३३ जनालाई प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेकामा विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंहलाई प्रतिवादी बनाइएन
काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मतियार दाबी गर्दै संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गरेका विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंहलाई उन्मुक्ति दिँदै सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ । प्रहरीले ३३ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेकामा सिंहबाहेक ३२ जनाविरुद्ध मात्र जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको हो ।
नक्कली उद्धार उडान गराई बिमा रकम हत्याएर देशको प्रतिष्ठामा नै आँच आउने काम गरेको निष्कर्षसहित प्रहरीले १२४३ पृष्ठको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । प्रतिवेदन अध्ययन गर्न भन्दै एक साता समय लगाएर सरकारी वकिलले मुद्दा दर्ता गर्दा सिंहलाई उन्मुक्ति दिएपछि अनुसन्धान अधिकृतहरू असन्तुष्ट बनेका छन् ।
अदालतमा दायर अभियोगपत्रमा हालसम्मको अनुसन्धानबाट सिंह कसुरमा संलग्न रहेको तथा कुनै लाभ लिएको नखुलेको उल्लेख छ । सीआईबीले बुझाएको रायसहितको प्रतिवेदनमा भने अनुसन्धाननमा पक्राउ परेका श्यामसुन्दर कँडेल र माउन्टेन हेलिकोप्टर प्रालिका सञ्चालकसमेत रहेका सिंहबीच फेक रेस्क्युको अनुसन्धान प्रभावित पार्न गरिएको संवादको अडियोसमेत संलग्न थियो ।
कँडेल र सिंहबीच भएको अडियो संवादमा सीआईबीले नागरिक उड्डयन प्राधिकरणसग मागेको विवरणमा ‘रेस्क्यु’ भन्ने शब्द नै नराख्न र सबै उडानलाई चार्टर्ड फ्लाइट देखाउन निर्देशन दिइएको थियो । ‘यसले अनुसन्धानलाई जानीजानी गलत तथ्यांक दिने वा तथ्यांक नै उपलब्ध नगराउने मनसाय स्पष्ट हुन्छ,’ सीआईबीको अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।
सिंहले संवादमा आफूले प्राधिकरणकाका महानिर्देशकसँग समेत पहिल्यै कुरा गरिसकेको र उद्धारको ‘डेटा’ नै छैन भन्ने जवाफ दिने सहमति भएको समेत बताएको प्रतिवेदनमा उल्लेख छ । सिंह पहिले सरकारले नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठन गरेको अध्ययन एवं सुझाव समितिको सदस्यसमेत थिए ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार माउन्टेन हेलिकोप्टरका पूर्वअध्यक्षसमेत रहेका सिंहले त्यसअघि पक्राउ परेका अधिकृतहरूलाई नक्कली उद्धार उडान प्रकरणका प्रमाण लुकाउन सिकाएको भेटिएको थियो । ‘कसरी प्रमाण लुकाउने भनेर सिकाएको अडियो रेकर्डसमेत संलग्न गरेर सरकारी वकिलको कार्यायल पठाएका थियौं,’ ती अधिकृतले भने ।
सिंहलाई मुद्दा नचलाउने निर्णय भए पनि उनी सञ्चालक रहेको माउन्टेन हेलिकोप्टर प्रालिका सेल्स एन्ड मार्केटिङ विभागका एसिस्टेन्ट म्यानेजर सन्दीप भण्डारीलाई प्रतिवादी बनाइएको छ । अदालतमा दायर अभियोगपत्रमा भण्डारीले चार्टर्ड उडानमार्फत काठमाडौं आएका विदेशी पर्यटकलाई उद्धार गरेको देखाउन प्यासेन्जर र कार्गो मेनिफेस्टो किर्ते गरेको अभियोग लगाइएको छ । ‘ती कागजात किर्ते गरी माउन्टेन रेस्क्यु सर्भिस प्रालिका विवेक पाण्डेलाई उपलब्ध गराउने गरेको देखिएको छ,’ अभियोगपत्रमा भनिएको छ ।
