आँधीहुरीबाट क्षति पुगेका संरचनाको छिट्टै पुनर्निर्माण गर्छौं : स्वास्थ्यमन्त्री लिम्बू

निरीक्षणका क्रममा उनले अस्पतालको भौतिक संरचनामा पुगेको क्षति, सेवा प्रवाहमा परेको असर तथा आवश्यक मर्मत–सम्भारको अवस्थाबारे जानकारी लिएका थिए ।

चैत्र ६, २०८२

विनोद घिमिरे

We will quickly reconstruct the structures damaged by the cyclone: ​​Health Minister Limbu

धनकुटा — कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बुले आँधीहुरीबाट क्षति पुगेका धनकुटास्थित स्वास्थ्य संरचनाको स्थलगत निरीक्षण गर्दै तत्काल पुनर्निर्माण प्रक्रिया अघि बढाइने बताएका छन् । 

धनकुटा सदरमुकाममा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हावाहुरीका कारण भएको क्षतिको अनुगमन गर्दै मन्त्री लिम्बूले उक्त धारणा राखेका हुन्। निरीक्षणका क्रममा उनले अस्पतालको भौतिक संरचनामा पुगेको क्षति, सेवा प्रवाहमा परेको असर तथा आवश्यक मर्मत–सम्भारको अवस्थाबारे जानकारी लिएका थिए ।

अनुगमनपछि मन्त्री लिम्बूले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिने बताउँदै तत्काल अस्थायी व्यवस्थापन गरेर सेवा सञ्चालनलाई निरन्तरता दिन निर्देशन दिएका छन् । साथै उनले क्षतिग्रस्त भवन तथा संरचनाको प्राविधिक मूल्यांकन गरी पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न कोशी प्रदेश सरकारले छिट्टै प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए । 'नागरिकको आधारभूत स्वास्थ्य सेवा प्रभावित हुन दिनु हुँदैन, त्यसैले छिटोभन्दा छिटो मर्मत तथा पुनर्निर्माण सुरु गरिन्छ,' मन्त्री लिम्बूले भने । उनले सम्बन्धित निकायलाई क्षतिको यथार्थ विवरण संकलन गरी तत्काल प्रतिवेदन पेस गर्न समेत निर्देशन दिएका छन् ।

अस्पताल प्रमुख डा. विद्या श्रेष्ठले कार्यालय भवन, ओपीडी कक्ष तथा औषधि भण्डारण कक्षमा क्षति पुगेको जानकारी दिँदै प्रारम्भिक रूपमा करिब १५ लाख रुपैयाँबराबरको नोक्सानी भएको विवरण मन्त्रीसमक्ष प्रस्तुत गरेकी थिइन् । मन्त्री लिम्बूले आवश्यक परे वैकल्पिक संरचनाबाट सेवा सञ्चालन गर्न र दीर्घकालीन रूपमा सुरक्षित तथा मजबुत संरचना निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको दोहोर्‍याएका छन् ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully