विचार र अनुभव साट्दै रह्यौं,’ ज्ञवालीले लेखेका छन्, ‘पदको परिचय स्थायी र जीवन्त हुँदैन । पदमुक्त भएपछि सम्बन्ध विस्तारै क्षीण हुन थाल्छ । तर विज्ञताको परिचय टिकाउ हुन्छ । अझ त्यसमा स्वभावगत सरलता, मृदुता र सज्जनता मिसियो भने त्यसलाई सजिलै बिर्सन सकिँदैन ।’
सार्वजनिक जिम्मेवारीमा रहँदा होस् वा बाहिर— आचार्य सधैं अर्थतन्त्रका सूचक केलाइरहेका हुन्थे । सञ्चारमाध्यममार्फत उनले हरेक दिन नीति सुधारको पैरवी र आर्थिक सूचकांकको विश्लेषण गरिरहेका थिए । २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएको बजेट बनाउन अर्थ मन्त्रालयको आर्थिक सल्लाहकारका रूपमा आचार्यको महत्त्वपूर्ण भूमिका थियो । आचार्यले वित्तीय नीति निर्माण र कार्यान्वयनमा २०६६ सालमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पनि सघाएका थिए ।
आर्थिक सुधार, सार्वजनिक ऋण विश्लेषण र विकास नीतिमा महत्त्वपूर्ण योगदानका दिएका आचार्यका देश/विदेशमा धेरै लेख, विचार, अन्तर्वार्ता प्रकाशन/प्रसारण भएका छन् । जटिल आर्थिक सूचकलाई पनि सरल र बोधगम्य रूपमा विश्लेषण गर्ने क्षमता आचार्यमा थियो । यहीकारण पनि उनी पत्रकार र सञ्चारमाध्यममाझ निकै प्रिय थिए ।