प्रहरी अनुसन्धानका आधारमा दायर अभियोगपत्रमा उल्लेख भएअनुसार, बिमा रकम हत्याउन विदेशी पर्वतारोही तथा पदयात्रीलाई मिलेमतोमा उद्धार उडान गर्ने कार्यमा तीन हेलिकोप्टर कम्पनी, तीन अस्पताल, दर्जन बढी ट्रेकिङ कम्पनी, बिमा एजेन्डा र ट्रेकिङ गाइडको मिलेमतो खुलेको छ । सामान्य समस्या भएका पर्यटकको उद्धारमा संलग्न हेलिकोप्टर कम्पनीहरूमा माउन्टेन हेली, मनाङ एयर (अहिले बेसक्याप) र अल्टिच्युड एयर संलग्न देखिएका छन् ।
अल्टिच्युट एयरका स्टेसन म्यानेजर पासाङ दावा तामाङ, मनाङ एयर (अहिले बेसक्याप) मा जुनियर मार्केटिङ स्टाफका रूपमा कार्यरत प्रकाशबाबु दाहाल, अल्टिच्युड एयर प्रालिका मार्केटिङ म्यानेजर सुदीप भन्ने चन्द्रप्रसाद प्याकुरेल र माउन्टेन हेलिकोप्टर प्रालिका सेल्स एन्ड मार्केटिङ विभागका एसिस्टेन्ट म्यानेजर सन्दीप भण्डारीविरुद्ध पनि मुद्दा चलाइएको छ ।
बिरामीको नक्कली उपचार गराएको प्रकरणमा स्वाकोन इन्टरनेसनल अस्पतालकी सञ्चालक डा. मिनल्मा पाण्डे, डा. श्यामसुन्दर कँडेल, श्रीराम केसी, सिद्धि इन्टरनेसनल हस्पिटलका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना, इरा इन्टरनेसनल अस्पतालका पूर्वसञ्चालक गणेश सिलवाल, इरा इन्टरनेसनल हस्पिटलका सञ्चालक जीवन पाण्डे, भानु ढकाल, फुर्वा छिरिङ शेर्पा, ममिता भट्ट, चुङ्ला भुटिया शेर्पालाई समेत प्रतिवादी बनाइएको छ ।
प्रहरीले यस प्रकरणमा एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्ट प्रालिका अध्यक्ष मुक्तिराम पाण्डे, सेयरधनी सुवास केसी, माउन्टेन रेस्क्यु सर्भिसका म्यानेजर विवेक पाण्डे, सोही उद्धार कम्पनीका अध्यक्ष एवं स्वाकोन अस्पतालका सेयरधनी जयराम रिमाल, नेपाल चार्टर्ड सर्भिस प्रालिका अध्यक्ष रवीन्द्र अधिकारी, सिद्धि हस्पिटलका सञ्चालक तिमिल्सिनालाई पक्राउ गरेको थियो । रोयल होलिडेज एड्भेन्चर प्रालिका सञ्चालक सन्दीप तिवारी, पानोरमा हिमालयन ट्रेकिङ एन्ड एक्सपिडिसन प्रालिका सेयरधनी पासाङ शेर्पा र नेपाल चार्टर्ड सर्भिस प्रालिका विवेक थपलिया पनि समातिएका थिए । अरूलाई भने फरार प्रतिवादी कायम गरिएको छ ।
प्रतिवादी बनाइएका अन्यमा हिमालय मास्टर्स एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप ढुंगाना, म्याजिक हिमालय ट्रक्स एन्ड एक्सिपिडिसनका निर्देशक एवं हेली अन कल प्रालिका निर्देशक शान्तकुमार बानिया, अपरेसन हेड एवं नेपाल ट्रक एड्भेन्चर एन्ड एक्सपिडिसनका कार्यकारी निर्देशक विनोद सापकोटा, हिमालय ट्रेकिङ एन्ड एक्सपिडिसन प्रालिका गाइड तेन्जिङ शेर्पा छन् ।
स्प्रिच्युल एक्सकर्सन प्रालिका सञ्चालक बद्री लम्साल, कबीन्द्र लम्साल, नेपाल हाइकिङ एड्भेन्चर कम्पनी प्रालिका सञ्चालक विष्णुप्रसाद लम्साल, नेपाल रेस्क्यु एन्ड एसिस्टेन्स प्रालिका सञ्चालक कुमार भण्डारी, नेपाल चार्टर्ड सर्भिस प्रालिका पूर्वसेयर धनी एवं फ्लाइङ याक काठमाडौंका सञ्चालक सन्तोष अधिकारी भनिने खोमराज अधिकारी र वर्ल्डमेड एसिस्टेन्स नेपाल प्रालिका सञ्चालक रामकुमार फुयालविरुद्ध पनि मुद्दा दायर भएको छ ।
राज्यविरुद्धको कसुर र संगठित अपराध गरेको आरोपमा ३२ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘प्रतिवादीमध्ये ९ जना पक्राउ परेका छन्, अरूलाई फरार प्रतिवादी कायम गरेर मुद्दा दर्ता भएको हो ।’
