‘न यहाँ हामो कुरा सोध्दै कोही आउँछन् । न हामी यस्तो समस्या छ भन्दै सुनाउन गएका छौं । जे जसो छ चलेकै छ,’ धनसिंह चेपाङ भन्छन् ।
What you should know
चितवन — घरको छानो छ पानी नछेक्ने, गाउँमा धारो छ तर पानी नआउने । चितवनको विकट पहाडी गाउँ लोथर कान्दाका वृद्ध दम्पतीले पिउने पानीको प्रबन्ध त जनतन गरेका छन् । तर छानो कसरी छाउने हो ? उपाय छैन भन्छन् ।
चितवनको अग्लो पहाडमध्येको कामिनचुली फेदीको यो गाउँका कम्तीमा ६ घरलाई हिउँद लागेसँगै पिउने पानीको समस्याले पिरोल्छ ।
धनसिंह चेपाङ ७० वर्षका भए । उनकी श्रीमती ठूलीमायाको उमेर पनि उस्तै-उस्तै छ । धनसिंहको देब्रे हत्केला खुम्चेका कारण औंलाहरू राम्रोसँग चल्दैनन् । समाउन अड्याउन गाह्रो हुन्छ भन्छन् । गाई चराउन जंगल गएकी ठूलीमायाले प्लास्टिकका बोतलमा पानी भरेर ल्याइन् । ‘भोलि मकै छर्ने खेताला छन् । यति पानी त चाहिन्छ नै । जंगल जाँदा जोहो गरे,’ ठूलीमायाले भनिन् ।
सधैं जंगल जान सकिँदैन । त्यसैले तल्लो गाउँ पुगेर पानी भरेर ल्याउनु पर्दछ भन्छिन् उनी । पिउने खाना पकाउने पानीका लागि कम्तीमा आधा घण्टा ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ उनलाई । धनसिंह र ठूलीमाया जस्तै उनका छिमेकी गोपीराम चेपाङ, निरबहादुर चेपाङ, रामबहादुर चेपाङ, रेशम चेपाङ र बुद्धिकुमार चेपाङको परिवारले पनि पानीको प्रबन्ध यसरी नै गर्नु परेको छ ।
धनसिंहको सानो सानो घरको अगाडिको पालीको छानो लगभग खाली भएको छ । देब्रे पालीमा बारीमा फलेको केराउ गोडेर राखेका छन् । पाखो बारीमा यो बेला छरेको मकै भदौ लागेपछि पाक्छ । कुनै बेला चैत लागेपछि चेपाङ समुदायले वनका कन्दमूल, गिठ्ठा भ्याकुर, तरुल खोजेर खानु पर्दथ्यो । अहिले पहिलाको जस्तो अनिकाल नै त लाग्दैन । तर गिठ्ठा तरुल पनि जुटाउनु पर्छ भन्छन् धनसिंह ।
‘यो ठाउँ पहाडको फेदमै पर्यो । घरै उडाउने हावा चल्छ । पानी कम पर्दछ । हिउँदसम्म मूलको पानी पाइपबाट ल्याएर खाएका छौं । माघ लागेपछि सुक्दै फागुनबाट त खानेपानी थोप्पो झर्दैन । बोतल बोकेर पानी खोज्न डुल्नु पर्दछ,’ बुद्धिले बताए । यो ठाउँ राप्ती नगरपालिकाको वडा नम्बर १३ मा पर्छ । नगरपालिकामा परे पनि बाटो बिजुली पुगेको छैन । पिउने पानीको यस्तो सकस छ ।
‘गाउँसम्म बाटो खै कहिले आउँछ, हामी रहँदासम्म बाटो आउला भन्ने कल्पनामा पनि छैन । तलतल बिजुलीको पोल आयो भन्ने सुनेको छु । यो ठाउँमा बिजुली पनि झट्ट आउला जस्तो लाग्दैन । बाटो र बिजुली परको कुरा भयो यहाँ सजिलोसँग तिर्खा मेट्न पनि पाइएन,’ धनसिंहले भने । छोरा छोरी हुर्के बढेपछि ठाउँ छाडेर लाखापाखा लागे । धनसिंह र ठूलीमायाले पुरानो थात थलो छाड्न सकेनन् । 
‘जाउँ कहाँ जाउँ बसौं यस्तो ताल छ,’ धनसिंहले भने । पाखो जमिनमा राम्रो उब्जनी हुँदैन । बेच्ने गरेर बाख्रा कुखुरा पाल्न पनि सकेका छैनन् उनले । जस्ताको जोहो गर्ने आम्दानी छैन । खर काटेर छायो बतास र बर्खाले धेरै समय टिक्न नदिने उनले बताए । चितवन सदरमुकाम भरतपुरदेखि पूर्व उत्तरमा पर्ने धनसिंहको गाउँ धादिङसँग सिमाना जोडिएको पहाड र जंगलको छेउमा छ ।
पूर्व-पश्चिम राजमार्गको भण्डाराबाट उत्तर गाडीमा पहाडी बाटोमा लगभग तीन घण्टा हिँडेपछि धनसिंहको गाउँ पुग्न थप कम्तीमा तीन घण्टा पैदल हिँड्नु पर्दछ । उकालो, ओरालो साँघुरो बाटो हुँदै पुगिने यो गाउँमा कुनै नेता पुग्दैनन् । ‘न यहाँ हामो कुरा सोध्दै कोही आउँछन् । न हामी यस्तो समस्या छ भन्दै सुनाउन गएका छौं । जे जसो छ चलेकै छ,’ धनसिंहले भने ।