प्रहरीले हेली अन कल प्रालिबाट उद्धार गरेका पदयात्री ‘चिल्ड बियरमा रमाइरहेका छन्’ भन्दै गरिएको संवादको विवरणसमेत फेला पारेको थियो । उद्धार गर्ने शान्ता बानियाले लेखेको त्यो विवरणबाट पनि झूटो उद्धार र उपचार भएको तथ्यलाई पुष्टि गरेको प्रहरी दाबी छ । अस्पतालका डाक्टर तिमिल्सिनालाई ट्रेकिङ कम्पनीले पाउनुपर्ने कमिसन दिन भन्दै सन्देश पठाएको विवरणसमेत अनुसन्धानबाट भेटिएको थियो । ‘प्यासेन्जर मेनिफेस्टोअनुसार एउटै उडानमार्फत आएका बिरामीलाई समेत फरक–फरक बिल तयार पारेर उद्धार गरेको देखाउन फर्जी कागजात बनेको देखिन्छ,’ ब्युरोका एक अनुसन्धान अधिकृत भन्छन्, ‘त्यस्तो कागजातमा वास्तविक लागतभन्दा बढाइचढाइ रकम राखेर आपराधिक लाभ लिएको देखिन्छ ।’
प्रहरीले कागज गराएका बेसक्याप ट्रिप प्रालिका सञ्चालक अशोक अधिकारीले कसरी अस्पतालको कागजात किर्ते हुन्थ्यो भन्ने एउटा दृष्टान्त पेस गरेका छन् । अभियोगपत्रमा समावेश उनले दिएको विवरणअनुसार, चन्द्रवती नामक पर्यटकलाई हेली एभरेस्टमार्फत तिलिचो बेस क्याम्पबाट उद्धार गरेर काठमाडौं ल्याइएको थियो । उनलाई सिधै इरा इन्टरनेसनल अस्पताल लगिएकामा आफूले त्यहाँ उपचार हुन सक्दैन अन्यत्र लैजानुपर्छ भनेको अधिकारीको भनाइ छ । ‘तर मलाई डाक्टरले त्यहीं उपचार हुने विश्वास दिलाएका थिए, पछि अस्पतालले दिनभरि ग्रान्डी सिटी अस्पताल जमलमा लगेर उपचार गर्ने र राति इरा इन्टरनेसनल अस्पतालमा ल्याउने गरे,’ अधिकारीले भनेका छन्, ‘पछि उनको उपचारबापत वास्तविक खर्च बढाएर ३ हजार ९ सय ४५ डलरको बिल बनाइएको थियो ।’
नेपाल चार्टर्ड सर्भिस प्रालिका अध्यक्ष रवीन्द्र अधिकारीले उनलाई कमिसनबापत दिएको रकमको ‘स्क्रिन सट’ पनि सीआईबीले फेला पारेको छ । उनलाई एभरेस्टतिरको मान्छे खोज्ने भनेर म्यासेज पठाएको समेत भेटिएको छ ।
नक्कली उद्धार उडानबारे नेपाली र विदेशी सञ्चारमाध्यममा समेत समाचार आएपछि २०७५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको नेतृत्वमा छानबिन समिति बनाएको थियो । समितिले त्यसबेलै यस घटनामा संगठित अपराध तथा ठगीको कसुरमा अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गर्नुपर्ने भन्दै प्रतिवेदन बुझाएको थियो । त्यो सुझाव गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगे पनि अनुसन्धान अघि बढ्न सकेको थिएन । ६ वर्षपछि प्रहरीले पर्वतारोही तथा पदयात्रामा निस्किएका पर्यटकको नक्कली उद्धार उडानबारे अनुसन्धान सुरु गरेको थियो ।
त्यस क्रममा माउन्टेन रेस्क्यु सर्भिस प्रालिबाट उद्धार भएका १२ सय ४८ मध्ये १ सय ७१, नेपाल चार्टर्ड सर्भिसबाट ४ सय ७१ मध्ये ७५ र एभरेस्ट एक्सपिरियन्सबाट ६ सय १ मध्ये ७१ पर्यटकको शंकास्पद उद्धार गरिएको सीआईबीको प्रारम्भिक जाँचमै देखिएको थियो । ‘एउटा क्षेत्रका लागि अनुमति लिएर अर्कै ठाउँबाट उद्धार गरिएको विवरण पेस, नक्कली कागजात, दुई/तीन जनाको एकै पटक उद्धार गरेर फरकफरक उद्धारको बिल बनाउने जस्ता काम गरेर यो अपराध भएको देखिन्छ,’ सीआईबी प्रमुख एआईजी मनोज केसीले भने, ‘बिमा भुक्तानी गर्ने कम्पनीले प्रश्न उठाउँदै पठाएका इमेलसमेत प्राप्त भएका छन् ।’
उपाध्याय नेतृत्वको समितिको प्रतिवेदनले पर्यटकलाई नियोजित रूपमा बिरामी गराउन खानेकुरामा मिसावट गराई उद्धार गरेर काठमाडौं ल्याउने गरिएको खुलाएको थियो । त्यसपछि अस्पताल भर्ना गराएर संगठित तवरले बिमा रकम दाबी गर्ने, एउटै उडानमा धेरै पर्यटकलाई ल्याएर अलगअलग मान्छेका नाममा बेग्लै बिल जारी गरेको पनि त्यसमा उल्लेख थियो ।
